Home Candidate पूर्ण बहादुर चन्द

समानुपातिकबाट भएन, अब प्रत्यक्षको बाटोमा

http://राष्ट्रिय%20प्रजातन्त्र%20पार्टी
पूर्ण बहादुर चन्द
कञ्चनपुर - ३ उम्मेदवार

पूर्ण बहादुर चन्द

पुरुष , ५१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

२२ वैशाख २०३१ मा बैतडीको सुर्नया–१ मा जन्मिएका पूर्णबहादुर चन्द हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का स्थायी बासिन्दा हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी कञ्चनपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार हुन्।

प्रजातान्त्रिक विद्यार्थी सङ्घमा आबद्ध भएर २०४८ सालदेखि उनी सक्रिय राजनीतिमा संलग्न छन्। चन्द पूर्वप्रधानपञ्च जयबहादुर चन्दका छोरा हुन्। उनका बुवा तत्कालीन हटैराज पञ्चायत (बैतडी) का प्रधानपञ्च थिए। बुवाकै राजनीतिक पृष्ठभूमि र प्रेरणाले चन्द राजनीतितर्फ आकर्षित भएका हुन्।

बैतडीस्थित वीरेन्द्र व्यावसायिक विद्यालयबाट २०४७ सालमा एसएलसी उत्तीर्ण गरेका चन्द उच्च शिक्षाका लागि काठमाडौँ पुगे। सोही क्रममा उनी विद्यार्थी राजनीतिमा सक्रिय बने। पछि अध्ययन छोडेर भारतको दिल्ली पुगेका चन्दले उतै प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरे।

राप्रपाको स्थापनाकालदेखि नै सक्रिय रहेका चन्द पार्टीका प्रखर वक्ताका रूपमा चिनिन्छन्। उनी २०७० सालमा राप्रपा कञ्चनपुरको जिल्ला उपाध्यक्ष बने भने २०७४ सालमा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले। सङ्गठन विस्तार र पार्टीलाई मजबुत बनाउने अभियानमा सक्रिय रहँदै आएका चन्द २०७८ सालमा काठमाडौँमा सम्पन्न राप्रपाको केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सह–प्रवक्तामा चयन भए।

उनको संसदीय आकांक्षा अघिल्लो निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार हुँदा पूरा हुन सकेन। यसपटक भने उनी प्रत्यक्ष सङ्घीय निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्।

राजनीतिसँगै व्यावसायिक क्षेत्रमा पनि सक्रिय चन्द भारतबाट कोइला, बिटुमिनलगायत सामग्री आयात गरेर व्यवसाय गर्दै आएका छन्। उनी ‘सुरज इँटा उद्योग’ का सञ्चालक पनि हुन्।

नेता चन्द सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनले महेन्द्रनगर लायन्स क्लब, महाकाली अञ्चल बाल अनाथालय, जिल्ला सुटिङ सङ्घ कञ्चनपुरलगायत विभिन्न सामाजिक संस्थाको नेतृत्व गरिसकेका छन्।

राजनीतिक एजेन्डाका रूपमा चन्द पार्टीले उठाएको संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्रलगायत विषयमा प्रतिबद्ध देखिन्छन्। आसन्न चुनावमा निर्वाचित भए कञ्चनपुर–३ लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाउने उनको लक्ष्य छ।

कञ्चनपुर–३ का लागि नेपाली कांग्रेसका नेता रमेश लेखक साविक विजेता हुन्। तर, यसपालि उनलाई कांग्रेसले टिकट दिएको छैन। यहाँ कांग्रेसले पूर्वजिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ। नेकपा एमालेबाट डा. दीपकप्रकाश भट्ट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट मानबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ज्ञानेन्द्र महता यस क्षेत्रका उम्मेदवार हुन्। यिनै उम्मेदवारहरूसँग राप्रपाका नेता चन्द चुनावी प्रतिस्पर्धामा छन्।

गत निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता लेखक ३० हजार ५७५ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। निकटतम प्रतिद्वन्द्वी निरुदेवी पाल (एमाले) ले १८ हजार ४८५ मत ल्याएकी थिइन्। उक्त निर्वाचनमा राप्रपाले एमालेलाई सघाएको थियो।

कञ्चनपुरका दुई नगरपालिका भीमदत्त र दोधारा–चाँदनीसँगै वेदकोट नगरपालिकाको वडा नम्बर ८ को भूगोल यस क्षेत्रमा पर्दछ। स्थानीय तह निर्वाचन–२०७९ मा पाएको मतको आधारमा यो क्षेत्रमा राप्रपाको मत झन्डै साढे आठ हजार देखिन्छ। उक्त निर्वाचनमा राप्रपाबाट भीमदत्त नगरपालिकामा गजेन्द्रबहादुर चन्दले ७ हजार १०५ र दोधारा–चाँदनी नगरपालिकामा भगिरथ भट्टले ८८२ मत ल्याएका थिए। 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • निष्ठावान् र ‘टेस्टेड’ नेतृत्व
  • व्यावसायिक र सामाजिक सम्बन्ध
  • कांग्रेसको ‘हेभीवेट’ अनुपस्थित 

प्रतिकूलता

  • विशाल मतान्तरको चुनौती
  • बलियो प्रतिस्पर्धा
  • सङ्गठनात्मक सीमितता

पूर्ण बहादुर चन्दको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित