माओवादी छाडेलगत्तै रास्वपाबाट प्रतिनिधिसभाको टिकट
घरबारविहीन गरिब तथा विपन्न परिवारलाई घर बनाइदिने काममा महत्त्वपूर्ण भूमिका निभाएका शाक्यलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारका रूपमा उभ्याएको छ ।
०००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टेकबहादुर शाक्यलाई पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । पर्साको ठोरी गाउँपालिका-४, विजयवस्तीका स्थायी बासिन्दा टेकबहादुर त्यस्ता भाग्यमानीमध्ये पर्छन्, जसले चुनावको मुखैमा पार्टी परिवर्तनपछि टिकट पाएका छन् ।
उनी तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत थिए । नेकपा माओवादी केन्द्रमै सक्रिय रहेर सामाजिक कार्यका साथै संगठन निर्माण र विस्तारमा उनले भूमिका खेलेका थिए । जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक अवस्थामा उनले नेकपा माओवादी केन्द्र परित्याग गरे । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे ।
५० वर्षीय शाक्यले वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।
नेपाल प्रहरीको अधिकृत पदमा रहे काम गरेको अनुभवसमेत उनीसँग छ । साथै, विभिन्न संघ-संस्थाको नेतृत्व गर्दै सामाजिक काम गरेका शाक्यको घरबारविहीन गरिब तथा विपन्न परिवारलाई घर बनाइदिने काममा महत्त्वपूर्ण भूमिका छ ।
राजनीतिक अस्थिरता, बेथितिविरुद्ध र जनताका लागि काम गर्ने अठोटका साथ उम्मेदवारी दिएको उनी सुनाउँछन् ।
सामाजिक न्याय र सुशासन कायम गर्न, राजनीतिक शुद्धीकरण गर्न, जनतालाई दासी होइन मालिक बनाउन, युवाको भविष्य स्वदेशमै सुनिश्चित गर्न र भुइँमान्छेको आवाज सदनमा बुलन्द गर्न आफू प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिएको शाक्य सुनाउँछन् ।
टेकबहादुर उम्मेदवार रहेको यस क्षेत्रमा निकै पुराना राजनीतिक हस्तीहरू चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट आठौंपटक संसदीय चुनावी मैदानमा रमेश रिजाल छन् भने दोस्रोपटक नेकपा एमालेबाट जालिम मियाँ मन्सुरी छन् ।
जगरनाथपुर गाउँपालिकाका स्थायीवासी मन्सुरी २०७४ सालको स्थानीय तह चुनाव जितेर जगरनाथपुर गाउँपालिकाका अध्यक्ष बनेका थिए ।
यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जयप्रकाश थारुलाई उम्मेदवार बनाएको छ । थारुले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट जित निकालेका थिए ।
यसैगरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट विष्णु लोप्चन चुनावी मैदानमा छन् ।
Battleground Analysis
अनुकूलता
- परिवर्तनको एजेन्डा र नयाँ शक्ति
- सेवा निवृत्त प्रहरी अधिकृतको अनुभव
- प्रभावकारी सामाजिक छवि
प्रतिकूलता
- हेभीवेट प्रतिस्पर्धीहरूको दबाब
- पार्टी परिवर्तनको प्रभाव
- विधायकी अनुभवको कमी
टेकबहादुर शाक्यको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?


