बदलिएको चुनावी क्षेत्रमा प्रत्यक्ष परीक्षा
किशोरसिंह राठौर कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय नाम हो । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा संगठन निर्माण, आन्दोलन र संसदीय अभ्यास हुँदै संघीय संसदसम्म पुगेको छ । कांग्रेस राजनीतिमा निरन्तरता र संस्थागत भूमिकाका कारण उनी अनुभवी राजनीतिज्ञका रूपमा चिनिन्छन् ।
उनको जन्म २०२६ साल वैशाख १५ गते सल्यानमा भएको हो । स्थायी रूपमा हाल राजापुर नगरपालिका–६, बर्दियाका बासिन्दा हुन् । मधेश र थारु बहुल क्षेत्रमा हुर्किएकाले स्थानीय सामाजिक–राजनीतिक यथार्थसँग उनको नजिकको सम्बन्ध देखिन्छ ।
राजनीतिमा उनको प्रवेश २०४२ सालदेखि नेपाल विद्यार्थी संघबाट भएको हो । त्रिचन्द्र क्याम्पसमा स्ववियु सचिव र सभापति हुँदै उनी विद्यार्थी राजनीतिमा स्थापित भएका थिए । पछि स्ववियु फोरमको संस्थापक सभापति बनेका राठौर २०५३ सालमा नेविसंघको सहमहामन्त्री र २०५९ मा केन्द्रीय अध्यक्षसम्म पुगे ।
कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी १३औं महाधिवेशनपछि पनि केन्द्रीय सदस्य बने । पार्टीको सहमहामन्त्रीको जिम्मेवारी पनि पाए । तर गगन थापालाई सभापति चुनेको विशेष महाधिवेशनबाट भने उनी केन्द्रीय सदस्य रहेनन् ।
संसदीय यात्रामा उनी २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक प्रणालीमार्फत संघीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यो उनको संसदीय राजनीतिमा पहिलो अनुभव थियो । उनले अर्थ समिति सदस्यको रुपमा काम गरे ।
२०७९ सालको निर्वाचनमा भने उनी बाँके क्षेत्रनम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भए । त्यतिबेला उनले २९ हजार ९७ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतिले २४ हजार ३०५ मत पाएका थिए । तेस्रो भएका रास्वपा उम्मेदवार देवेन्द्रनाथ शुक्लाले ७ हजार ४६७ मत पाएका थिए ।
यसपालि राठौर बाँके छाडेर बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धामा उत्रिएका छन् । उनी जित दोहोर्याउने दाउमा छन् । यसपालिको प्रतिनिधि सभा निर्वाचनमा पनि उनले भौतिक पूर्वाधारको विकासलाई मुख्य एजेण्डा बनाएका छन् ।
उनी राजनीतिक आन्दोलनका क्रममा उनले पटक–पटक गिरफ्तारी बेहोरेका छन् । विशेषगरी २०४६ सालको आन्दोलन र माघ १९ पछि तत्कालीन राजाको कदमविरुद्धको आन्दोलनमा उनी काठमाडौंमै पक्राउ परेका थिए । यी अनुभवले उनलाई संगठनमुखी र आन्दोलनबाट आएको राजनीतिज्ञका रूपमा स्थापित गरेको देखिन्छ ।
आफूलाई विकास अभियन्ताका रूपमा चिनाउन चाहने राठौर सामाजिक एकता र सद्भावलाई राजनीतिको मूल आधार मान्छन् । विद्यार्थी जीवनदेखि नै संगठन निर्माणमा सक्रिय उनी संसदीय राजनीतिमा संस्थागत अनुभव बोकेर आएका पात्रका रूपमा देखिन्छन् ।
किशोरसिंह राठौरको सार्वजनिक छवि एक विकासप्रेमी र अनुभवी नेताको रहे तापनि, उनका केही अभिव्यक्ति र घटनाहरू समय–समयमा सञ्चारमाध्यममा विवादको विषय बन्ने गरेका छन् ।
२०८२ साल कात्तिकमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा समाचार संकलनका लागि पुगेका कान्तिपुर टेलिभिजनका पत्रकार प्रकाश बममाथि उनले अभद्र व्यवहार र गालीगलौज गरेको भन्दै आलोचना भएको थियो । पार्टी बैठकका विषयमा सोधिएको प्रश्नलाई लिएर उनी आक्रोशमा आउँदा अन्य पत्रकारहरुले स्थिति सम्हाल्नुपरेको थियो ।
साथै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आफ्नै गृहजिल्ला बर्दियाको निर्वाचन परिणाम र अन्तर्घातको विषयलाई लिएर उनी र केन्द्रीय सदस्य गोपाल दहितबीच कडा आरोप–प्रत्यारोप चलेको थियो ।
राठोरल पार्टीभित्र अनुशासन हराउँदै गएको र केही नेताहरूले ‘अपराधी’को जस्तो व्यवहार भोग्नुपरेको भन्दै सार्वजनिक रूपमै आफ्नै पार्टीको नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि जनाउने गर्दछन् । कतिपयले उनको यो शैलीलाई स्पष्टवक्ताको रुपमा प्रशंसा गर्दछन् भने कतिपयले झोंकी स्वभावका ठान्छन् ।
बर्दिया निर्वाचन क्षेत्र नम्बर २ यसपटक केवल उम्मेदवारको प्रतिस्पर्धा मात्र होइन, राजनीतिक धार, सामाजिक पहिचान र विकासको एजेन्डाबीचको टकरावको केन्द्र बनेको छ । यहाँ परम्परागत दलका अनुभवी नेतादेखि नयाँ राजनीतिक शक्तिसम्म आमनेसामने छन् । मतदाताको निर्णयले क्षेत्रको राजनीतिक दिशा मात्र होइन, बदलिँदो जनमतको संकेत पनि दिनेछ ।
बर्दिया–२ थारु, दलित, पहाडी र मधेसी समुदायको मिश्रित जनसांख्यिक संरचना भएको क्षेत्र हो । विगतमा कांग्रेस, एमाले र पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीको प्रभाव देखिँदै आएको यो क्षेत्रमा पहिचान र अधिकारका मुद्दाले चुनावी बहसमा गहिरो स्थान लिएका छन् । भूमि, रोजगारी, कृषि, बाढी नियन्त्रण र आधारभूत पूर्वाधार यहाँका स्थायी सरोकार हुन् ।
यसपटकको निर्वाचनमा उनले दलित र महिला अधिकारका मुद्दामा स्थापित पहिचान बोकेकी एमाले उम्मेदवार विमला विक, माओवादी आन्दोलनको पृष्ठभूमिबाट आएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेश पन्थ, नयाँ राजनीतिक विकल्पको प्रतिनिधित्व गरेको रास्वपाका श्रीधर पोख्रेल लगायतसँग प्रतिस्पर्धा गर्नु परेको छ ।
यसैगरी राजावादी र परम्परागत राजनीतिक धारको प्रतिनिधित्व गर्ने राप्रपाका सुशील चौधरी, आदिवासी थारु समुदायको पहिचान र अधिकारको मुद्दा बोकेको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार खुशीराम थारु लगायतसँग पनि मत बाँडिने भएकाले प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । किनभने यहाँ थारु मतदाताहरु उल्लेख्य छन् ।
बर्दिया–२ मा उम्मेदवार धेरै र एजेन्डा बहुआयामिक भएकाले मत विभाजनको सम्भावना उच्च छ । कांग्रेस–एमाले–माओवादीबीच परम्परागत मत बाँडिँदा नागरिक उन्मुक्ति पार्टी वा नयाँ दलले फाइदा लिन सक्ने विश्लेषण पनि कतिपयले गर्ने गरेका छन् ।
बर्दिया–२ को चुनाव व्यक्तिगत अनुहारभन्दा बढी राजनीतिक सन्देशको परीक्षण हो । अनुभव, पहिचान र परिवर्तनका एजेन्डाबीच मतदाताले कुन विकल्प रोज्छन् भन्ने कुराले यहाँको परिणाम तय गर्नेछ । यो निर्वाचनले बर्दियाको मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा मतदाताको मनोविज्ञान बुझ्ने एउटा संकेत दिने सम्भावना छ ।
Battleground Analysis
अनुकूलता
- २०७९ मा बाँके–३ बाट प्रत्यक्ष निर्वाचित भइसकेका कारण उनी परीक्षण भइसकेका उम्मेदवार हुन्। समानुपातिक र प्रत्यक्ष दुवै अनुभवले उनलाई संसदीय र चुनावी दुवै अभ्यासमा परिपक्व देखाउँछ।
- नेविसंघदेखि केन्द्रीय सदस्यसम्मको लामो यात्रा र पार्टीभित्रको सक्रियता उनको बलियो आधार हो। बर्दिया–२ मा कांग्रेसको परम्परागत मताधार अझै प्रभावशाली मानिन्छ, जसले उनलाई सुरुवाती आधार दिन सक्छ।
- भौतिक पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाउँदै आएका कारण सडक, सिँचाइ, बाढी नियन्त्रण जस्ता स्थानीय मुद्दामा उनी स्पष्ट सन्देश दिन सक्छन्। विकासको भाष्य ग्रामीण मतदातामा प्रभावकारी हुन सक्छ।
प्रतिकूलता
- यसअघि बाँकेबाट निर्वाचित भएका राठौर यसपटक बर्दिया–२ मा छन्। नयाँ क्षेत्रमा व्यक्तिगत मताधार कति मजबुत छ भन्ने प्रश्न चुनावी रूपमा संवेदनशील बन्न सक्छ।
- पत्रकारसँगको विवाद वा पार्टीभित्रको आरोप–प्रत्यारोपले उनको छविमा मिश्रित प्रभाव पारेको छ। स्पष्टवक्ता भन्ने धारणा केहीका लागि सकारात्मक भए पनि अरूका लागि अस्थिर स्वभावको संकेत हुन सक्छ।
- थारु समुदायको उल्लेख्य उपस्थिति, नागरिक उन्मुक्ति पार्टीको प्रभाव, साथै एमाले, माओवादी र रास्वपाको उपस्थिति मिलेर मत विभाजनको अवस्था बनाउन सक्छ। विशेषगरी पहिचान र अधिकारको मुद्दा बलियो बनेमा परम्परागत दललाई चुनौती हुन सक्छ।
किशोरसिंह राठोरको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?



