कांग्रेसको विरासत जोगाउने चुनौति
उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा अढाइ दशकपछि कांग्रेसले चुनावी उमेद्वार फेरेर विदुर बस्नेतलाई मैदानमा उतारेको छ । २०५६ सालको आमनिर्वाचनमा उदयपुर–१ मा एमालेका उम्मेदवारसँग पराजित भएका डा. नारायण खड्का त्यसयता २०६४, २०७०, २०७४ र २०७९ मा गरी लगातार चौथो पटक विजयी भएका थिए ।
लगातार चारपटक चुनाव जितेका पूर्व परराष्ट्रमन्त्री खड्का यसपटक उमेद्वार नबन्ने भएपछि बस्नेतले अवसर पाएका हुन् । उनी हाल कांग्रेस केन्द्रीय सदस्य छन् ।
अम्बेवर र पुन्य कुमारीका ९ सन्तान मध्येका पाँचौ सन्तान हुन् बस्नेत । उनको जन्म २०१२ सालमा खोटाङमा भएको थियो । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ९ रातमाटेमा पनि बस्नेत परिवारको बसोबास थियो ।
बुवा अम्बेवर बीपीसँग नजिक हुँदै २०१५ समयमा पहिलो जननिर्वाचित प्रतिनिधि बनेका कारण पनि विदुरले सानैदेखि राजनीतिक वातावरणमा हुर्किए ।
महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अध्ययन गर्दा २०२७ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सदस्यता लिएर बस्नेत राजनीतिमा सक्रिय भए । उनले स्नातकसम्म औपचारिक शिक्षा हासिल गरेका छन् ।
राजा महेन्द्रले शासन सत्ता हातमा लिएपछि खुल्ला राजनीति बन्देज लगाइएको थियो । उक्त समयमा विपीसहित बुवा अम्बेवर पनि भारतमा निर्वासन जीवन बिताउन बाध्य भए । त्यति बेला आफूले नेपालमा बसेर राजनीति गर्ने कांग्रेस नेता–कार्यकर्ताहरुलाई बिपीसँग भेटाउने र उनका सन्देशहरु आदान–प्रदान गर्ने भूमिका निर्वाह गरेको विदुर बताउँछन् । नेपालमा पत्रपत्रिका बन्देज लगाएको तत्कालीन समयमा भारतबाट प्रकाशित हुने नेपाली पत्रिका लिएर नेपाल आउने क्रममा पक्राउ समेत परेको उनले सुनाए ।
बस्नेत २०४८ सालमा झापामा भएको नेपाली कांग्रेसको आठौं महाधिवेशनदेखि हालसम्म निरन्तर महाधिवेशन प्रतिनिधि र २०५७ सालमा भएको १० औं महाधिवेशनबाट नेपाली कांग्रेस उदयपुरको सभापति भएर संगठन विस्तारमा क्रियाशील भए ।
विदुरले त्रियुगा नगरपालिका क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति दनुवार समुदाय र चौधरी समुदायका बालबालिकालाई पठनपाठनमा सहभागी गराउन बुवाको नाममा अम्बेवर माध्यमिक विद्यालय स्थापना गरी सोही विद्यालयमा पढ्ने अति विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कोष पनि स्थापना पनि गरेको बस्नेत बताउँछन् ।
करिव १५ वर्ष उदयपुर कांग्रेसको नेतृत्व गरेका बस्नेत २०६४ को संविधानसभा निर्वाचनमा उदयपुर क्षेत्र नम्बर २ मा उमेद्वार बनेर तत्कालीन नेकपा माओवादीका मणी खम्बुसँग पराजित भएका थिए । त्यस्तै २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ बाट वामगठबन्धन एमालेका विमल कार्कीसँग पराजित भएका थिए । त्यतिबेला उदयपुरमा तीन निर्वाचन क्षेत्र थिए । हाल दुई निर्वाचन क्षेत्र मात्र छन् ।
हाल उदयपुर क्षेत्र नम्बर १ मा कांग्रेसका विदुरसहित नेकपा एमालेका दुर्गा कुमार थापा, नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका पारसमणि गेलाल, राप्रपाका सुभाषचन्द्र खड्का लगायत १८ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसपटक विदुरलाई लगातार चार चुनाव जितेको कांग्रेसको विरासत जोगाउनु पर्ने चुनौति छ ।
प्रस्तुति : अभिमन्यु लामिछाने
Battleground Analysis
अनुकूलता
- सामाजिक छवि र सेवा
- लामो सांगठनिक अनुभव
- राजनीतिक विरासत र पारिवारिक पृष्ठभूमि
प्रतिकूलता
- नयाँ उम्मेदवार भएकाले मतदातालाई विश्वासमा लिनुपर्ने चुनौती
- बहुपक्षीय प्रतिस्पर्धा
- नयाँ मतदाताको मनोविज्ञान
विदुर बस्नेतको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

