Home Candidate सुरेन्द्र कार्की

पहिलो प्रयासमै संसद् पुग्ने सुरेन्द्रको कोशिश

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
सुरेन्द्र कार्की
तेह्रथुम - १ उम्मेदवार

सुरेन्द्र कार्की

पुरुष , २८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
७७३७ मत
Profile
Profile

सुरेन्द्र कार्कीका लागि यो निर्वाचन "शैक्षिक योग्यता र प्राविधिक दक्षतालाई जनसेवामा बदल्ने" एउटा ठूलो परीक्षण हो।

०००

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तेह्रथुममा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तेह्रथुमबाट सुरेन्द्र कार्कीलाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा अघि सारेपछि जिल्लामा नयाँ चर्चा र बहस सुरु भएको छ । युवा पुस्ताको आवाज, वैकल्पिक राजनीतिक धार र विकासप्रेमी सोचका कारण सुरेन्द्र कार्कीलाई अहिले तेह्रथुममा ‘नयाँ पुस्ताको राजनीतिक विद्रोहको प्रतीक’का रूपमा हेरिन थालेको छ ।

२०५४ सालमा तेह्रथुमको फेदाप गाउँपालिका–सिम्लेमा जन्मिएका कार्कीको प्रारम्भिक बाल्यकाल भने म्याङ्लुङ क्षेत्रमा बितेको हो । शैक्षिक रूपमा अब्बल मानिने उनले २०६८ सालको एसएलसी परीक्षामा जिल्ला टप गर्दै उत्कृष्ट विद्यार्थीको परिचय बनाएका थिए । त्यो समय उनी रेकर्ड होल्डरका रूपमा समेत चर्चित थिए ।

उच्च शिक्षाका लागि उनले प्रतिष्ठित बुढानीलकण्ठ स्कुल, काठमाडौंमा अध्ययन गरेका हुन् । बुढानीलकण्ठका पूर्वविद्यार्थीहरूमध्ये स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, उज्ज्वल थापाजस्ता राष्ट्रिय राजनीतिमा चर्चित व्यक्तित्वहरू पनि पर्छन् । यसले उनको शैक्षिक पृष्ठभूमि मात्र होइन, नेतृत्व विकासको आधारसमेत देखाउँछ ।

कार्कीको राजनीतिक चेतनाको प्रारम्भिक आधार आरआर क्याम्पसमा अध्ययन गर्दा विकसित भएको बताइन्छ । त्यसपछि इन्जिनियरिङ परामर्शदाताको रूपमा विभिन्न प्रतिवेदनहरूमा काम गर्ने क्रममा संविधान, कानुन र राज्य सञ्चालनसँगको निकटताले उनको राजनीतिक बुझाइलाई थप व्यावहारिक बनाएको छ ।

तेह्रथुमका युवाहरूले उनलाई 'राजनीतिक विद्रोहको प्रतीक' मानिरहँदा, कार्कीले आफ्नो पेशागत आराम त्यागेर लिएको यो जोखिमले जिल्लाको राजनीतिमा नयाँ मानक स्थापित गर्ने देखिन्छ।

हाल उनी त्रिचन्द्र क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहको अन्तिम चरणमा अध्ययनरत छन् । अर्थशास्त्रको विद्यार्थीका रूपमा उनले समग्र विकास, बजेट, नीति निर्माण र सार्वजनिक व्यवस्थापनका विषयलाई अझ गहिरो रूपमा बुझ्ने अवसर पाएका छन् ।

पेशागत रूपमा उनी सिभिल इन्जिनियर हुन् । उनले भवन तथा सडक डिजाइन, खानेपानी वितरण योजना, वातावरणीय अध्ययनसम्बन्धी प्रतिवेदनलगायत विविध प्राविधिक कार्यहरूमा अनुभव हासिल गरिसकेका छन् ।

त्यस्तै, उनी कृषि विकास बैंकसहित विभिन्न बैंकहरूमा मूल्यांकनकर्ताका रूपमा समेत अनुबन्धित छन् । यसले उनलाई विकास योजनाको लागत, मूल्यांकन तथा वित्तीय व्यवहारिकता बुझ्ने दक्ष व्यक्ति बनाएको देखिन्छ ।

काठमाडौंलाई मुख्य कार्यथलो बनाउँदै आए पनि ‘आफ्नो ठाउँमा आफ्नै दक्षता प्रयोग हुनुपर्छ’ भन्ने सोचका साथ उनले बराबर समय तेह्रथुममै बिताउने गरेका छन् । यही कारण उनी जिल्लाको भौगोलिक, सामाजिक र विकासका समस्या प्रत्यक्ष अनुभूति गर्ने उम्मेदवारका रूपमा चिनिन्छन् ।

