कैलाली–२ मा उनको परिवारको ऐतिहासिक र सामाजिक सम्बन्ध रहेकाले उनलाई 'पहिचान' स्थापित गर्न सहज छ।
०००
२०४८ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी सेवामा प्रवेश गर्दा विजयबहादुर स्वारलाई लागेको थिएन, कुनै यस्तो दिन आउने छ, जुन दिन उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनिरहेका हुनेछन् ।
तर, कहिल्यै नसोचे पनि यो सत्य भइदियो । राजनीतिक परिवारमा जन्मिएर पनि राजनीतिलाई नभई जागिरलाई प्राथमिकतामा राखेका विजय अन्तत: २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवार छन् । उनलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो ।
असईको १०५ औं ब्याचबाट सेवा आरम्भ गरेका स्वारले पछि भने नेपाल प्रहरीको जागिर छाडे । त्यसपछि यातायात व्यवसायको क्षेत्रमा क्रियाशील स्वारले राजनीतिलाई पनि सँगै अघि बढाएका थिए । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष भएर नेतृत्वसमेत गरिसकेका उनी पञ्चायतकालीन नेता नैनबहादुर स्वारका छोरा हुन् ।
राजनीतिक चेतनासँगै हुर्किएका स्वारको परिवारको ऐतिहासिक सम्बन्ध कैलाली निर्वाचन क्षेत्र नम्बर २ सँगै जोडिएको छ ।
उनका पिता स्व. नैनबहादुर स्वार राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय रहँदै पञ्चायतकालमा गृहमन्त्रीसमेत भएका व्यक्ति हुन् । बुवाको राजनीतिक तथा सामाजिक विरासतले स्वार पनि राजनीतिमा आवद्ध हुन पुगेको बताउँछन् ।
नेपाली कांग्रेसमा नेता प्रकाशमान सिंहनिकट मानिने स्वार कैलाली–२ बाट पहिलोपटक संसदीय चुनाव लडिरहेका छन् । निवर्तमान सभापति शेरबहादुर देउवासँग निकट नभएका कारण चुनाव लड्ने इच्छा भएर पनि टिकट पाएका थिएनन् ।
तर, गगन थापा सभापति बनेपछि भने उनले टिकटका लागि धेरै मेहनत गर्नै परेन । लामो समय श्रमिक तथा व्यवसायीको हकहितका लागि संगठनात्मक आन्दोलनमा लागेका उनले यातायात क्षेत्रमा देखिएका अव्यावहारिक र अन्यायपूर्ण नीति सुधार गर्ने आन्दोलनको नेतृत्वसमेत गरेका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय सदस्य हुँदै एकपटक उपाध्यक्ष, तीनपटक वरिष्ठ उपाध्यक्ष भएर काम गरेका स्वार २०७९ मा महासंघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।
सामाजिक र खेलकुद योगदान क्षेत्रमा समेत काम गरेका स्वारले काठमाडौंस्थित किमकम स्पोर्टस क्लबको अध्यक्ष भएर १४ वर्षसम्म काम गरेका छन् । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका स्वार १२औं र १३औं महाधिवेशन प्रतिनिधि थिए । १४औं महाधिवेशनबाट महासमिति सदस्य जितेका थिए ।
पहिलोपटक संसदीय चुनाव लडिरहेका स्वारले मतदाता भेटघाट गरिरहेका स्वारले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, स्वच्छ खानेपानी सेवा विस्तार तथा पूर्वाधार निर्माणका मुद्दा लिएर मत मागिरहेका छन् ।
स्थानीय तहको मतभार
कैलाली क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिकाका साथै मोहन्याल गाउँपालिकाका ६ वडा र जानकी गाउँपालिकाका ४ वटा वडा पर्छन् । २०७९ को स्थानीय तहको नतिजालाई हेर्दा कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा एमाले सबभन्दा ठूलो दल हो ।
त्यसबेला एमालेका वडाध्यक्ष उम्मेदवारहरूले १७ हजार ८८३ मत पाएका थिए । कांग्रेसका वडाध्यक्षले १३ हजार १२१ मत पाउँदा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ७ हजार ९२० मत पाएका थिए । यस्तै, नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३, राप्रपाले २ हजार १५१, एकीकृत समाजवादीले २ हजार ०२१ र जसपाले ६०६ मत पाएका थिए ।