गुल्जारीले २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभाका दुवै चुनाव हारे । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र र दल दुवै बदलेर मैदानमा छन् ।
०००
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा ओमप्रकाश यादव गुल्जारीले रुपन्देही क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । उनी जनमत पार्टीबाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।
२०६३ सालको मधेश आन्दोलनका बेला रुपन्देहीमा चर्चित नाम हो गुल्जारी । २०३७ सालमा रुपन्देहीको यामायादेवी गाउपालिका–६ शिवपुरमा जन्मेका यादव राजनीतिक परिवारका सदस्य हुन् । उनका बुबा विश्वनाथ यादव पञ्चायती व्यवस्थामा २० वर्षसम्म प्रधानपञ्च थिए ।
दिनदयाल उपाध्याय युनिभर्सिटी गोरखपुरबाट मानविकी संकायमा स्नातक गरेका यादवसँग मर्चवार क्षेत्रको सबैभन्दा ठूलो कृषि सहकारी संस्था र अन्य सामाजिक संस्थाको नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।
२०६३ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम रुपन्देहीको नेतृत्व सम्हालेका यादव तत्कालीन माओवादीको निसानामा परेका थिए । उनको घर माओवादी कार्यकर्ताले आगजनी गरेर ध्वस्त बनाएका थिए ।
आगजनी हुँदा घरमा रहेका मामाका बुबा भगौती यादवको ज्यानसमेत गयो । उक्त घटनापछि यादवको परिवार नै विस्थापित भएर एक वर्ष भारतमा लुकेर बस्न बाध्य भयो ।
२०६४ सालमा संविधानसभा चुनावमा पार्टीले भाग लिने निर्णय गरेपछि उनी रुपन्देही फर्किए । त्यतिबेला रुपन्देही–३ (साविकको २ नम्बर क्षेत्र) मा उम्मेदवार बनेका उनी संविधानसभा सदस्यमा निर्वाचित भए ।
ओमप्रकाश यादव 'गुल्जारी' का लागि यो निर्वाचन "आफ्नो साख र मर्चवारको पहिचान" जोगाउने लडाइँ हो।
यादव ५ महिना कृषि तथा सहकारी राज्यमन्त्री र एक महिना मन्त्री भए । २०७० को दोस्रो संविधानसभा सदस्य चुनावमा रुपन्देही–४ मा उम्मेवार भए । तर तमलोपाका सर्वेन्द्रनाथ शुक्लासँग पराजित भए । २०७४ को प्रतिनिधिसभा सदस्य चुनावको मुखमा नेकपा एमाले प्रवेश गरेर रुपन्देही–४ मै उम्मेदवार बने तर उनी पराजित भए ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उनले निर्वाचन क्षेत्र र दल दुवै बदले । अहिले उनी जनमत पार्टीबाट रुपन्देही–५ बाट उम्मेदवार बनेका छन् ।
यादवले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई आध्यात्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने पहिलो एजेन्डा बनाएका छन् । पछाडि परेका मधेशी, मुस्लिम, दलित समुदायको जीवनस्तर माथि उठाउने, लुम्बिनीमा पर्यटक आकर्षित गरी उनीहरूको बसाइ लम्ब्याउन विशेष नीति बनाउने, किसानलाई मल, बिउ समयमै उपलब्ध गराउने र सिंचाइ सुविधा विस्तार, स्तरीय अस्पताल र प्राविधिक शिक्षा पनि उनका प्रतिवद्धता छन् ।
पूर्वमन्त्री यादवले पूर्वअर्थ राज्यमन्त्री रहेका नेपाली कांग्रेसका भरतकुमार शाह, नेकपा एमालेका खिमलाल भट्टराई, नेपाली कम्युनिस्ट पार्टीका मोहम्मद वकिल मुसलमान र रास्वपाका तौफिक अहमद खानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
आफ्ना पुराना समर्थकलाई गोलबन्द गर्न सके भने रुपन्देही–५ मा उनले नयाँ इतिहास रच्ने सम्भावना छ।
हाल १ लाख ३४ हजार ४४२ मतदाता रहेको यो क्षेत्रमा २०७९ को चुनावमा दलहरूले पाएको समानुपातिक मत एमालेले सबैभन्दा बढी २१ हजार ६३३, कांग्रेसले १९ हजार ८४८, जनमत पार्टीले १३ हजार ३३४, रास्वपाले ८ हजार ८८५ र नेकपाले ४ हजार ८९६ थियो ।
आन्दोलनमा खारिएर आएका, जनस्तरमा भिजेका जनप्रिय र जुझारु छवि यादवका सबल पक्ष हुन् भने दल र क्षेत्र परिवर्तन गरिरहने प्रवृत्ति उनको कमजोर पक्ष मानिन्छन् ।