बचनबहादुर सिंहका लागि यो निर्वाचन "युवा जोस भर्सेस राजनीतिक अनुभव" को लडाइँ हो। गोली खाएर बाँचेको योद्धाका रूपमा उनले पाएको सहानुभूति र एमालेको बलियो संगठन उनको जितको मुख्य आधार हुन सक्छ।
०००
१५ जेठ २०३७ मा बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ मा जन्मिएका बचनबहादुर सिंह कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का स्थानीय हुन् । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिंह नेकपा एमालेका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका छन् ।
प्राथमिक शिक्षा कैलालीबाट हासिल गरेका सिंहले २०५४ सालमा बाजुराबाट एसएलसी उत्तीर्ण गरेका हुन् । महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका सिंहले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।
विद्यालय जीवनदेखि नै राजनीतिमा चासो राख्दै आएका सिंह २०५० सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आबद्ध भएका थिए । २०५५ सालमा सिद्धनाथ क्याम्पस इकाइ कमिटी सदस्य बनेका उनी २०५६ सालमा सोही इकाइ कमिटीको संयोजक बने ।
२०५७ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य बनेका सिंह त्यसपछि जिल्ला सचिव, उपाध्यक्ष हुँदै दुई कार्यकाल अनेरास्ववियु जिल्ला अध्यक्षको जिम्मेवारीमा रहे । साथै उनले अखिलको महाकाली कमिटी संयोजक तथा तत्कालीन सुदूरपश्चिम ब्युरो सचिवको जिम्मेवारीसमेत सम्हाले । २०६६ सालमा उनी अनेरास्ववियुको राष्ट्रिय कमिटी सदस्य बने ।
माधव ढुंगेल अध्यक्ष रहेका बेला अनेरास्ववियुको केन्द्रीय कमिटी सचिवको जिम्मेवारी सम्हालेका सिंह अखिलबाट विदा भएपछि युवा संघ नेपालको केन्द्रीय सचिव बने ।
पार्टी विभाजन हुँदा सिंहले राष्ट्रिय युवा संघको अध्यक्ष भएर संगठन पुनर्निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए । पार्टीको दशौँ महाधिवेशनपछि उनी नेकपा एमाले सुदूरपश्चिम प्रदेशको पार्टी सचिवालय सदस्य बने ।
प्रदेश सभाको गत निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार रहेका सिंह झिनो मतान्तरले तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार ओम विक्रम भाटसँग पराजित भएका थिए ।
हक्की र निडर स्वभावका प्रष्ट वक्ताका रूपमा चिनिने सिंह सामाजिक विकृति र विसंगतिविरुद्धको चेतनाले आफू राजनीतिमा लागेको बताउँछन् । उनी जनआन्दोलनदेखि राजतन्त्रविरुद्धका संघर्षमा सक्रिय रहँदै आएका नेता हुन् । तत्कालीन राजाशाहीको दमनविरुद्धको आन्दोलनमा सहभागी हुँदा उनी दर्जनौंपटक प्रहरीद्वारा गिरफ्तार भएका थिए ।
१६ वैशाख २०६२ मा कञ्चनपुरस्थित जनज्योति क्याम्पसमा अनेरास्ववियुको कार्यक्रम चलिरहेका बेला तत्कालीन शाही सेनाले चलाएको गोली लागेर सिंह गम्भीर घाइते भएका थिए । मृत ठानी सेनाले छाडेपछि पुनः जीवन पाएको स्मरण गर्दै उनले उक्त घटनाको पीडा अहिले पनि पूर्ण रूपमा निको नभएको बताउँछन् ।
यदि उनले एनपी साउदको 'हेभीवेट' छवि र रास्वपाको 'नयाँ लहर' लाई चिर्न सके भने कञ्चनपुर–२ ले यसपटक नयाँ र उर्जावान युवा जनप्रतिनिधि पाउने निश्चित छ।
