नेतृत्वको विश्वास जितेकी अस्मितालाई इतिहास बनाउने अवसर
पालिकामा उपाध्यक्ष रहँदा महिला उद्यमशीलतालाई टोल टोलमा पुर्याएकी उनी महिला, युवा विद्यार्थीवृत्तमा प्रिय छन् ।
०००
केन्द्रीय मुख्यालय च्यासलमा गत ४ माघमा बसेको नेकपा एमाले सचिवालय बैठकले अस्मिता थापालाई ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाउने निर्णय गर्यो । यो निर्णय एमाले ओखलढुंगा र यहाँका मतदाताका निम्ति ठूलै सरप्राइज थियो ।
किनकि उमेरले ३० वर्ष नकटेकी थापा आफै पनि उम्मेदवार बन्ने दौडमा थिइनन् । अझ लिखु गाउँपालिकाकी उपाध्यक्ष पदको कार्यकाल बाँकी नै थियो ।
जनप्रतिनिधिमा कार्यकाल बाँकी नै रहेकाले पनि उनले सांसद पदको आंकाक्षीका रूपमा प्रस्तुत गरेकी थिइनन्। तर एमाले पार्टी नेतृत्वले थापालाई उम्मेदवार बनाउने निर्णय गर्यो । पार्टी केन्द्रको निर्णय मान्दै उनी यतिबेला चुनावी मैदानमा छन् ।
उनले आफू भन्दा धेरै सिनियर नेता यज्ञराज सुनुवारलाई चुनावी कमान्डर बनाएकी छन् । पार्टी केन्द्रीय नेतृत्वको चर्को पेलाइमा परेर केन्द्रीय सदस्यभन्दा माथि उक्लन नसकेका सुनुवार अहिले थापाको बलियो भरोसा बनेका छन् । पटकपटक जिल्ला पार्टीको नेतृत्व गरेका र दुई पटक सांसदको अनुभव रहेका सुनुवारलाई ओखलढुंगामा एमाले बनाएको नेता भनेरै चिनिन्छन् ।
अर्थात् पार्टी नेतृत्वको विश्वास जितेर उम्मेदवार बनेकी थापालाई चुनाव जितेर युवा सांसद बन्ने अवसर छ । ६ असार २०५२ सालमा लिखु गाउँपालिका-७, गाम्नाङ्टारमा जन्मिएकी थापाले उम्मेदवार बन्दै पनि रेकर्ड बनाइसकेकी छन् । एमालेमा उनी सबैभन्दा कान्छी उम्मेद्वार हुन् ।
थापाको राजनीतिक पृष्ठभूमिमा अखिल हो । त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायको स्नातकोत्तर तहमा अध्ययरत उनी एमाले कन्द्रीय सदस्य समेत छिन् । ४० वर्षको युवा महिला क्लस्टरबाट उनी केन्द्रीय सदस्य बनेकी थिइन् ।
एमालेमा असाध्यै छिटो सफलता पाउने नेतामा पर्छन् । २०७८ सालसम्म अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रहेकी थापा २०७९ को स्थानीय निर्वाचनमा लिखु गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।
पालिकामा उपाध्यक्ष रहँदा महिला उद्यमशीलतालाई टोल टोलमा पुर्याएकी उनी महिला, युवा विद्यार्थीवृत्तमा प्रिय छन् । उनले स्वरोजगार र क्षमताविकास लागि वडा र टोल तहसम्म कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
तर उपाध्यक्षबाट राजीनामा दिएर सांसद पदको उम्मेदवार बनेकी थापा प्रमुख प्रतिस्पर्धामा आउने दलहरुबाट एक मात्र महिला उम्मेदवार पनि हुन् । तर उनको प्रतिकूलता पनि चानचुने छैन ।
विशेषगरी केपी ओलीको विश्वास जितेर टिकट पाएपछि एमाले ओखलढुंगाका लगभग सिंगो जिल्ला कमिटी निष्क्रिय बनेको छ । जनसंगठनका जिल्ला नेतृत्व खाली जस्तै भएको छ । जिल्ला अध्यक्ष सहित थुप्रै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । जिल्ला पार्टी नेतृत्व विहीन बनेकाले हर्कबोल राईलाई तदर्थ समितिको संयोजक तोकिएका छन् ।
ओखलढुंगा एमालेमा बलियो प्रभाव राख्ने अम्बिरबाबु गुरुङले एमाले त्यागेर नेकपाबाट उम्मेदवारी दिएका छन् । अर्थात थापाका प्रतिस्पर्धामा आफ्नै पूर्वनेता गुरुङ मैदानमा छन् । बलियो संगठन रहेको कांग्रेसबाट थापासँग प्रतिस्पर्धामा कुमार लुइँटेल छन् भने रास्वपाले पूर्वप्रहरी विश्वराज पोखरेललाई मैदानमा उतारेको छ ।
अनुकूलता
- केन्द्रीय पार्टी नेतृत्वको विश्वास, बलियो र सशक्त राजनीतिक बिरासत बोकेको दलबाट उम्मेदवार बन्दाको लाभ ।
- एमालेकी सबैभन्दा कान्छी प्रतिनिधिसभा उम्मेदवार हुनु ।
- पालिका उपाध्यक्ष हुँदा महिला उद्यमशीलता, स्वरोजगार, र क्षमता विकासका कार्यक्रम मार्फत बनाएको व्यक्तित्व ।
प्रतिकूलता
- पार्टीभित्र देखिएको असन्तुष्टि
- अनुभवको सीमितता र अप्रत्याशित उम्मेदवारी ।
- बलिया प्रतिश्पर्धीहरुको सिर्जना गर्ने दबाब ।
अस्मिता थापा को उम्मेदवारि कस्तो लागयो ?



