रमेश लेखक जस्तो राष्ट्रिय कदको नेताको सट्टामा उम्मेदवार बनेका बोहराले जिल्ला सभापति हुँदा कमाएको लोकप्रियतालाई कत्तिको भोटमा बदल्न सक्छन्, त्यसैले कञ्चनपुर–३ को नतिजा तय गर्नेछ।
०००
१२ जेठ २०२३ सालमा डडेलधुराको अमरगढी नगरपालिका–४, चमसालमा जन्मिएका हरिप्रसाद बोहरा कञ्चनपुरको वेदकोट नगरपालिका–७ का स्थायी बासिन्दा हुन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उनलाई नेपाली कांग्रेसले कञ्चनपुर–३ बाट उम्मेदवार बनाएको छ । यो उनको संघीय निर्वाचनका लागि पहिलो प्रतिस्पर्धा हो ।
डडेलधुराको घटाल निम्न माध्यमिक विद्यालयबाट उनले आधारभूत तहको शिक्षा हासिल गरेका हुन् । २०३९ सालमा महेन्द्र उच्च माध्यमिक विद्यालय, डडेलधुराबाट एसएलसी उत्तीर्ण गरेका उनले भारतको नैनतालबाट आईकम र नेपाल कमर्स क्याम्पस, मीनभवनबाट बीकमसम्मको अध्ययन पूरा गरे ।
विद्यार्थी जीवनदेखि नै राजनीतिक चेतना बोकेका बोहरा २०३६ सालमा नेविसंघको आन्दोलनमा सहभागी थिए । आन्दोलनका क्रममा उनी पक्राउ समेत परे ।
नेविसंघबाटै औपचारिक राजनीतिक यात्रा सुरु गरेका उनी २०४३ सालमा कञ्चनपुरमा बीपी स्मृति दिवस मनाउने क्रममा पुराना नेता कृष्णकुमार जोशी, देवराज बोहरा, बासुदेव भट्ट लगायतसँगै प्रहरी हिरासतमा परे । २०४६ सालको जनआन्दोलनमा समेत उनी सक्रिय सहभागी भए ।
बहुदल प्राप्तिपछि २०४९ सालमा उनले कांग्रेसको क्रियाशील सदस्यता लिए । कांग्रेसको नवौं जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भए ।
बोहरा पार्टीको ११औं जिल्ला अधिवेशनमा उपसभापतिमा निर्वाचित भए भने २०७२ सालमा सम्पन्न पार्टीको १३औँ जिल्ला अधिवेशनबाट जिल्ला सभापति बने ।
कांग्रेसको ११औं र १२औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बने । १३औँ महाधिवेशनमा पनि उनी महाधिवेशन प्रतिनिधि भए ।
सरल, मिलनसार र सहयोगी स्वभावका नेता बोहरा वेदकोटस्थित घटाल माध्यमिक विद्यालयको तीन कार्यकालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहे । उनैको नेतृत्वमा विद्यालयलाई बहुमुखी क्याम्पसका रूपमा विस्तार गरियो ।
साढे १२ हजारको अघिल्लो मतान्तरलाई सुरक्षित राख्नु नै उनको जितको ग्यारेन्टी हुनेछ।
घटाल बहुमुखी क्याम्पसको अध्यक्ष रहँदा उनी जिल्लामै पहिलो पटक भारतीय दूतावासको सहयोगमा कार्यक्रम भित्र्याएर विद्यालय भवन निर्माण गराउन सफल भए ।
५० को दशकमा महेन्द्रनगरमा होटल व्यवसायसमेत सञ्चालन गरेका बोहरा त्यसपछि पूर्णकालीन राजनीतिमा सक्रिय रहँदै आए ।
पूर्वगृहमन्त्री रमेश लेखकले टिकट नपाएपछि नेता बोहराले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारीको अवसर पाए ।
कञ्चनपुरलाई त्रिदेशीय नाकाको रूपमा विकास गर्ने, सुशासन कायम गर्ने र पछिल्लो विषम राजनीतिक परिस्थितिलाई सम्बोधन गर्न संविधान संशोधन उनको मुख्य एजेन्डा छ ।
कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिक पक्षमा उभिए । जेनजी आन्दोलनपछि भने उनी विशेष महाधिवेशन पक्षमा खुले ।
नवनिर्वाचित सभापति गगन थापाले पूर्वगृहमन्त्री लेखकलाई टिकट नदिएपछि उनका लागि संसदीय यात्राका लागि बाटो खुल्यो । सभापति थापाले उनलाई कञ्चनपुर–३ को टिकट दिएर जिल्ला पठाए ।
पूर्वसभापति शेरबहादुर देउवाको गढ डडेलधुरामा जन्मिएर कञ्चनपुरलाई आफ्नो राजनीतिक कर्मथलो बनाएका बोहराका लागि यो निर्वाचन संसदीय यात्राको पहिलो र निकै महत्त्वपूर्ण खुड्किलो हो।
यहाँ नेकपा एमालेबाट डा. दीपकप्रकाश भट्ट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मानबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ज्ञानेन्द्र महता र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पूर्णबहादुर चन्द उम्मेदवार छन् । यिनै उम्मेदवारहरूसँग कांग्रेस नेता बोहरा चुनावी प्रतिष्पर्धामा छन् ।
गत निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता लेखक ३० हजार ५७५ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी निरूदेवी पाल (एमाले) ले १८ हजार ४८५ मत ल्याएकी थिइन् । उक्त निर्वाचनमा राप्रपाले एमालेलाई सघाएको थियो ।
कञ्चनपुरका दुई नगरपालिका भीमदत्त र दोधारा–चाँदनीसँगै वेदकोट नगरपालिकाको वडा नम्बर ८ को भूगोल क्षेत्र नम्बर ३ मा पर्दछ । स्थानीय तह निर्वाचन–२०७९ मा पाएको मतको आधारमा यो क्षेत्रमा राप्रपाको मत झन्डै साढे आठ हजार देखिन्छ ।