प्रत्यक्ष अनुमोदनको प्रयास
विमला विक नेपाली संसदीय राजनीतिमा दलित र महिलाका सवाललाई निरन्तर उठाइरहेकी एक परिचित अनुहार हुन् । सामाजिक न्याय र समानताको पक्षमा खुलेर बोल्ने उनको राजनीतिक यात्रा सहज बाटो हुँदै आएको छैन । विद्यार्थी राजनीतिबाट सुरु भएको यो यात्रा आन्दोलन, गिरफ्तारी र निरन्तर संघर्ष हुँदै संसदसम्म आइपुगेको हो ।
विमला विकको जन्म २०४२ पुस ४ गते बर्दिया जिल्लामा भएको हो । उनका बुवा स्व. मंगले नेपाली र आमा नरपता विक हुन् । बर्दियाको मधुवन नगरपालिका श्रीनगरकी उनी ग्रामीण परिवेशमा हुर्किएकी हुन् । विकले सामाजिक विभेद र असमानतालाई नजिकबाट देख्दै बुझ्दै आएकी छन्, जसले उनको राजनीतिक चेतना निर्माणमा गहिरो प्रभाव पारेको देखिन्छ ।
शिक्षाका हिसाबले उनी कानुन र राजनीतिशास्त्र दुवै विषयमा दक्ष छिन् । कानुनमा स्नातक (एलएलबी) र राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) अध्ययन गरेकी उनले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक राजनीतिसँग जोड्ने प्रयास गर्दै आएको बताउँछिन् ।
उनको राजनीतिक सक्रियता विद्यार्थी जीवनबाटै सुरु भएको थियो । उनले २०५६ देखि २०५९ सम्म अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष हुँदै जिल्ला कमिटी, बर्दियामा सक्रिय भूमिका निर्वाह गरिन् । यही कालखण्डले उनलाई संगठन, आन्दोलन र नेतृत्वको अभ्यास गरायो । २०६४ सालदेखि नेकपा एमाले जिल्ला कमिटी सदस्यका रूपमा सक्रिय रहँदै आएकी उनी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सचिवालय सदस्य छन् ।
राजनीतिक यात्राका क्रममा उनी विभिन्न आन्दोलनमा सहभागी भइन् । जनआन्दोलनदेखि महिला अधिकारका आन्दोलनसम्म उनले सडक र संगठन दुवै मोर्चामा काम गरिन् । यसक्रममा उनी पटक–पटक गिरफ्तार पनि भइन्, तर ती अनुभवले उनको राजनीतिक प्रतिबद्धता अझै मजबुत बनाएको देखिन्छ ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट समानुपातिक प्रणालीमार्फत सांसद निर्वाचित भइन् । संसद प्रवेशसँगै उनले प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा रहेर काम गरिन् । कानुनको औपचारिक शिक्षा भएकाले विधेयक अध्ययन, छलफल र कानुनी बहसमा उनको सक्रियता रह्यो ।
उनको विशेष रुचि कानुन र विकाससँग सम्बन्धित विषयमा केन्द्रित छ । विशेषगरी दलित समुदाय र महिलाको अधिकार सुनिश्चित गर्ने कानुनी र नीतिगत पहलमा निरन्तर आवाज उठाउँदै आएको उनी बताउँछिन् । संसदभित्रको उनको उपस्थिति केवल प्रतिनिधित्वमा सीमित छैन, बरु सामाजिक न्यायका मुद्दालाई संस्थागत रूपमा अगाडि बढाउने प्रयासका रूपमा देखिन्छ ।
संसदीय राजनीतिमा प्रवेश गरेपछि पनि आफूलाई सामाजिक अभियन्ताकै रूपमा परिभाषित गर्ने विकको धारणा स्पष्ट छ—राजनीति परिवर्तनको औजार हो र त्यो परिवर्तन सबैभन्दा पछाडि पारिएका समुदायसम्म पुग्नुपर्छ । यही विश्वास उनको राजनीतिक यात्राको केन्द्रमा देखिन्छ ।
२०७४ सालमा समानुपातिक प्रणालीबाट संसद पुगेकी उनी यसपटक बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्ष रुपमा जनताबाट अनुमोदन हुने प्रयासमा छिन् ।
उनीसँगै यस क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता किशोरसिंह राठौर, नेपाली कम्युनिस्ट पार्टीका सुरेश पन्थ, रास्वपाका श्रीधर पोख्रेल, राप्रपाका सुशील चौधरी, नागरिक उन्मुक्ति पार्टीका खुशीराम थारु लगायत पनि प्रतिस्पर्धामा छन् ।
Battleground Analysis
अनुकूलता
- पहिचान र मुद्दाको स्पष्टता
- संसदीय अनुभव र कानुनी पृष्ठभूमि
- मतदातासँग भावनात्मक सम्बन्ध जोड्ने संघर्षशील जीवनकथा
प्रतिकूलता
- बदलिँदो राजनीतिक परिवेशमा नयाँ अनुहारको खोजी
- सामाजिक न्याय र अधिकारका मुद्दा मुख्य शक्ति भए पनि स्थानीय पूर्वाधार र प्रत्यक्ष विकासप्रति भाेका मतदाता
- कडा र बहुपक्षीय प्रतिस्पर्धा
बिमला वि.क.को प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

