Home Candidate भरत कुमार शाह

छैटौं उम्मेदवारी, पराजित हुँदा पनि क्षेत्र नछाड्ने छवि

http://नेपाली%20कांग्रेस
भरत कुमार शाह
रूपन्देही - ५ उम्मेदवार

भरत कुमार शाह

पुरुष , ७१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शाह चौथो पटक संसद् पुग्ने लक्ष्यका साथ रुपन्देही-५ बाट उम्मेदवार बनेका छन् ।

०००

नेपाली कांग्रेसका अनुभवी नेता भरतकुमार शाह २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन् ।  २०११ सालमा दाङको श्रीगाउँमा जन्मेका शाह अहिले रुपन्देहीको साविक विसुनपुरा (हाल गैडहवा गाउँपालिका-३) का स्थायी बासिन्दा हुन् ।

व्यवस्थापन संकायमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत शंकरदेव क्याम्पसबाट स्नातकोत्तर (एमबीए) पूरा गरेका उनले २०२७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन् ।

२०३० सालमा दाङकै महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका शाह दाङबाट रुपन्देही आएपछि २०४९ सालमा साविकको सूर्यपुरा गाविसमा वडाध्यक्ष र सोही वर्ष जिल्ला विकास समिति सदस्य भए । २०५६ सालमा हालको रुपन्देही-५ रहेकै क्षेत्रबाट पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका शाह २०५८ सालमा अर्थ राज्यमन्त्री भएका थिए ।

२०६४ को संविधानसभा चुनावमा पराजित भएका उनी २०७० मा भने विजयी भए । २०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादीबीचको गठबन्धनका बाबजुद विजयी भएका शाह सार्वजनिक लेखा समिति सदस्य भएर काम गरे । २०७९ को निर्वाचनमा पराजित भएका उनी छैटौं पटक सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

लामो समयसम्म पार्टीको संस्थापन पक्षमा रहेका शाह पार्टीको दोस्रो विशेष महाधिवेशनमा भने गगन थापा र विश्वप्रकाश शाहको पक्षमा उभिएर केन्द्रीय सदस्य निर्वाचित भए । शाह पार्टीको संसदीय बोर्डमा पनि सदस्य छन् । 

राजनीतिमा स्वच्छ छवि, चुनावमा पराजित भए पनि आफ्नो निर्वाचन क्षेत्र नछाड्ने परिचय बनाएका शाह अर्थतन्त्र र अन्तर्राष्ट्रिय राजनीतिलाई गहिरोसँग बुझेका अनुभवी नेता हुन् ।

वित्तीय संस्था र उद्योग–व्यवसाय स्थापना तथा सञ्चालनको अनुभवसमेत गरेका शाह भाषणकलामा प्रभावकारी र पोख्त नहुनु राजनीतिक जीवनमा उनको कमजोर पक्ष मानिन्छ ।

चौथो पटक संसद् पुग्ने लक्ष्यसहित उम्मेदवार बनेका शाहले नेकपा एमालेका खिमलाल भट्टराई, जनमत पार्टीका ओमप्रकाश यादव गुल्जारी, नेपाली कम्युनिस्ट पार्टीका मोहम्मद वकिल मुसलमान र रास्वपाका तौफिक अहमद खानसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

संसद्मा पुगेर भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि आवश्यक ऐन-कानुन निर्माण, लुम्बिनी संस्कृतिक नगरपालिका हुँदै भारत जाने कक्रहवा सीमानाकाको स्तरोन्नति गरी क वर्गको बनाउने, लुम्बिनीको वृहत्तर विकासका लागि ग्रेटर लुम्बिनीको गुरुयोजना बनाएर राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुदान जुटाएर विकास गर्ने, शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने, कृषिको व्यावसायीकरण, सिंचाइ, मलको सहज उपलब्धता र रोजगारी सिर्जनालाई प्राथमिकता दिने प्रतिवद्धता छन् ।

यो क्षेत्रमा १ लाख ३४ हजार ४४२ मतदाता छन् । २०७९ को चुनावमा दलहरूले पाएको समानुपातिक मतमा यो क्षेत्रमा एमालेले सबैभन्दा बढी २१ हजार ६३३, कांग्रेसले १९ हजार ८४८, जनमत पार्टीले १३ हजार ३३४, रास्वपाले ८ हजार ८८५ र नेकपाले ४ हजार ८९६ मत पाएका थिए ।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • चुनावमा पराजित हुँदा पनि क्षेत्र नछाड्ने छवि
  • राजनीतिक र वैचारिक पृष्ठभूमि बलियो
  • स्वच्छ छवि र कांग्रेसको परम्परागत मताधार

प्रतिकूलता

  • कडा प्रतिस्पर्धा र मत विभाजनको जोखिम
  • अघिल्लो निर्वाचनमा पराजय, नयाँ अनुहारप्रति आकर्षण हुनसक्ने
  • भाषणकलामा कमजोर

भरत कुमार शाहको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित