Home Candidate मिनाक्षी ठाकुर

पिता महन्थको विरासत थाम्ने प्रयास

http://जनता%20समाजवादी%20पार्टी,%20नेपाल
मिनाक्षी ठाकुर
महोत्तरी - ३ उम्मेदवार

मिनाक्षी ठाकुर

महिला , ४१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
३९४६ मत
Profile
Profile

डा. मिनाक्षी ठाकुरका लागि यो चुनावी यात्रा सहज छैन। कारण स्पष्ट छ— उनीमाथि पार्टीभित्रैबाट ‘वंशवाद’ को कडा प्रहार भइरहेको छ। मधेस आन्दोलन र संगठन निर्माणमा दशकौँ पसिना बगाएका पुराना नेताहरूलाई पन्छाएर आफ्नै छोरीलाई टिकट दिलाइएको भन्दै जसपाभित्र प्रश्न पनि उठेको छ।

४१ वर्षीया डा. मिनाक्षी ठाकुर पेसाले चिकित्सक हुन्। सर्लाहीको मलंगवा नगरपालिका–नयाँबस्तीमा जन्मिएकी उनले लामो समय काठमाडौंका विभिन्न प्रतिष्ठित अस्पताल र क्लिनिकहरूमा स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा सेवा पुर्‍याइन्।

स्वास्थ्य क्षेत्रको व्यावसायिक पहिचान बोकेकी उनी अहिले महोत्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छिन्।

मिनाक्षीको राजनीतिक यात्राको मूल जग उनका पिता महन्थ ठाकुर हुन्। झण्डै पाँच दशकदेखि नेपाली राजनीति र मधेस आन्दोलनको केन्द्रमा रहेका महन्थ ठाकुर मधेसका सम्मानित, निष्ठावान् र अनुभवी नेता मानिन्छन्।

नेपाली कांग्रेसको केन्द्रीय राजनीतिबाट विद्रोह गरी मधेस आन्दोलनको नेतृत्व सम्हाल्न पुगेका ठाकुर हाल जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक हुन्।

महोत्तरी–३ महन्थ ठाकुरको राजनीतिक ‘अभेद्य गढ’ मानिँदै आएको क्षेत्र हो। यही क्षेत्रबाट उनले २०७४ र २०७९ का दुवै प्रतिनिधिसभा निर्वाचनमा भारी मतान्तरसहित जित हासिल गर्दै मधेसको राजनीतिक बिरासत जोगाएका थिए।

तर यसपटकको समीकरण अलि भिन्न छ। ८० वर्ष नाघिसकेका महन्थ ठाकुर हालै राष्ट्रिय सभा सदस्य निर्वाचित भई माथिल्लो सदनतर्फ लागेपछि उनले आफ्नो रिक्त क्षेत्रमा छोरी मिनाक्षीलाई उत्तराधिकारीका रूपमा अघि सारेका हुन्।

वर्षौँदेखि बाबुले सिञ्चित गरेको राजनीतिक धरातल जोगाउनु र त्यसलाई नयाँ पुस्ताको गतिशीलतासँग जोड्नु मिनाक्षीका लागि मुख्य चुनौती बनेको छ।

यद्यपि, उनी राजनीतिमा बिल्कुलै नयाँ अनुहार भने होइनन्। यसअघि नै उनी तराई–मधेस लोकतान्त्रिक पार्टी र पछि जसपा नेपालको केन्द्रीय सदस्य भइसकेकी छन्।

तर, त्यसले पनि उनलाई ‘वंशवाद’को आरोपबाट जोगाउन सकेको छैन। पार्टीभित्रकै असन्तुष्ट धारले उनलाई निरन्तर प्रश्नको घेरामा राखिरहेको छ।

यही असन्तुष्टिको परिणामस्वरूप जसपाका प्रभावशाली नेता तथा पूर्वमन्त्री हरिनारायण यादवले मिनाक्षीविरुद्ध बागी उम्मेदवारी दिएका छन्।

२०७९ को चुनावमा जसपाबाटै महन्थ ठाकुरका मुख्य प्रतिस्पर्धी बनेका यादवको यो विद्रोहले मिनाक्षीको सुरक्षित मानिएको किल्लामा वैचारिक र सांगठनिक दरार उत्पन्न गरेको छ।

यादवलाई पार्टीले निष्कासन गरे पनि स्थानीय तहमा उनको प्रभाव अझै बलियो देखिन्छ। कार्यकर्ताको एउटा ठूलो पंक्ति उनीसँगै उभिएको छ, जसले मिनाक्षीलाई ‘प्यारासुट उम्मेदवार’ भन्दै आलोचना गरिरहेको छ।

तर मिनाक्षी भने आफूलाई केवल ‘महन्थकी छोरी’को रूपमा चिनिनु अन्यायपूर्ण भएको तर्क गर्छिन्। उनी आफ्नो परिचय शिक्षित नागरिक, पेशेवर चिकित्सक र यहाँका जनताको हक–अधिकारका लागि उभिएकी उम्मेदवारका रूपमा स्थापित गर्न चाहन्छिन्। बाबुले सुरु गरेका मधेसी अधिकारका अधुरा मुद्दाहरूलाई संसदमा तार्किक निष्कर्षमा पुर्‍याउने उनको दाबी छ।

यसपटक महोत्तरी–३ मा प्रतिस्पर्धा त्रिपक्षीय जस्तो देखिन्छ। मिनाक्षीले बाबुको राजनीतिक बिरासत, ‘ढल्केको छाता’ चुनाव चिन्ह र आफ्नो व्यावसायिक तथा महिला नेतृत्वको छविलाई मुख्य चुनावी एजेन्डा बनाएकी छन्।

आफ्नै पार्टीभित्रको विद्रोह शान्त पार्दै मतदातामाझ आफूलाई योग्य सावित गर्नु उनको सबैभन्दा ठूलो चुनौती हो। यदि महन्थ ठाकुरको आधा शताब्दी लामो त्यागले बनेको यो किल्लामा मिनाक्षीले जित दर्ता गर्न सकिन् भने, उनी मधेस राजनीतिमा नयाँ पुस्ताकी प्रभावशाली महिला नेतृका रूपमा उदाउनेछिन्।

Battleground Analysis

अनुकूलता

  • महन्थ ठाकुरको दीर्घ राजनीतिक प्रभाव र मताधार
  • शिक्षित, पेशेवर र महिला नेतृत्वको छवि
  • चिकित्सक पृष्ठभूमिले फरक र भरोसायोग्य पहिचान

प्रतिकूलता

  • वंशवादको गम्भीर आरोप
  • टिकट प्रक्रियामै नैतिक प्रश्न उठ्नु
  • पार्टीभित्रकै असन्तुष्टिले मत विभाजनको जोखिम
शिक्षा
स्त्री तथा प्रसूति रोग विशेषज्ञ
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्यमा पहिलोपटक उम्मेदवार
हालको दल
जनता समाजवादी पार्टी, नेपाल

मिनाक्षी ठाकुरको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित