Home Candidate भीमबहादुर श्रीस राना

स्ववियुमा अपराजित भीम प्रतिनिधिसभा मैदानमा

http://नेपाली%20कांग्रेस
भीमबहादुर श्रीस राना
बाग्लुङ - १ उम्मेदवार

भीमबहादुर श्रीस राना

पुरुष , ५१ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

चार पटक महासमिति सदस्य बनेर केन्द्रीय सदस्य हुन नसकेका र तीन तहको निर्वाचनमा उम्मेदवार हुन अवसर नपाएका भीम श्रीसलाई विशेष महाधिवेशन अवसर बनेर आयो । कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा पर्न सफल श्रीसले बागलुङ–१ को टिकट पनि पाए ।

०००

एक समय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनले संसदीय चुनावकै झल्को दिन्थ्यो । स्ववियु निर्वाचनलाई दलहरूले प्रतिष्ठाको लडाईं बनाउँथे । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु निर्वाचित भएको आधार देखाएर दलहरूले संसदीय निर्वाचनमा मत माग्थे ।

त्यही परिवेशमा भीम श्रीसले नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट २०६२ सालमा त्रिवि कीर्तिपुरको स्ववियु अध्यक्ष जिते ।

स्ववियुको नवनिर्वाचित समितिमा अरू सबै पदमा नेविसंघ पराजित हुँदा श्रीस एक्ला अध्यक्ष चुनिएका थिए । त्रिवि कीर्तिपुरमा श्रीस नेविसंघका एक एक्ला यस्ता पात्र हुन्, अरू पराजित हुँदा पनि उनले जित्दै आएका थिए ।
२०५८ सालमा नेविसंघ त्रिवि समितिको सचिव बनेका उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा प्रतिस्पर्धा गर्दा हरेक पटक जिते । २०५५ र २०५७ सालमा स्ववियु सदस्य बने ।

२०३१ सालमा जन्मिएका श्रीसले बागलुङस्थित जनता मावि सर्कुवाबाट २०४७ सालमा प्रथम श्रेणीमा एसएसली उत्तीर्ण भएका थिए । माध्यमिक तहको शिक्षा बागलुङमा सकेपछि उनी अध्ययनका लागि काठमाडौं आए । २०५० सालमा त्रिचन्द्र कलेजबाट आईएसी सकेका उनले त्यहींबाट बीएससी सके ।
बागलुङमा रहँदा कांग्रेसप्रति आस्था राख्ने उनी काठमाडौं आएसँगै पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा आबद्ध भए । २०५१ साल त्रिचन्द्रमा आईएस्सी पढ्दा उनी नेविसंघको विज्ञान संकायको सचिव बने ।

उनी २०६१ सालमा धवलागिरिबाट केन्द्रीय विश्वविद्यालय कीर्तिपुरमा आएर अध्ययनरत विद्यार्थीहरूको साझा संगठन ‘धवलागिरि विद्यार्थी समाज’ को सदस्य बने । त्रिचन्द्रबाट बीएससी सके लगत्तै त्रिभुवन विश्वविद्यालय कीर्तीपुरमा अध्ययन गर्न पुगेका उनी २०६२ देखि २०६५ सम्म त्रिवि सेवा सदस्य बने ।
त्रिभुवन विश्वविद्यालयबाट एमससी सकेका श्रीसले ग्रामीण विकास, राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले एमबीएसको अध्ययनसमेत सकेका छन् ।

श्रीसको लगाव क्रिकेट खेलप्रति पनि छ । उनी नेपाल क्रिकेट संघको अम्पाएर (२०६२ सालमा) समेत बने । श्रीस स्ववियु सभापति भएकै बेला कीर्तिपुरमा क्रिकेट रंगाशाला बनेको हो । उनले त्यतिबेला रंगशाला निर्माण समितिमा रहेर काम गरेका थिए ।

बागलुङ जैमनी नगरपालिकामा जन्मेर त्रिवि कीर्तिपुरको विद्यार्थी राजनीतिमा अपराजित रहेका श्रीसलाई कांग्रेसले यस पटक बागलुङ–१ को उम्मेदवार बनाएको छ ।

जैमनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा भन्छन्, ‘भीम दाइ जनताको बीचमा जाने चुनावमा पहिलोपटक प्रतिस्पर्धा गर्नुभएको हो । विद्यार्थी राजनीतिमा उहाँ सधै अपराजित रहनुभयो । उहाँ कुरामा भन्दा काममा विश्वास गरेर लागिरहने व्यक्ति हो ।’

कांग्रेस बदलिर जनतामाझ आएको र यही बदलिएको कांग्रेसले मुलुक बदल्ने दाबीसहित उनी चुनावी मैदानमा होमिएका छन् । एकताबद्ध नयाँ कांग्रेसको उम्मेदवार भएकोले आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ ।

बागलुङ क्षेत्र नम्बर १ लाई पछौटेपनबाट हटाउन पहल गर्ने र बागलुङमा विसका पूर्वाधारलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको श्रीसको भनाइ छ ।

‘बागलुङ जिल्ला अझै विकासमा पछि छ । पूर्वाधारमा जोड दिन आवश्यक छ ।  पूर्वाधारको विकाससँगै अन्य विकासहरू हुँदै जान्छन् । बागलुङमा सडक, पुल, खानेपानी, शिक्षा र स्वास्थ्य मुख्य आवश्यकता हो,’ श्रीसले भने, ‘खासगरी बागलुङको दक्षिण भेग विकासमा पछि परेको भएकाले संसद्‌मा विकासको आवाज उठाउँछु ।’

उनी जनताका आवाज संसद्मा पुर्‍याउन आफूलाई मत दिन आग्रह गर्दै उनी मतदाताका घरदैलोमा पुगिरहेका छन् । यस पटक आफूले जनताको मर्मअनुसार काम गर्ने अवसर पाउने बताउँदै उनले आफूले जनताको  कारिन्दा भएर काम गर्न चाहेको सुनाए ।

‘मलाई जिताएर पठाउनुस्, देशको अन्योलग्रस्त राजनीतिक अवस्थालाई निकास दिन पहल गर्छु । साथै  आफ्नो क्षेत्रको विकासमा पनि लाग्छु,’ उनले मतदातासँग भनेका छन् ।

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • अपराजित विद्यार्थी राजनीतिक पृष्ठभूमि
  • संगठन भित्र लामो अनुभव
  • शैक्षिक योग्यता र बहुआयामिक अनुभव

प्रतिकूलता

  • संसदीय निर्वाचनमा पहिलो अनुभव
  • स्थानीय विकासमा प्रत्यक्ष नेतृत्वको अभाव
  • मतदाताको नयाँ दलप्रति झुकाव
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कांग्रेस

भीमबहादुर श्रीस रानाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित