Home Candidate सुरेश पन्थ

झिनो हारको घाउ मेटाउने अवसर

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
सुरेश पन्थ
बर्दिया - २ उम्मेदवार

सुरेश पन्थ

पुरुष , ४९ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

युद्धकालीन संघर्षबाट आएको साविक माओवादीका नेता सुरेश पन्थ बर्दिया क्षेत्र नम्बर २ मा दोस्रोपटक प्रतिनिधि सभा निर्वाचनको प्रतिस्पर्धामा छन् ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ निवासी ४९ वर्षीय पन्थले २०७९ सालको निर्वाचनमा १३६ मतको झिनो अन्तरले हार व्यहोर्नु परेको थियो । स्वतन्त्र उम्मेदवार लालवीर चौधरी २६ हजार ५२० मत प्राप्त गरी विजयी हुँदा कांग्रेसको समेत समर्थन पाएका पन्थले २६ हजार ३८४ मत प्राप्त गरेका थिए । यसपटक विगतको हारलाई जितमा बदल्ने प्रयासमा छन् पन्थ ।

एसएलसीसम्म अध्ययन गरेका पन्थ लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय छन् र साविक माओवादी, एकीकृत समाजवादी लगायतका कम्युनिस्ट पार्टीहरुको एकीकरणबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार छन् ।

गत २०७९ को निर्वाचनमा झिनो मतान्तरको हारले के देखाउँछ भने सो क्षेत्रमा उनको व्यक्तिगत र पार्टीको पकड बलियो छ । त्यसैमा थारु बहुल क्षेत्र बर्दिया २ माओवादी जनयुद्धमा ठूलो योगदान र बलिदान दिएको क्षेत्रको रुपमा परिचित छ ।

उनलाई अहिले अझ सजिलो के छ भने साविक माओवादीसँगै एकीकृत समाजवादी र अन्य वामघटकहरु पनि एकताबद्ध छन् । एकता प्रक्रियामा आएका वामपन्थी मत विभाजित नभएको खण्डमा उनका लागि यो ठूलो शक्ति बन्न सक्छ ।

अर्कोतर्फ रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीको स्वामित्व उनकी पत्नी रन्जिताको पकडमा गएको छ र रन्जिताले साविक माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेकपामा पार्टीलाई समाहित गरेकी छन् । रेशमले भने नागरिक उन्मुक्ति पार्टी नेपाल नामको अर्को दल खोल्न बाध्य भएका छन् ।

व्यापार र समाजसेवामा सक्रिय पन्थ स्थानीय मुद्दामा स्पष्ट व्यक्तिको रुपमा परिचित छन् । २०५० सालदेखि २०६४ सालसम्म वैदेशिक रोजगारीको सिलसिलामा केन्या पुगेका उनी त्यहाँ पनि पार्टीकै काममा जोडिएको बताउँछन् । 

स्वदेश फर्किएपछि माओवादी कन्द्रीय कार्यालयमा काम गरेका उनी कोरोना महामारीका बेला गाउँ फर्किएर समाजिक सेवामा सक्रिय भएका थिए ।

उनले बर्दियाको मुख्य समस्याको रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्व (बाघ र हात्तीको आक्रमण), सिँचाइ र सुकुम्बासी समस्यालाई आफ्नो प्रमुख चुनावी एजेण्डा बनाएका छन्, जसले स्थानीय मतदातालाई प्रभावित पार्न सक्ने अनुमान छ ।

तर उनीसँग प्रतिकूलताहरु पनि छन् । जस्तै अघिल्लो चुनावमा कांग्रेससँग भएको गठबन्धन यसपटक उनीसँग छैन । कांग्रेसले पूर्वसहमहामन्त्री किशोरसिंह राठौरलाई उम्मेदवार बनाएको छ । मत बाँडिनु उनका लागि सबैभन्दा ठूलो प्रतिकूल स्थिति हो ।

२०७९ सालको निर्वाचनमा विजयी रेशम चौधरीका बुवा लालवीर चौधरी यसपटक प्रतिस्पर्धामा छैनन् । यसपटक खुसीराम चौधरी उम्मेदवार छन् । खुसीराम अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीको समेत साझा उम्मेदवार हुन् । थारु बहुल क्षेत्रमा थारु समुदायकै उम्मेदवार हुनु पन्थका लागि ठूलो चुनौती बन्नसक्ने अनुमान गर्न सकिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य नयाँ दलहरूको उपस्थितिले परम्परागत मतहरू काटिने सम्भावना छ । खासगरी युवा र सहरी क्षेत्रका मतदाताहरू नयाँ विकल्पतर्फ आकर्षित हुँदा पन्थको मत सुरक्षित गर्न कठिन नहोला भन्न सकिँदैन ।

त्यसैले अघिल्लो पटकको झिनो हारको घाउ मेटाउन पन्थले यसपटक आफ्नै संगठनलाई पूर्णरूपमा एकताबद्ध राख्नुपर्ने चुनौती छ ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • नेकपामा रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी समाहित हुनु
  • माओवादी विरासत क्षेत्रमा माओवादीकै उम्मेदवार हुनु
  • मानव-वन्यजन्तु द्वन्द्व समाधान, सिँचाइ र सुकुम्बासी समस्या समाधानमा भूमिका

प्रतिकूलता

  • अघिल्लो पटक पाएको कांग्रेसको मत यसपटक विभाजित
  • जातीय मत संरक्षणको चुनौती
  • नयाँ दल र युवा मतदाताको आकर्षण

सुरेश पन्थको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित