बालकृष्ण घिमिरे नवलपुर–१ का लागि "परिवर्तन र नयाँ नेतृत्व" को एजेन्डा बोकेका एक स्वच्छ र बौद्धिक उम्मेदवार हुन्। प्राध्यापन र कानुनको क्षेत्रमा उनले बनाएको साख नै उनको जितको मुख्य आधार हो।
०००
नवलपुर बर्दघाट सुस्ता पूर्व अर्थात नवलपुर– १ बाट नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवार हुन्, बालकृष्ण घिमिरे । नेपाली कांग्रेसको राजनीतिमा लामो समय बिताएका बालकृष्णले यसपटक आफ्नै पार्टीका नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पछि पार्दै टिकट पाएका हुन् ।
२३ र २४ भदौको जेनजी आन्दोलनले प्रतिनिधिसभा भंग गराएसँगै मुलुक निर्वाचनमा होमियो । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१ फागुनको मिति तय गरेपछि मुलुक निर्वाचनमा होमिँदै गयो । नेपाली कांग्रेसभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको विषय जोडले उठ्न थाल्यो ।
पार्टीको नियमित महाधिवेशन नहुने निश्चित भएपछि विशेष महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्यो । यो क्रममा कांग्रेसलाई पुनजागृत गर्न नीति र नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठाउनेहरूमध्येमै थिए, बालकृष्ण घिमिरे ।
उनलाई डा. शशांकको विरासतलाई संस्थागत गर्ने र रास्वपाको 'लहर' लाई रोक्ने दोहोरो चुनौती छ।
विशेष महाधिवेशनबाट परिवर्तित पार्टी नेतृत्वले २१ फागुनको चुनावका लागि शशांकको स्थानमा उनै बालकृष्णमाथि विश्वास गर्यो । २०६४ र त्यसयताकासबै निर्वाचनमा उम्मेदवार बनेर विजयी भएका डा. शशांक कोइरालाले यसपटक टिकट नै पाएनन् ।
नवलपुर–१ (तत्कालीन नवलपरासी–१) बाट डा. शशांक लगातार जित्दै आएका थिए । २०६४ सालमा उनी पहिलो पटक चुनावी प्रतिस्पर्धी बनेका थिए । संविधानसभाका लागि भएका दुईवटा निर्वाचन २०६४ र २०७० मा उनले जिते । संविधान निर्माणपछि २०७४ र २०७९ भएका दुवै निर्वाचनमा पनि उनी विजयी बनेका थिए । उनी शशांकले प्रतिस्पर्धा गर्दै आएको क्षेत्रमा पार्टी सभापति गगन थापाले यसपटक बालकृष्ण घिमिरेलाई टिकट दिएका हुन् ।
५२ वर्षीय घिमिरे कावासोती नगरपालिकाका स्थानीय हुन् । राजनीति र शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका घिमिरेले कानुनमा स्नातक तहको अध्ययन सकेका छन् । पेशागत रुपमा उनी शिक्षण क्षेत्रमा आवद्ध छन् । कावासोतीस्थित लुम्बिनी आदर्श डिग्री कलेजमा विगत २० वर्षदेखि प्राध्यापन गर्दै आएका छन् । नवलपुर–१ का कांग्रेस उम्मेदवार घिमिरेले १० वर्ष विद्यालय शिक्षकका रुपमा कार्य गरेका थिए ।
उनले कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्दै र 'शिक्षित र स्थानीय' उम्मेदवारका रूपमा आफूलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सके भने, नवलपुर–१ मा कांग्रेसको किल्ला जोगाउने घिमिरेको सम्भावना देखिन्छ।
कानुन व्यवसायी समेत रहेका उनी नेपाल बार काउन्सिलको सदस्य छन् । मध्यविन्दु प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागि पनि उनले पहलकदमी लिएका थिए । कांग्रेस उम्मेदवार घिमिरे रोटरी क्लबमा समेत विगतमा आवद्द थिए ।
विद्यार्थी संगठन हुँदै उनी कांग्रेसको राजनीति प्रवेश गरेका थिए । विगतमा नेविसंघ नवलपरासीको जिल्ला सचिव भएका उनी हाल कांग्रेस नवलपुरको उपसभापति छन् । पार्टीमा नीतिगत सुधार र शुद्धीकरणका लागि प्रजातान्त्रिक विचार समाज मार्फत जिल्लामा अभियान सुरु गरेका थिए । दोस्रो जनआन्दोलनको समय (२०६२/०६३ मा) उनी नवलपरासीको पार्टीको प्रशिक्षण शाखा प्रमुख थिए ।
रास्वपा र एमालेका उम्मेदवारहरू पनि उत्तिकै बलिया रहेकाले यहाँको प्रतिस्पर्धा निकै रोचक र कडा हुने निश्चित छ।
गत निर्वाचनमा प्रतिनिधि सभामा कांग्रेसले जितेको भएपनि स्थानीय तहमा भने कांग्रेस कमजोर देखिन्छ । यस क्षेत्रमा नवलपुर जिल्लाका देवचुली नगरपालिका, गैडाकोट नगरपालिका, बुलिङटार गाउँपालिका र कावासोती नगरपालिकाको वडा १, २ र ५–१३ पर्दछन् । कावासोती, देवचुली र बुलिङटारमा गत स्थानीय तहको चुनावमा एमालेले जितेको छ ।
गैंडाकोटमा भने कांग्रेसले जितेको थियो । कावासोतीमा कांग्रेसका मेयरका उम्मेदवार झिनो मतले पराजित भएका थिए । गत निर्वाचनमा यो क्षेत्रमा समानुपातिकमा रास्वपा पहिलो बनेको थियो ।
रास्वपाले २५ हजार ७७४ मत ल्याउँदा दोस्रो स्थानको मत कांग्रेसको पक्षमा २३ हजार ४१ थियो ।
आसन्न निर्वाचनमा नवलपुर–१ मा एमालेबाट भागिरथ सापकोटा, नेकपाबाट लोकप्रसाद भुर्तेल, रास्वपाबाट गण्डकी सभापति राजन गौतम लगायत उम्मेदवार छन् ।