Home Candidate मनहरि तिमल्सिना

प्रचण्डको सचिवालयबाट जनताको घरदैलोमा

पर्वत - १ उम्मेदवार

मनहरि तिमल्सिना

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ४१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

माओवादी सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रियासम्मको साक्षी र सहयात्री बनेका मनहरि तिमल्सिना (४१), नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा रूपमा लामो समय काम गरे। तर, अहिले उनी सिधै जनताको अदालतमा आफ्नो भाग्य र भविष्य परीक्षण गराउन पर्वतबाट चुनावी मैदानमा छन् ।

तिमल्सिनाको परिचय बहुआयामिक छ। एक राजनीतिक कार्यकर्ताका अलावा उनी एक पत्रकार, विश्लेषक, लेखक र प्रशिक्षक पनि हुन्।

२०५४ सालमा अखिल (क्रान्तिकारी) बाट विद्यार्थी राजनीति सुरु गरेका तिमल्सिनाले माओवादी जनयुद्धलाई नजिकबाट सघाए। संकटकालको समयमा राज्यपक्ष (सेना) को गिरफ्तारीमा परी यातना भोगेका उनी माओवादी आन्दोलनका ‘भुइँ तहका’ सिपाही हुन्।

शान्ति प्रक्रियापछि माओवादीले देशैभरि ‘मिसन पत्रकारिता’ सुरु गर्दा गण्डकी मिडिया हाउस (पोखरा) को स्थापना र सञ्चालनमा उनको मुख्य भूमिका थियो। जनादेश साप्ताहिक, स्वाभिमान राष्ट्रिय साप्ताहिक जस्ता वैचारिक पत्रिकाहरूमा काम गर्दै उनले जनताको आवाज र पार्टीको विचारलाई स्थापित गर्न कलम चलाए।

पछिल्लो एक दशकदेखि तिमल्सिना माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा रहेर काम गरे। प्रधानमन्त्रीको प्रेस संयोजकसम्मको जिम्मेवारी सम्हालेका उनले राज्य सञ्चालनको संयन्त्र र नीतिगत जटिलतालाई नजिकबाट बुझेका छन्।

तिमल्सिना बौद्धिक छवि बोकेर चुनावी मैदानमा छन् । जनताको जनवादका आधारहरू, कम्युनिस्ट स्कुल, समाजवादी क्रान्तिको कार्यदिशा, समाजवाद: सिद्धान्त र प्रयोग लगायतका पुस्तक लेख्नुका साथै पार्टी स्कुल विभागमा रहेर हजारौं कार्यकर्तालाई मार्क्सवादी शिक्षा दिएका छन् । अब उनी त्यही सिद्धान्तलाई व्यवहारमा उतार्न चुनावी मैदानमा छन्।

चुनावी अंगगणित

पर्वतमा यसपटकको लडाइँ निकै पेचिलो छ। एमालेका पदम गिरी र कांग्रेसका अर्जुन जोशीको द्विपक्षीय भिडन्तलाई बहुपक्षीय बनाउने प्रयासका साथ यसपटक नेकपाबाट तिम्लसिनासँगै रास्वपाका सागर भुसाल लगायतका उम्मेदवार मैदानमा छन् । 

माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उनी उम्मेदवार छन्। २०७९ सालमा माओवादीले कांग्रेसलाई सघाएको थियो। त्यसबेला माओवादीको ‘कोर भोट’ करिब ६ देखि ८ हजार रहेको अनुमान थियो।

यसपटक कुनै गठबन्धन नरहेको अवस्थामा रास्वपाले सहरी मत काट्दा र पुराना दलहरूप्रति वितृष्णा बढ्दा, मनहरिले तटस्थ मत तान्न सके भने अनुकूलता बढाउन सक्छन् । 

अनुकूलता

लामो समय प्रधानमन्त्रीको सचिवालयमा बसेकाले उनलाई देशको प्रशासनिक र नीतिगत समस्याको राम्रो ज्ञान छ। उनी समस्याको जरो पत्ता लगाएर समाधान दिने क्षमता राख्छन्।

४० वर्षको उमेर र दर्जनौं पुस्तकको लेखक हुनुले उनलाई ‘पढालेखा र भिजन भएको’ नेताका रूपमा स्थापित गरेको छ। जेनजी र बौद्धिक वर्गले उनलाई रुचाउन सक्छन्।

प्रचण्डको ‘किचेन क्याबिनेट’ मा बसेर काम गरेको व्यक्ति भएकाले, जितेर गएपछि पर्वतको विकासका लागि केन्द्रबाट बजेट र योजना ल्याउन सक्ने हैसियत उनी राख्छन्।

प्रतिकूलता

माओवादी आन्दोलन अहिले रक्षात्मक अवस्थामा छ। पार्टी विभाजन, टुटफुट र पुराना कार्यकर्ताको निराशालाई चिर्नु उनको सबैभन्दा ठूलो चुनौती हो।

पदम गिरी (पूर्वमन्त्री) र अर्जुन जोशी (पूर्वसांसद) जस्ता स्थापित नेताहरूसँगको प्रतिस्पर्धा फलामको चिउरा चपाउनु सरह हुनसक्छ । पर्वतमा एमाले र कांग्रेसको तुलनामा नेकपाको संगठन कमजोर छ।  

अहिले जनताले ‘विचार र सिद्धान्त’ भन्दा पनि ‘तत्काल डेलिभरी’ खोजिरहेका छन्। मार्क्सवादी दर्शनका कुराले गाउँका सामान्य मतदातालाई कति आकर्षित गर्छ भन्ने प्रश्न पेचिलो छ।

चुनावी अभियानमा मनहरिले मतदातासँग भनिरहेका छन्, 'म केवल अनुहार फेर्न आएको होइन, म प्रवृत्ति फेर्न आएको हुँ।'

उनले भ्रष्टाचार र अनियमितताको अन्त्य गरी पारदर्शी शासन प्रणाली स्थापना गर्ने, गरिब, किसान र मजदुरको जीवनस्तर उकास्दै समाजवाद उन्मुख अर्थतन्त्र बनाउने एजेन्डा अगाडि सारेका छन् । युवालाई खाडी पठाउने होइन, गाउँमै उद्यमी बनाउने र राजनीतिलाई फोहोरी खेल हुनबाट बचाएर सेवा र विचारको माध्यम बनाउने एजेन्डा अगाडि सारिरहेका छन् ।

दलीय राजनीति र जातीय/क्षेत्रीय समीकरणको जालो तोड्न नसके, उनी केवल एक ‘राम्रो उम्मेदवार’ मा मात्र सीमित हुनेछन् । प्रचण्डको सचिवालयको अनुभव र मार्क्सवादी ज्ञानलाई मतमा बदल्न उनी कति सफल हुन्छन्, त्यसको उत्तर २०८२ को मतपेटिकाले नै दिनेछ।  

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

मनहरि तिमल्सिना को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित