१८ घण्टे लोडसेडिङ अन्त्य गरेर "अध्यारोबाट उज्यालो" तर्फ देशलाई डोर्याएको जस उनलाई जान्छ। यो सफलताले उनलाई आम नागरिकमाझ अत्यन्तै लोकप्रिय र भरोसायोग्य 'सेलेब्रिटी' नेताका रूपमा स्थापित गरेको छ।
०००
काठमाडौं– ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । तीन दशकभन्दा बढी समय विद्युत् क्षेत्रमा बिताएका घिसिङ अहिले सक्रिय राजनीतिमा होमिएका छन् ।
रामेछाप जिल्लाको दुर्गम बेथान गाउँमा २०२७ मंसिर १० गते किसान परिवारमा जन्मिएका हुन्, उनी । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका घिसिङ हाल काठमाडौं महानगरपालिका बौद्धमा बसोबास गर्छन् । ‘२०औँ वर्ष भयो यही क्षेत्रमा बसोबास गरेको,’ उनले भने ।
लोडसेडिङ अन्त्य भएपछि उनी चर्चामा आएका हुन् । उनी २०५१ सालमा नेपाल विद्युत् प्राधिकरणमा इन्जिनियरका रूपमा सेवा प्रवेश गरेका हुन् । प्राधिकरणमा ३० वर्षभन्दा बढी समय काम गरेका उनी दुई कार्यकाल कार्यकारी निर्देशक बने । चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध निर्देशकका रूपमा सफल भएका थिए, उनी ।
दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्दै उनले ‘उज्यालो नेपाल’ अभियानको नेतृत्व गरे । घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्याए ।
२३ र २४ भदौको जेनजी आन्दोलनले तत्कालीन सत्ता ढालेपछि सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा नागरिक सरकार गठन भयो । ६ महिनाभित्र निर्वाचन गराउने र प्रतिनिधिसभा सदस्य निर्वाचन गराउने मुख्य म्यान्डेट दिएर राष्ट्रपतिले कार्की नेतृत्वको सरकार गठन गरेका थिए ।
प्राविधिक दक्षता, व्यवस्थापकीय अनुभव र परिणाम देखाएर विश्वास जितेका घिसिङका लागि अब राजनीतिको अर्को परीक्षा बनेको छ ।
प्रधानमन्त्री कार्कीले ३० भदौमा सो सरकारको पहिलो मन्त्रिपरिषद् विस्तार गर्दा कुलमानलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइन् । उनलाई सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
सो सरकारका कुलमानले ११५ दिन बिताए । राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीच एकीकरणपछि सो पार्टीमा उनलाई पनि समेट्ने प्रयास भएको थियो । पटकपटकको वार्तामा सहमति नजुटेपछि कुलमान उज्यालो नेपाल पार्टीबाटै अघि बढ्ने तयारीमा लागेका थिए ।
प्रतिनिधिसभातर्फको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन साँझ भने रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग कुलमानको निर्णायक छलफल भयो । सोही छलफलमा सहमति जुटेपछि कुलमान रास्वपाका उपसभापति बने र पार्टीलाई रास्वपामा समाहित गरे ।
निर्वाचन गराउन बनेको सरकारमा रहेर चुनावमा सहभागी हुने तयारीमा लागेको भन्दै आलोचना भएपछि उनले २३ पुमा मन्त्रीबाट राजीनामा दिए । र, चुनावी अभियानमा लागे । तर, रास्वपासँगको पार्टी एकता टिक्न सकेन । १२ दिनमै उनी रास्वपाबाट बाहिरिए । त्यसपछि उनी उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेर निर्वाचनको तयारीमा लागे ।
विद्युत प्राधिकरणलाई नाफामा लैजानु र चिलिमे जलविद्युतलाई सफल बनाउनुले उनको व्यवस्थापकीय कौशल पुष्टि गर्छ। "कुरा भन्दा काम" मा विश्वास गर्ने मतदाताका लागि उनी सबैभन्दा उपयुक्त उम्मेदवार हुन्।
रास्वपासँगको एकताको कारण उनको पार्टीले समानुपातिक सांसदका लागि बन्दसूची बुझाउन भने पाएन । प्रशासनिक र प्राविधिक पृष्ठभूमिबाट आएका घिसिङ राजनीतिमा पनि परिणाममुखी नेतृत्व दिन सकिने दाबी गर्छन् ।
‘मेरो उम्मेदवारी सुशासन र सामाजिक न्यायको लागि हो । देशलाई समृद्ध बनाउन हो,’ उनी भन्छन्, ‘क्षेत्र नम्बर ३ लाई मैले बुझेको छु । यहाँको विकास गर्न मैले उम्मेदवारी दिएको हुँ।’
कार्यकारी निर्देशक हुँदा तत्कालीन सरकारसँग उनको विवाद चुलिएको थियो । उनलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाइएको थियो ।
प्राविधिक दक्षता, व्यवस्थापकीय अनुभव र परिणाम देखाएर विश्वास जितेका घिसिङका लागि अब राजनीतिको अर्को परीक्षा बनेको छ ।
लोडसेडिङ अन्त्य गरेर आम नागरिकको जीवन उज्यालो बनाएका उनले राजनीतिमार्फत शासन प्रणाली पनि उज्यालो बनाउने सपना देखेका छन् । तर यसका लागि चुनाव जित्ने चुनौती छ । यो क्षेत्रमा २४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
नागरिक सरकारमा ऊर्जा, शहरी विकास र भौतिक पूर्वाधार जस्ता शक्तिशाली मन्त्रालयहरू सम्हालेको हुनाले उनीसँग राज्य सञ्चालनको छोटो तर महत्वपूर्ण अनुभव छ, जसले उनलाई केवल प्राविधिकबाट राजनीतिक व्यक्तित्वमा रूपान्तरण हुन मद्दत गरेको छ।
२०७९ को चुनावमा काठमाडौं–३ मा कांग्रेसकै सन्तोष चालिसेले जित हात पारेका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए ।
त्यसैगरी, एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले २ हजार ५११ मत ल्याएका थिए । क्षेत्र नम्बर ३ मा ४८ हजार ४८९ जना मतदाता छन् ।