२०६२–६३ सालको जनआन्दोलनका क्रममा उनी दुई पटक पक्राउ परेर जेल जीवन बिताउन बाध्य भए । तत्कालीन राजाशाहीले राज्यविरुद्धको अपराध र शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा जेल चलान गरेका सिंह उच्च अदालतको आदेशबाट रिहा भएका थिए ।
यसअघि सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षका लागि दाबेदार रहेका सिंह पार्टी नेतृत्वकै आग्रहमा पछि हटेका थिए । केन्द्रीय कमिटीमा मनोनयनको आश्वासन पाए पनि त्यो अवसर नपाएको उनको भनाइ छ । तथापि, उनी निरन्तर पार्टी र नेतृत्वको पक्षमा उभिँदै आएका सशक्त युवा नेताका रूपमा परिचित छन् ।
सिंहले आसन्न निर्वाचनका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै गुणस्तरीय तथा सबै नागरिकको पहुँचमा पुग्ने शिक्षा प्रणाली निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। स्वास्थ्य सेवालाई सुविधा होइन, प्रत्येक नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्ने उनको भनाइ छ।
युवालाई वैदेशिक पलायनको विकल्प खोज्न बाध्य बनाउने अवस्था अन्त्य गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने योजना उनले अघि सारेका छन्। किसानको पसिनालाई सम्मान गर्दै उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने नीति ल्याउने र कृषि पेशालाई सम्मानजनक बनाउने उनको प्रतिबद्धता छ।
विकासका योजना कागजमै सीमित नभई गाउँ–बस्तीमा प्रत्यक्ष देखिने गरी कार्यान्वयन गर्ने, जनताको दैनिकीसँग जोडिने पूर्वाधार निर्माणमा जोड दिने सिंहको भनाइ छ। उनले राजनीति भन्दा सुशासनलाई केन्द्रमा राखेर पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी, आरक्ष पीडित, मुक्त हलिया, कमैया तथा कम्लहरी समुदायलाई आफ्नो कार्यकालभित्र कानुनी रूपमा जग्गाको मालिक बनाउने दिशामा पहल गर्ने उनले बताएका छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउद, नेकपा माओवादी केन्द्रका माधवप्रसाद पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतलगायत १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । सिंहले आफू निर्वाचित भए जनसेवकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चुनावी गणित
कञ्चनपुर–२ सधैँ हेभी वेट नेताहरूबीचको प्रतिस्पर्धा हुने क्षेत्र हो। २०७४ सालमा वाम गठबन्धनका तर्फबाट एमालेका नर बहादुर धामी (३३,२२० मत) विजयी भएका थिए, जसमा उनले कांग्रेसका एनपी साउद (२४,८९३ मत) लाई पराजित गरेका थिए।
२०७९ सालमा कांग्रेसका साउद (२८,१०० मत) धामीसँग बदला लिँदा धामीले २१,६४५ मत पाएर निकटतम् प्रतिद्वन्द्वी बनेका थिए ।
२०७९ सालको प्रदेश सभा निर्वाचनमा बचनबहादुर सिंह आफैँ उम्मेदवार थिए, जहाँ उनी माओवादी केन्द्रका ओमविक्रम भाटसँग निकै कम मतान्तरले पराजित भएका थिए। यसपटक उनी प्रतिनिधिसभाका लागि भिड्न मैदानमा छन् ।
यसपटक कञ्चनपुर–२ मा १९ जना उम्मेदवारहरू मैदानमा छन्। कांग्रेसका साउद आफ्नो साख जोगाउने दाउमा छन् भने नेकपाका माधवप्रसाद पन्त वाम मत तान्न प्रयासरत हुनेछन् ।
रास्वपाका दिपक दिपक बोहरा युवा र नयाँ मतदाताको मत तान्ने प्रयासमा छन् भने राप्रपाका तिर्थराज चटौत परम्परागत र राष्ट्रवादी मत खोज्दै चुनावी मैदानमा छन् ।