कार्कीलाई चिन्नेहरूका अनुसार उनी मृदुभाषी, नरम तर तार्किक, गहिरो स्व–अध्ययन गर्ने, लेखन क्षमतामा बलियो तथा प्रभावकारी नेतृत्व क्षमता भएका व्यक्ति हुन् । उनी भावनाभन्दा तर्क र तथ्यमा आधारित निर्णय गर्ने स्वभावका कारण युवा पुस्तामा लोकप्रिय हुँदै गएका छन् ।

बालेन शाह जस्ता नेताहरूको समर्थन र आफ्नै बौद्धिक छविको बलमा कार्कीले पहिलो प्रयासमै संसद्को यात्रा तय गर्छन् कि गर्दैनन्, त्यो फागुन २१ को नतिजाले प्रष्ट पार्नेछ।

भदौ २३ र २४ को घटनापछि उनले ‘अवेर तेह्रथुम’ अभियानमार्फत नवयुवाहरूलाई एकत्रित गर्दै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय सहभागिता जनाएपछि उनको राजनीतिक पहिचान अझ सशक्त बनेको हो । यही अभियानबाट उनी तेह्रथुममा सामाजिक जागरण, सचेतना र परिवर्तनको आवाज बन्न थाले ।

सुरेन्द्र कार्कीको पारिवारिक पृष्ठभूमि एमालेसँग जोडिएको छ । उनकी आमा लक्ष्मी कार्की एमालेनिकट अखिल नेपाल महिला संघ (अनेमसंघ) की जिल्ला अध्यक्ष हुन् भने बुवा वीरेन्द्र कार्की एमालेनिकट व्यवसायी संघका जिल्ला अध्यक्ष रहेका छन् ।

आमा लक्ष्मी कार्कीलाई आगामी स्थानीय तह निर्वाचनमा म्याङ्लुङ नगरपालिकाको उपमेयर पदको सम्भावित उम्मेदवारका रूपमा समेत चर्चा गरिएको थियो । तर, छोरा सुरेन्द्रको उम्मेदवारी घोषणा भएसँगै आमाबुवाले नैतिक जिम्मेवारी बोध गर्दै स्वेच्छिक राजीनामा दिएका थिए ।

यो घटनाले तेह्रथुममा पुस्तान्तरण, विचार परिवर्तन र नयाँ राजनीतिक विकल्पको बहसलाई अझ तीव्र बनाएको छ । पुरानो राजनीतिक संस्कारभन्दा फरक बाटो रोज्ने उनको निर्णयलाई धेरैले साहसी कदमका रूपमा व्याख्या गरेका छन् ।

उनको भनाइले उनले राजनीति व्यक्तिगत फाइदाका लागि नभई परिवर्तनको जिम्मेवारीका रूपमा स्वीकारेको सन्देश दिन्छ ।

जिल्ला टपरदेखि प्रतिष्ठित बुढानीलकण्ठ स्कुलको अध्ययन र सिभिल इन्जिनियरिङको व्यावसायिक अनुभव बटुलेका कार्कीको आगमनले तेह्रथुमको परम्परागत राजनीतिमा तरंग पैदा गरेको छ।

आफ्नो पेशागत अनुभव, विकास निर्माणमा प्रत्यक्ष सहभागिता, प्रतिवेदनमा काम गर्दा संविधान र कानुनसँगको निकटता तथा अर्थशास्त्रको विद्यार्थीका रूपमा प्राप्त दृष्टिकोणले आफूलाई तेह्रथुमको प्रभावकारी प्रतिनिधित्व गर्न सक्ने आत्मविश्वास दिएको कार्की बताउँछन् ।

तेह्रथुमका मुख्य समस्या— सडक, खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र युवाको पलायनलाई केन्द्रमा राखेर उनी योजनाबद्ध विकासको पक्षमा उभिएका छन् । उनको उम्मेदवारीलाई ‘भाषणभन्दा काममा विश्वास गर्ने पुस्ताको प्रतिनिधित्व’का रूपमा हेरिएको छ ।

तेह्रथुमको राजनीतिमा परम्परागत दलहरूको दबदबा रहँदै आएको अवस्थामा रास्वपाबाट उम्मेदवार बनेका कार्कीको प्रवेशलाई जिल्लामा नयाँ राजनीतिक तरंगको रूपमा हेरिएको छ । शैक्षिक क्षमता, पेशागत दक्षता, सामाजिक अभियानको अनुभव र युवापुस्ताको आकर्षण बोकेका कार्कीले तेह्रथुमको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाइदिएका छन् ।

Battleground Analysis

अनुकूलता

  • उत्कृष्ट शैक्षिक र व्यावसायिक पृष्ठभूमि
  • बौद्धिक नेटवर्किङ
  • पारिवारिक त्यागको जग

प्रतिकूलता

  • पुराना दलको विरासत
  • पहिलो संसदीय प्रयास
  • बहुपक्षीय मत विभाजन
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

सुरेन्द्र कार्कीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित