Home Candidate भरतराज ढकाल

संसद्‌तर्फको यात्रामा ‘योजना बोकेर हिँड्ने नेता’

http://नेपाली%20कांग्रेस
भरतराज ढकाल
स्याङ्जा - १ उम्मेदवार

भरतराज ढकाल

पुरुष , ५२ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

‘नागरिकको समृद्धिको आधार कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने मूल प्रतिवद्धतासहित चुनावी मैदानमा उत्रिएका ढकाल आफूलाई सपना देखाउने मात्र होइन, सम्भावनालाई यथार्थमा बदल्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिरहेका छन् ।

०००

भरतराज ढकाललाई स्याङ्जामा धेरैले ‘योजना बोकेर हिँड्ने नेता’ भनेर चिन्छन् । राजनीति, कृषि र वित्तीय क्षेत्रमा समान रूपमा सक्रिय ढकाल अहिले नेपाली कांग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा उम्मेदवार छन् ।

२०३० सालमा स्याङ्जाको आँधीखोला गाउँपालिका-६ निबुवाबोटमा जन्मिएका ढकालको राजनीतिक यात्रा विद्यार्थीकालमै सुरु भएको हो । २०४७ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध उनी २०४६/०४७ को जनआन्दोलनमा सक्रिय सहभागी बने ।

पृथ्वीनारायण क्याम्पसमा भएको विद्यार्थी आन्दोलनका क्रममा घाइतेसमेत भएका ढकाल २०६२/०६३ को जनआन्दोलनमा पनि अग्रपंक्तिमा देखिए । नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा २०५३ सालदेखि निरन्तर सक्रिय रहँदै आएका उनले पार्टीको वित्तीय तथा सहकारी विभागको केन्द्रीय सदस्यको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

शिक्षामा स्नातकोत्तर (एमबीए) सम्मको अध्ययन गरेका ढकालले राजनीति मात्र होइन, व्यावहारिक विकासको मोडेल पनि स्याङ्जाबाटै सुरु गरे । उनको दूरदृष्टिको उदाहरणका रूपमा मुक्तिनाथ विकास बैंकलाई लिइन्छ ।

स्याङ्जामै निजी क्षेत्रको पहिलो बैंकको रूपमा स्थापना गरिएको मुक्तिनाथ विकास बैंक आज देशकै अग्रणी विकास बैंकमध्ये एक बनेको छ । बैंकिङ सेवामार्फत दुर्गम क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्नु उनको प्रमुख उपलब्धिमध्ये एक हो ।

कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड ठान्ने ढकालले मुक्तिनाथ कृषि कम्पनीको परिकल्पना गर्दै यसलाई सार्वजनिक कम्पनीको रूपमा स्थापित गरे । किसानको आम्दानी वृद्धि, कृषि मूल्य श्रृंखला व्यवस्थापन र बजार पहुँच विस्तारका कार्यक्रमहरू उनको नेतृत्वमा अघि बढेका छन् ।

स्याङ्जाका १ लाख ३० हजारभन्दा बढी मतदाताले यसपटक 'योजनाकार' उम्मेदवारहरूमध्ये कसलाई पत्याउँछन्, त्यो हेर्न निकै रोचक हुनेछ।

सुन्तला, कफी जस्ता अर्गानिक उत्पादनको उर्वरभूमि स्याङ्जालाई ‘कृषि औद्योगिक ग्राम’को रूपमा विकास गरी रोजगारी र स्वरोजगारी सिर्जना गर्ने उनको योजना छ । उत्पादनलाई देश भित्र मात्र होइन, विदेशसम्म निर्यात गरी आर्थिक-सामाजिक रूपान्तरण गर्ने संकल्प उनले सार्वजनिक रूपमा दोहोर्‍याउँदै आएका छन् ।

ढकालको सामाजिक योगदान पनि उल्लेखनीय छ । भगवती माध्यमिक विद्यालय, साहारा बाल गृह, जिल्ला बालकल्याण समिति स्याङ्जा र मानवअधिकार तथा शान्ति समाजजस्ता संस्थामा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । ‘नयाँ खबर साप्ताहिक’का तत्कालीन प्रकाशकसमेत रहेका ढकाल सामाजिक सचेतनामा सञ्चारको भूमिकालाई पनि उत्तिकै महत्व दिन्छन् ।

व्यावसायिक रूपमा स्याङ्जा रोयल बहुउद्देश्यीय सहकारी, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीलगायत संस्थामा नेतृत्व गरिसकेका ढकाल कृषि, सहकारी र वित्तीय क्षेत्रलाई जोडेर विकास गर्न सकिन्छ भन्ने सोचका पक्षधर हुन् ।

‘नागरिकको समृद्धिको आधार कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने मूल प्रतिवद्धतासहित चुनावी मैदानमा उत्रिएका ढकाल आफूलाई सपना देखाउने मात्र होइन, सम्भावनालाई यथार्थमा बदल्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिरहेका छन् । स्याङ्जाको विकासलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने उनको योजनाले मतदाताको ध्यान तानेको छ ।

Battleground Analysis

अनुकूलता

  • विकास र वित्तीय क्षेत्रको अनुभव
  • कृषि–आधारित स्पष्ट विकास दृष्टिकोण
  • दीर्घ राजनीतिक सक्रियता र संगठनात्मक पकड

प्रतिकूलता

  • व्यावसायिक पृष्ठभूमिमाथि उठ्न सक्ने स्वार्थको प्रश्न
  • ठूला योजनाको कार्यान्वयन चुनौती
  • दल र राष्ट्रिय राजनीतिक समीकरणको प्रभाव
हालको दल
नेपाली कांग्रेस

भरतराज ढकालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित