देउवाको समर्थक बनिरहे, गगनले अवसर दिए
२०४६ सालको जनआन्दोलनका क्रममा नेपाली कांग्रेसको ‘नर्सरी’ नेविसंघबाट राजनीति सुरु गरेका नैनसिंह महरको जन्म १४ साउन २०३१ मा डडेल्धुराको भागेश्वर गाउँपालिका–३, लामिकान्डेमा भएको हो ।
राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरिरहेका महरले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) र कानुनमा स्नातक (एलएलबी) गरेका महरले सन् २०२५ मा राजनीतिशास्त्रमै प्रथम श्रेणीमा एमफील उत्तीर्ण गरेका छन्।
जनआन्दोलनताका १६ वर्षको उमेरमा उनी असिग्राम माध्यमिक विद्यालय (डडेल्धुरा) मा नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई अध्यक्षको जिम्मेवारी सम्हाल्न पुगे। १६ कात्तिक २०४७ मा विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका तत्कालीन युवा नेता शेरबहादुर देउवा र एनपी साउदलगायतका नेता उपस्थित थिए। त्यही कार्यक्रममा नेविसंघ अध्यक्षको हैसियतमा महरले गरेको भाषणको प्रशंसा गर्दै नेताहरूले दिएको धाप र हौसला नै उनको राजनीतिक यात्राको ‘टर्निङ प्वाइन्ट’ बन्यो।
महरले २०५२ मा नेविसंघ डडेल्धुराको कार्यवाहक अध्यक्ष र २०५६ सालमा निर्वाचित जिल्ला अध्यक्ष भएर सङ्गठनलाई अघि बढाए। २०५३ देखि २०५७ सम्म कान्तिपुर दैनिक, राष्ट्रिय समाचार समिति (रासस) र रेडियो नेपालको रिपोर्टरका रूपमा महरले काम गरे। उनी नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाको संस्थापक अध्यक्षसमेत बने।
२०५७ सालको चितवन महाधिवेशनमा नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनी पत्रकारिता छाडेर पूर्णकालीन राजनीतिमा होमिए। २०६२/०६३ को जनआन्दोलनमा तीन महिना जेल जीवन बिताएका महरका लागि २०६४ को चैत २४ गतेको रात जीवनकै सबैभन्दा कहालीलाग्दो र अविस्मरणीय रात बन्यो।
पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा उनी डडेल्धुराबाट तत्कालीन विद्रोही माओवादीको अपहरणमा परे। आफन्तको निवासबाट राति ११ बजे हतियारधारी समूहको अपहरणमा परेका महरलाई स्थानीय नानीगाड नदीको बगरमा मरणान्त हुने गरी कुटपिट गरियो। अपहरणकारी समूहले मृत सम्झेर बगरमा बेवारिसे छाडेका महर चार घण्टापछि होसमा आउँदा आफूलाई नदीको बगरमा एक्लै रगतपच्छे अवस्थामा पाए।
उनी २०६४ सालमा केन्द्रीय उपाध्यक्ष हुँदै २०७३ सालमा सम्पन्न नेविसंघको ११औँ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भए। नेविसंघभित्र दशकौँदेखि विद्यार्थी राजनीतिमा जरा गाडेर बसेको ‘पाका विद्यार्थीहरू’ को सिन्डिकेट तोड्न उनले ‘३२ वर्षे उमेर हद’ को विधान र स्वतन्त्र विद्यार्थी युनियनमा २८ वर्षे उमेर हदको निर्णय विश्वविद्यालयबाट पारित गर्न नेतृत्वदायी भूमिका निर्वाह गरे।
उनी कांग्रेसको १४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए। पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि नियमित महाधिवेशनको पक्षमा उभिएका महर केन्द्रीय कार्यसमितिमा अटाउन सकेनन्। विशेष महाधिवेशनका कारण चुलिएको विवादका बीच निवर्तमान सभापति शेरबहादुर देउवाले अन्तिम समयमा आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने सार्वजनिक घोषणा गरेपछि महरको संसदीय यात्राको सम्भावित बाटो खुलेको छ। नवनिर्वाचित सभापति गगनकुमार थापाले नेता महरलाई डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका छन्।
डडेल्धुरामा नेकपा एमालेले चक्रप्रसाद रसाइली ‘स्नेही’, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मानसिंह माल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. तारा जोशीलाई अघि सारेको छ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा २५ हजार ५३४ मतका साथ विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत ल्याउँदा नेपाली कांग्रेस बीपीका नेता कर्णबहादुर मल्ल ७ हजार ५३५ मत पाएर तेस्रो बनेका थिए।
Battleground Analysis
अनुकूलता
- बलियो सङ्गठनात्मक आधार
- स्थानीय र बौद्धिक छवि
- सङ्घर्ष र परिवर्तनको पक्षधर
प्रतिकूलता
- पार्टीभित्रको गुटगत चुनौती
- संसदीय अनुभवको कमी
- विपक्षी र स्वतन्त्रको प्रभाव
नैन सिंह महरको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?



