भ्रष्टाचार शून्य बनाउने र स्वरोजगारी सिर्जना गर्ने जस्ता उनका मुद्दाहरूले पुराना दल र तिनका नेताहरूबाट असन्तुष्ट रहेका तटस्थ मतदातालाई आकर्षित गर्न सक्छन्।
०००
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को स्थापनाकालदेखि नै भूमिका निभाएका सुदूरपश्चिम प्रदेश सभापति इञ्जिनियर प्रकाश विष्ट कैलाली–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहन्थे । सुदूरपश्चिम प्रदेशमा संगठन विस्तारमा भूमिका खेलेका विष्टलाई रास्वपाले टिकट दिएन ।
सभापति रवि लामिछानेको रोजाइमा कोमल ज्ञवाली परिन् । लामिछानेले ज्ञवालीलाई टिकट दिएपछि टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाका पार्टी प्रमुखहरूले तत्काल सच्याएर प्रदेश सभापति विष्टलाई उम्मेदवार बनाउन माग गरे ।
संगठन निर्माणमा कुनै भूमिका नखेलेको र नागरिक उन्मुक्ति पार्टी(नाउपा) बाट पार्टी प्रवेश गरेको केही दिनमै ज्ञवालीलाई टिकट दिएकोमा रास्वपा नेता कार्यकर्ता आक्रोशित थिए । तर, पार्टी केन्द्रले उनीहरूको माग सम्बोधन गरेन । बरु कैलाली–१ मा ज्ञवालीलाई नै निरन्तरता दिँदै उम्मेदवारी दर्ता गरायो । तिनै ज्ञवाली अहिले चुनावी अभियानमा होमिएकी छन् ।
२०३५ मंसिर ४ गते टीकापुर नगरपालिका–२, सितापुरमा जन्मिएकी ज्ञवाली राजनीतिमा नयाँ अनुहार हुन् । बुवा जानकी बिक्रम ज्ञवाली र आमा मुक्ता ज्ञवालीको कोखबाट जन्मिएकी उनले प्रारम्भिक शिक्षा टीकापुरकै करुणा स्कुलबाट लिइन् ।
काठमाडौंको सीसु विद्याश्रमबाट एसएलसी उत्तीर्ण गरेकी उनले नेपाल कर्मश क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक अध्ययन पूरा गरिन् । व्यवसाय र व्यवस्थापन क्षेत्रमा रुची राख्ने उनी विगत पाँच वर्षदेखि काठमाडौं र कैलालीमा कृषियन्त्र उपकरण तथा बीउबीजनको व्यवसाय गरिरहेकी छन् ।
नागरिक उन्मुक्ति पार्टी(नाउपा) को संस्थापक केन्द्रीय कोषाध्यक्षबाट उनले राजनीति सुरु गरेकी थिइन् । त्यसअघि राजनीतिक रूपमा कुनै पनि पार्टीमा आफू आवद्ध नरहेको ज्ञवाली बताउँछिन् ।
नेता लक्ष्मण थारु लगायतसँगै रास्वपा प्रवेश गरेकी ज्ञवाली कैलाली–१ बाट पहिलो प्रयासमै संसदीय यात्रा थाल्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएकी छन् । उनी आफ्नो जित सुनिश्चित जस्तै भएको बताउँछिन् । पार्टीमा टिकट वितरणका बेला देखिएको समस्यासमेत हल भइसकेको उनको दाबी छ ।
अहिले मतदाता रिझाउन घरदैलो गरिरहेकी ज्ञवालीले भ्रष्टाचार शून्य बनाउने प्रतिबद्धता जनाइरहेकी छन् । कैलाली–१ को कृषि र पर्यटनमा आधारित विकास, स्वरोजगारी सिर्जना र युवालाई क्षेत्रमै रोक्ने योजनालाई पनि एजेन्डा बनाएकी छन् ।
थारु बाहुल क्षेत्र भएकाले सांस्कृतिक पर्यटन, कृषि प्रशोधन उद्योग र स्थानीय उद्यम प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्न सकिने उनको धारणा रहेको छ । आफ्नो मुख्य प्रतिस्पर्धी उम्मेदवार कोही नभएको बताउने ज्ञवालीले सबै उम्मेदवारसँग प्रतिस्पर्धा हुने बताएकी छन् ।