सानै उमेरमा सरसफाइ अभियन्ताका रूपमा चिनिएका केपी खनाल यही पुँजी लिएर संसदीय राजनीतिमा होमिएका छन् । रास्वपाबाट उम्मेदवार रहेका खनाललाई देशव्यापी रुपमा आएको लहरले आफ्नो राजनीतिक डुंगा पनि पार लगाउने विश्वास छ ।
०००
केपी खनाल, सामाजिक अभियन्ताका रूपमा परिचित नाम हो । २०५६ सालमा अछामको रामारोशन गाउँपालिकामा जन्मिएका खनाललाई सरसफाइ अभियन्ताका रूपमा चिनिन्छ । उनको परिचय त्यतिमा मात्र सीमित छैन, उनी २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार पनि हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खनाललाई सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहनिकट मानिन्छ । लम्कीचुहा नगरपालिकामा बसोबास गर्दै आएका खनाल कैलाली–२ बाट उम्मेदवारी दिएर चुनावी मैदानमा छन् ।
कान्छा सामाजिक अभियन्ताको छवि बनाएका खनाल सांसद बन्ने दौडमा अघि बढेका छन् । काठमाडौंमा ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नारासहित क्लिन काष्ठमण्डप अभियानमार्फत खनालले सरसफाइ अभियान चलाएका थिए ।
७ कक्षा पढ्ने बेला स्थानीय रेडियोमा रेडियोकर्मीको रूपमा काम गरेका खनाल सोही बेलादेखि सामाजिक अभियानका जोडिँदै आए । बाल्यकालमै भारतमा मजदुरी गरेका खनाल केहीपछि स्वदेश फर्किएर अध्ययनलाई अगाडि बढाए । प्लस टू अध्ययन गर्ने समयदेखि नै सामाजिक कार्यमा सक्रिय बन्दै गए ।
उनले १७ वर्षको उमेरमा क्लिन काष्ठमण्डप अभियान सञ्चालन गरे । त्यही समयमा बाजुराको बुढीगंगा नगरपालिकामा उनकै अगुवाइमा अनाथ बालबालिकाको लागि कन्सर्न बाजुरा संस्थाले बालगृह बनाएको थियो । त्यहाँ ५० बढी अनाथ बालबालिका अटाउने क्षमताको भौतिक संरचना बनाइएको छ ।
राजनीतिक इतिहास र विरासतभन्दा पनि सामाजिक क्षेत्रकै क्रियाशीलता र योगदान देखाएर खनाल प्रतिनिधिसभा सदस्यका लागि मत मागिरहेका छन् । सामाजिक क्षेत्रमा क्रियाशील खनाल अहिलेसम्म नेशनल युथ आइकोन अवार्ड २०१८, नेसनल युथ लिड अवार्ड २०१९, प्रदेश युवा प्रतिभा सम्मान २०७८ र जनसेवा श्री पदकबाट सम्मानित र पुरस्कृत भएका छन् । अहिले उनी कैलाली–२ मा घरदैलो गर्दै मतदाता रिझाउन व्यस्त रहेका छन् ।
१७ वर्षको उमेरदेखि 'क्लिन काष्ठमण्डप' मार्फत सरसफाइ अभियान सुरु गरेका उनलाई 'कान्छा सामाजिक अभियन्ता'का रूपमा चिनिन्छ।
खनालले भ्रष्टाचारको अन्त्य गर्दै रास्वपाले देशमा सुशासन कायम गर्ने एजेन्डासहित मत मागिरहेका छन् । आफ्नो क्षेत्रको सामाजिक, आर्थिक, भौतिक, शैक्षिक विकासका मुद्दालाई समेत खनालले अघि सारेका छन् । गर्विलो राजनीतिक इतिहास नभए पनि खनाल पहिलोपटकको प्रतिस्पर्धामै संसदीय राजनीतिको यात्रा तय गर्दै इतिहास रच्ने दाउमा लागिपरेका छन् ।
यस्तो छ, स्थानीय तहको मतभार
कैलाली क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिकाका साथै मोहन्याल गाउँपालिकाका ६ वडा र जानकी गाउँपालिकाका ४ वटा वडा पर्छन् । २०७९ को स्थानीय तहको नतिजालाई हेर्दा कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा एमाले सबैभन्दा ठूलो दल हो ।
एमालेका वडाध्यक्ष उम्मेदवारहरूले १७ हजार ८८३ मत पाएका थिए । कांग्रेसका वडाध्यक्षले १३ हजार १२१ मत पाएका थिए । माओवादी केन्द्रले ७ हजार ९२० मत ल्याउँदा नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३ मत मात्रै पाएको देखिन्छ । यहाँ राप्रपाले २ हजार १५१, एकीकृत समाजवादीले २ हजार ०२१ र जसपाले ६०६ मत ल्याएको छ ।