Home Candidate दीपकप्रकाश भट्ट

नीति निर्माणमा अनुभवी

http://नेकपा%20एमाले
दीपकप्रकाश भट्ट
कञ्चनपुर - ३ उम्मेदवार

दीपकप्रकाश भट्ट

पुरुष , ५३ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
७५७५ मत
Profile Election History
Profile Election History

२०७४ मा जितेर २०७९ मा टिकट नपाएका भट्टले यसपटक एमालेको साख फर्काउने जिम्मेवारी पाएका छन्। 

०००

२०२९ साल साउन २७ गते बैतडीको दशरथचन्द नगरपालिका–१, शाहीलेकमा जन्मिएका डा. दीपकप्रकाश भट्ट कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा उनी नेकपा एमालेका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र–३ का उम्मेदवार हुन् ।

महादेव र नन्दादेवी भट्टका छोरा डा. भट्टले प्रारम्भिक शिक्षा दार्चुलाको मार्मा गाउँपालिकास्थित लटिनाथ माध्यमिक विद्यालयबाट प्राप्त गरेका थिए । २०४१ सालमा कञ्चनपुरको बैजनाथ माध्यमिक विद्यालयबाट आधारभूत तह पूरा गरेका उनले २०४४ सालमा एसएलसी उत्तीर्ण गरे ।

उच्च शिक्षाका लागि भारत गएका भट्टले पिथौरागढस्थित सरकारी इन्टर कलेजबाट इन्टरमिडिएट अध्ययन पूरा गरे । त्यसपछि पिथौरागढकै डिग्री कलेजबाट बीएस्सी अध्ययन गरेका उनले २०५१ सालमा एमएससी अध्ययन सम्पन्न गरे ।

२०५६ सालमा भारतको देहरादुनबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका भट्टले भारतकै प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू), नयाँदिल्लीबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि प्राप्त गरे ।

भट्टले राजनीति प्रवासबाटै शुरु गरेका हुन् । पञ्चायती शासन विरुद्धको आन्दोलन र प्रजातन्त्र प्राप्तिको संघर्षबाट प्रभावित भएर उनी आन्दोलनमा सक्रिय सहभागी भए ।

२०४५ सालमा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन (अभानेस्ववियु) को पिथौरागढ नगर कमिटीमा आबद्ध भए । २०४८ मा क्षेत्रीय समिति, २०५१ मा केन्द्रीय समिति हुँदै २०५७ सालमा केन्द्रीय अध्यक्ष निर्वाचित भए । उनले अभानेस्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारी दुई कार्यकाल निर्वाह गरे ।

डा. दीपकप्रकाश भट्टका लागि यो निर्वाचन "बौद्धिक नेतृत्वको पुनरागमन" को लडाइँ हो।

सोही अवधिमा पिथौरागढस्थित पार्टी नगर कमिटीको जिम्मेवारीमा रहेर संगठन निर्माणमा सक्रिय रहेका भट्ट २०५७ सालमा भारत प्रवास समन्वय कमिटी सदस्य बने ।
भट्टले २०६५ मा एमालेको महाकाली सम्पर्क कमिटी इन्चार्ज, केन्द्रीय सम्पर्क समन्वय कमिटी सदस्य तथा २०६७ सालमा पार्टीको केन्द्रीय अर्थ तथा योजना विभाग सदस्यको जिम्मेवारी सम्हाले ।

२०७२ सालमा पार्टीको केन्द्रीय विभाग सदस्य बनेका उनले २०७९ सालमा सोही कमिटीको सचिवको जिम्मेवारी पाए । २०८१ सालमा उनी एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यका रूपमा क्रियाशील रहे ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट निर्वाचित भएर भट्टले संसदीय यात्रा शुरु गरे । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यका रूपमा उनले काम गरे ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी उपसमितिको संयोजक तथा वाइडबडी र न्यारोबडी विमान खरिद प्रकरण छानबिन संसदीय उपसमितिको संयोजकको जिम्मेवारी पनि भट्टले सम्हाले ।

भट्टले ग्लोबल सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटी गभर्नेन्स (काठमाडौं–सिड्नी) को अध्यक्षका रूपमा पनि काम गरेका छन् । यसअघि उनी नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्सका निर्देशक थिए ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको नेतृत्वमा गठित उच्चस्तरीय परराष्ट्र नीति समीक्षा कार्यदलका सदस्य (सन् २०१७) तथा संघीय संरचनामा नेपाली सेना र नेपाल प्रहरी पुनर्संरचना सम्बन्धी उच्चस्तरीय कार्यदलका विशेषज्ञ सदस्य (२०१६) का रूपमा उनले नीतिगत योगदान दिएका छन् ।

उनको शालीन व्यक्तित्व र राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचानले कञ्चनपुर–३ का सचेत मतदातालाई प्रभावित गर्न सक्छ।

शैक्षिक क्षेत्रमा उनी सशस्त्र प्रहरी बल कमाण्ड एन्ड स्टाफ कलेज, नेपाली सेना उच्च कमाण्ड तथा व्यवस्थापन तालिम, नेपाली सेना कमाण्ड एन्ड स्टाफ कलेजमा भिजिटर प्राध्यापकका रूपमा अध्यापन गराउँदै आएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति तथा द्वन्द्व, शान्ति र विकास अध्ययन केन्द्रमा प्राध्यापक तथा विषय समितिका सदस्यका रूपमा उनी लामो समयदेखि संलग्न छन् ।

शान्ति प्रक्रियामा उनले माओवादी सेना समायोजन तथा पुनर्स्थापना सम्बन्धी विशेष समिति (सन् २०१०–२०१२) को सचिवालय सदस्यका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
लामो राजनीतिक अनुभव, उच्च शैक्षिक पृष्ठभूमि र नीतिगत स्पष्टता सहित शालीन तथा भद्र छविका भट्टलाई एमालेले कञ्चनपुर–३ बाट उम्मेदवार बनाएको छ ।

उनीसँग यो क्षेत्रमा नेपाली कांग्रेसले पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट मानबहादुर सुनार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र महता तथा राप्रपाबाट पूर्णबहादुर चन्द चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा कञ्चनपुर–३ बाट कांग्रेस नेता रमेश लेखक विजयी भएका थिए । उनले ३० हजार ५७५ मत पाएका थिए । लेखकका निकटतम प्रतिद्वन्द्वी एमाले नेतृ निरुदेवी पालले १८ हजार ४८५ मत ल्याएकी थिइन् ।

आगामी फागुनमा हुन गइरहेको निर्वाचनमा कांग्रेस र एमालेले कञ्चनपुर–३ मा साविक विजेतालाई टिकट दिएको छैन ।

Battleground Analysis

अनुकूलता

  • संसदीय र नीतिगत अनुभव
  • उच्च शैक्षिक योग्यता र अन्तर्राष्ट्रिय पहिचान
  • पार्टीमा निरन्तर भूमिका

प्रतिकूलता

  • अघिल्लो निर्वाचनमा पार्टी पराजित क्षेत्र
  • स्थानीय समस्याका कम जानकार
  • परम्परागत मत विभाजित हुने सम्भावना छ।
शिक्षा
विद्यावारिधि
संसदीय अनुभव
प्रतिनिधिसभा सदस्य (२०७४)
हालको दल
नेकपा एमाले

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
२०७४ कञ्चनपुर–३ रमेश लेखक २६१०६ २६३६४ २५८ विजयी

दीपकप्रकाश भट्टको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित