Home Candidate सन्तोष सुब्बा

विद्यार्थी राजनीतिबाट संसदीय चुनावी मैदानमा सन्तोषको उडान

http://नेपाली%20कांग्रेस
सन्तोष सुब्बा
तेह्रथुम - १ उम्मेदवार

सन्तोष सुब्बा

पुरुष , ४८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
५७३७ मत
Profile
Profile

सन्तोष सुब्बाका लागि यो निर्वाचन "धैर्यता र निष्ठा" को परीक्षा हो। तेह्रथुम कांग्रेसले उनलाई 'जिल्लाको भविष्यसँग जोडिएको उम्मेदवार' का रूपमा प्रस्तुत गरिरहँदा, सुब्बाले आफ्नो लामो राजनीतिक लगानीलाई चुनावी नतिजामा बदल्न सक्छन् कि सक्दैनन् भन्ने कुरा रोचक हुनेछ।

०००

तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–तम्फुलामा जन्मिएका सन्तोष सुब्बा नेपाली कांग्रेसभित्र संगठन निर्माणमा खारिएका, युवालाई जोड्ने र समाजसेवामा निरन्तर सक्रिय युवा नेताका रूपमा परिचित छन् । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारीसम्म आइपुगेको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले तेह्रथुमबाट उम्मेदवार बनाएको सुब्बालाई जिल्लामा ‘संघर्षशील, संगठनवादी र जनसम्पर्कमा नजिक’ नेताका रूपमा हेरिएको छ । सुब्बाको राजनीतिक यात्रा २०५२ सालमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट नेविसंघको सदस्यता लिएसँगै सुरु भएको हो । क्याम्पस राजनीतिमा सक्रिय रहँदै उनले संगठन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरे ।

उनले विद्यार्थी आन्दोलनलाई केवल राजनीतिक गतिविधिमा सीमित नराखी संगठन सुदृढीकरण, नेतृत्व विकास र युवालाई जागरुक बनाउने अभियानमा पनि सक्रियता देखाए । यही सक्रियता र प्रतिबद्धताले उनलाई नेपाली कांग्रेसको संगठनभित्र निरन्तर अघि बढायो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका सुब्बाले २०५५ सालमा नेपाल तरुण दलको पूर्णकालीन सदस्यता प्राप्त गरे । युवाहरूलाई संगठित गर्ने र पार्टीको नीति–विचार जनतासम्म पु‍र्‍याउने अभियानमा उनी निरन्तर अग्रसर रहे ।

उनकै सक्रियता र नेतृत्व क्षमताको मूल्यांकन गर्दै पार्टीले २०६२ सालमा नेपाल तरुण दल तेह्रथुमको जिल्ला अध्यक्षको जिम्मेवारी सुम्पियो । त्यसपछि सुब्बा जिल्लाको राजनीतिक गतिविधिमा अझ बढी केन्द्रित भए । सुब्बा नेपाली कांग्रेस तेह्रथुममा पटक–पटक निर्वाचित पदाधिकारी बनेका छन् ।  संगठनभित्रको जिम्मेवारी र पार्टीप्रतिको निष्ठाका कारण उनले जिल्लामा बलियो राजनीतिक आधार तयार गरेका छन् । उनले २०६७ सालमा नेपाली कांग्रेस तेह्रथुमको कोषाध्यक्ष, २०७२ सालमा नेपाली कांग्रेस तेह्रथुमको सचिव र पछि २०७८ सालमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा निर्वाचित हुँदै पार्टीको नीति निर्माण तहमा पनि सहभागिता जनाएका छन् ।

कांग्रेसको एकमुष्ट मत जोगाउँदै युवा र तटस्थ मतदातालाई आकर्षित गर्न सके भने तेह्रथुममा कांग्रेसको झन्डा पुनः फहराउने सम्भावना बलियो छ।

यसले उनी केवल जिल्ला राजनीतिमा सीमित नभई पार्टीको केन्द्रसम्मको संरचनामा पनि प्रभावकारी भूमिका खेल्दै आएको देखिन्छ । सुब्बाले २०७९ सालको प्रदेशसभा निर्वाचनमा तेह्रथुम प्रदेशसभा (क) बाट उम्मेदवारी दिएका थिए । त्यो निर्वाचनले उनलाई जनताको मुद्दा अझ नजिकबाट बुझ्ने अवसर पाएका छन् । निर्वाचनमा नेकपा एमालेका किशोचन्द्र दुलालसँग पराजित भए पनि जिल्लामा नै रहेर सक्रिय राजनीति गर्दै आएका छन् ।

त्यसै अनुभव र संगठनात्मक क्षमताको आधारमा नेपाली कांग्रेसले उनलाई २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तेह्रथुमबाट उम्मेदवार बनाएको छ । राजनीतिक क्षेत्रमा मात्र होइन, शैक्षिक पक्षमा पनि सन्तोष सुब्बा सबल छन् । उनले एलएलबी (कानुनमा स्नातक) अध्ययन गरेका छन् ।

कानुनको ज्ञान भएकाले नीति निर्माण, संविधान, विधि र सुशासनका विषयमा उनको बुझाइ स्पष्ट रहेको छ । सुब्बा आफैं पनि ‘विकाससँगै सुशासन, पारदर्शिता र जनउत्तरदायित्व बिना राजनीतिक परिवर्तन अधुरो रहने’ धारणा राख्दै आएका छन् । राजनीतिसँगै समाजसेवामा पनि सुब्बाको सक्रियता उल्लेखनीय छ । उनले २०५६ सालमा चौतारी युवा क्लब स्थापना गर्दै संस्थापक अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उक्त क्लबमार्फत उनले युवाहरूलाई सामाजिक अभियानमा जोड्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए ।

त्यसैगरी, उनी तेह्रथुमको पर्यटन प्रवर्द्धनमा समेत अग्रसर रहँदै आएका छन् । जिल्लामा रहेका प्राकृतिक, सांस्कृतिक र धार्मिक गन्तव्यहरूको प्रचार–प्रसार तथा सम्भावना उजागर गर्न उनले निरन्तर चासो देखाउँदै आएको स्थानीयहरू बताउँछन् । निर्वाचन नजिकिँदै जाँदा सन्तोष सुब्बाले तेह्रथुमका मुख्य समस्या र सम्भावनालाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताउँदै आएका छन् । उनको प्राथमिकतामा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकास रहेका छन् ।

नेविसंघ, तरुण दल हुँदै पार्टीको जिल्ला सचिवसम्मको जिम्मेवारी कुशलतापूर्वक निभाएका सुब्बाका लागि यो निर्वाचन २०७९ को प्रदेशसभा पराजयको बदला लिने र आफ्नो राजनीतिक उचाई प्रमाणित गर्ने सुवर्ण अवसर हो।

युवालाई रोजगार र स्वरोजगारतर्फ जोड्ने, कृषि उत्पादनलाई बजारसँग जोड्ने र पर्यटन क्षेत्रलाई जिल्लाको आर्थिक मेरुदण्ड बनाउने विषयलाई उनले चुनावी अभियानको केन्द्रमा राखेका छन् ।

सुब्बालाई नजिकबाट चिन्नेहरूका अनुसार उनी जनतासँग प्रत्यक्ष भेटघाट, संवाद र स्थानीय समस्याको समाधान खोज्ने स्वभावका छन् । यही कारण उनलाई जिल्लामा ‘जनतासँग बस्ने, जनताको कुरा सुन्ने नेता’का रूपमा हेरिएको छ ।

अब आगामी निर्वाचनमा उनले आफ्नो संगठनात्मक अनुभव, सामाजिक सक्रियता र जनसम्पर्कको बलमा संसद्सम्म पुग्ने लक्ष्य लिएका छन् । तेह्रथुमको राजनीति र विकासको नयाँ दिशाका लागि यो निर्वाचन निर्णायक हुने बताइँदै गर्दा, सन्तोष सुब्बाको उम्मेदवारीलाई कांग्रेस समर्थकहरूले ‘जिल्लाको भविष्यसँग जोडिएको उम्मेदवारी’का रूपमा व्याख्या गर्न थालेका छन् ।

Battleground Analysis

अनुकूलता

  • संगठनको बलियो आधार
  • कानुनी र प्राज्ञिक दख्खल
  • जनस्तरमा भिजेको व्यक्तित्व

प्रतिकूलता

  • 'हेभिवेट' प्रतिस्पर्धी
  • मत विभाजनको जोखिम
  • विगतको नतिजाको दबाब
शिक्षा
स्नातक
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कांग्रेस

सन्तोष सुब्बाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित