राष्ट्रिय सभाको अनुभव बोकेर प्रतिनिधिसभा पुग्ने रहर
नेकपा एमालेले डडेल्धुरा जिल्लामा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चक्रप्रसाद स्नेहीलाई उम्मेदवार बनाएको छ। स्नेहीको राजनीतिक यात्रा २०४६ सालमा अनेरास्ववियुको प्रादेशिक कमिटी सदस्यको रूपमा सिद्धार्थ माध्यमिक विद्यालयबाट सुरु भयो।
विद्यार्थी राजनीतिमा सक्रिय स्नेहीले २०४९ सालमा अनेरास्ववियु प्रादेशिक कमिटी सचिवको जिम्मेवारी सम्हालेपछि उनको राजनीतिक पहिचान थप स्थापित भयो। त्यसबेला स्नेहीले सङ्गठन सञ्चालन, विद्यार्थी हकहित र शैक्षिक मुद्दामा सक्रिय भूमिका खेले।
२०५० सालमा नेकपा एमाले गाउँ कमिटी सचिव बनेपछि उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका थिए। उनले जनस्तरमा पार्टी सङ्गठन विस्तार र राजनीतिक चेतना फैलाउने काम गरे। यसपछि उनको राजनीतिक यात्रा निरन्तर उकालो लाग्दै गयो। २०५३ सालमा उनी डडेल्धुरा इलाका अधिवेशन संयोजक भएका थिए।
स्नेहीले २०५६, २०५९, २०६२, २०६५ र २०६८ सालसम्म लगातार जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हाले। उनको राजनीतिक क्षमता र नेतृत्वले उनलाई विभिन्न सङ्गठनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्यो।
२०६४ देखि २०८० सालसम्म उनी अखिल नेपाल किसान महासङ्घको केन्द्रीय सचिवालय सदस्यको रूपमा किसान अधिकार र हितका लागि सक्रिय रहे। त्यसैगरी, २०५१ देखि २०८१ सालसम्म स्नेही मुक्ति समाज नेपालको अञ्चल कमिटी सचिव हुँदै केन्द्रीय कमिटी सचिवालय सदस्यसम्म पुगे।
२०६९ देखि २०७३ सम्म उनी अञ्चल कमिटी सदस्य रहे भने २०७४ देखि २०८० सालसम्म सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।
२०७४ सालमा चक्रप्रसाद स्नेही राष्ट्रियसभा सदस्यमा मनोनीत भए। उनले २०७८ सम्म जिम्मेवारी निर्वाह गरे। राष्ट्रिय सभामा रहँदा उनले सुदूरपश्चिम प्रदेशका उत्पीडित जाति, दलित, जनजाति र आदिवासीका मुद्दाहरू उठाए। शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक हस्तक्षेप र खुला सिमानाजस्ता संवेदनशील विषयहरूमा उनको आवाज सशक्त रह्यो। कोरोना महामारीको समयमा नागरिकको समयमै उपचारका विषयमा, राष्ट्र र राष्ट्रियताका सवालमा र जनजीविकाका मुद्दाहरूमा उनले प्रश्न उठाएका थिए।
यस क्षेत्रबाट नेपाली कांग्रेसका पूर्वसभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ७ पटक निर्वाचनमा जित हासिल गरेका छन्। तर, यसपटक भने कांग्रेसकै आन्तरिक किचलोका कारण देउवाले टिकट पाएनन्।
२०७९ को चुनावमा देउवाले २५ हजार ५३४ मत ल्याएर फराकिलो अन्तरले जित हासिल गरेका थिए। स्वतन्त्र उम्मेदवार बनेका सागर ढकालले १३ हजार ४२ र नेपाली कांग्रेस (बीपी) का कर्णबहादुर मल्लले ७ हजार ५३५ मत पाएका थिए। त्यसबेला यस क्षेत्रबाट एमालेले आफ्नो उम्मेदवार उठाएको थिएन।
प्रस्तुतीः लोकेन्द्र ओझा
Battleground Analysis
अनुकूलता
- लामो राजनीतिक अनुभव र तल्लो तहको सङ्गठन
- संसदीय अनुभव र जनपक्षीय छवि
- कांग्रेसको आन्तरिक किचलो
प्रतिकूलता
- कांग्रेसको बलियो गढ
- एमालेको आफ्नै मतको परीक्षण
- त्रिपक्षीय प्रतिस्पर्धाको जोखिम
चक्रप्रसाद स्नेहीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?


