शेरबहादुर देउवा चुनावी मैदानमा नभएको यो पहिलो अवसरमा डा. जोशीले रास्वपाको लहर र आफ्नो व्यक्तिगत प्रभावलाई कत्तिको जोड्न सक्छन्, त्यसैले डडेल्धुराको आगामी जनप्रतिनिधि तय गर्नेछ।
000
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका स्थायी बासिन्दा डा. ताराप्रसाद जोशी आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। ३० चैत २०२७ मा जन्मिएका उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा आकर्षित भए ।
जोशीको राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा सुरु भएको हो। २०४८ सालमा उनी शिक्षण पेसामा आबद्ध रहँदै शिक्षक सङ्गठनको सदस्य बने। त्यसपछि २०५१ सालमा नेकपा एमाले डडेल्धुरा–काठमाडौँ सम्पर्क मञ्चको सदस्यका रूपमा उनी पार्टी राजनीतिमा थप सक्रिय भए।
२०५३ सालमा नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य बनेका जोशी २०५४ सालमा जिल्ला कमिटी सचिवको जिम्मेवारीमा पुगे। लामो समय पार्टी सङ्गठनमा काम गरेका उनी २०६९ सालमा नेकपा एमाले डडेल्धुरा जिल्ला अध्यक्षसमेत बने।
राजनीतिक सङ्गठनसँगै लोकतान्त्रिक आन्दोलनमा पनि उनको उल्लेख्य भूमिका रह्यो। विशेषगरी २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए। सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रका विभिन्न गतिविधिमा निरन्तर संलग्न रहँदै आएका जोशी सामाजिक मुद्दामा खबरदारी र पैरवी गर्ने नेताका रूपमा परिचित छन्।
निर्वाचन राजनीतिमा पनि उनी निरन्तर सक्रिय देखिन्छन्। २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका जोशी २०७४ सालको प्रदेशसभा निर्वाचनमा कर्णबहादुर मल्लसँग पराजित भए।
यद्यपि, २०७९ सालको प्रदेशसभा निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भई राजनीतिक रूपमा पुनः बलियो उपस्थिति जनाए। २०७८ सालतिर नेकपा एमाले परित्याग गरेका जोशी त्यसपछि स्वतन्त्र राजनीतिक यात्रामा लागेका थिए। वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने अभियानमा सक्रिय रहँदै आएका उनी २०७९ पछि नयाँ राजनीतिक धारको खोजीमा देखिए।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका कारण सरकार परिवर्तनको माग तीव्र बनेपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन्।
डा. जोशीले नेपालमै स्नातक तहमा उनले राजनीतिशास्त्र र अर्थशास्त्र अध्ययन गरेका हुन्। पछि उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्।
अन्तर्राष्ट्रिय राजनीतिक नीति तथा सम्बन्ध, विकास, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानव अधिकारका क्षेत्रमा डा. जोशीको अनुभव छ।
उनलाई डडेल्धुराका 'सचेत र परिवर्तनकामी' युवाहरूको ठूलो आशाको केन्द्र मानिएको छ।
समसामयिक राजनीति, प्रविधि र बदलिँदो विश्व अर्थतन्त्रलाई पुराना दलहरूले बुझ्न नसकेको निष्कर्षसहित उनी नयाँ सोच र नयाँ नीतिको आवश्यकता औँल्याउँदै आएका छन्।
प्रविधिमैत्री युगअनुसार आर्थिक पुनर्संरचना, साझा र आधुनिक नीति निर्माण गर्न सक्ने ‘प्लेटफर्म’ आवश्यक भएको उनको धारणा छ। यही कारणले पुराना राजनीतिक संरचनाभन्दा फरक सोच बोकेको दल रोज्नुपर्ने निष्कर्षमा पुगेर उनले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन्।
यस क्षेत्रबाट नेपाली कांग्रेसका पूर्वसभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ७ पटक निर्वाचनमा जित हासिल गरेका छन्। तर, यसपटक भने कांग्रेसकै आन्तरिक किचलोका कारण देउवाले टिकट पाएनन्। २०७९ को चुनावमा देउवाले २५ हजार ५३४ मत ल्याएर फराकिलो अन्तरले जित हासिल गरेका थिए।
स्वतन्त्र उम्मेदवार बनेका सागर ढकालले १३ हजार ४२ र नेपाली कांग्रेस (बीपी) का कर्णबहादुर मल्लले ७ हजार ५३५ मत पाएका थिए। यो क्षेत्रमा कांग्रेसको बलियो पकड मानिन्छ।