कजेल टपर देवबिक्रम चुनावी मैदानमा
देवबिक्रमले राजनीतिसँगै व्यावसायिक खेती पनि गरिरहेका छन् । उनले गाउँमा करिब १०० रोपनी जग्गामा लिची खेती गरेका छन् ।
०००
बुवा शुभशेर राई एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका नेता थिए । देवबिक्रम राईले राजनीतिक सुझबुझ भएका बुवाबाट बाल्यकालदेखि नै राजनीति बुझ्ने र सिक्ने अवसर पाए ।
बुवाकै प्रेरणाले राजनीतिमा रस बसाएका देवबिक्रम खोटाङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । उनका लागि संसदीय निर्वाचन पहिलो अनुभव हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा २०२६ असार २२ गते जन्मिएका हुन् देवबिक्रम । उनले नेपालीमा एमए उत्तीर्ण गरेका छन् ।
२०३९ सालताका चम्पावती मावि बुइपामा पढ्दै गर्दा उनी अनेरास्ववियु पाँचौंको गतिविधिमा संलग्न भए । २०४३ सालदेखि भने अनेरास्ववियु पाँचौंमा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका हुन् । राजनीतिको औपचारिक बाटो २०४२ सालमा एसएसली उत्तीर्ण गरेर धरानको महेन्द्र बहुमुखी क्याम्पस झरेपछि सुरु भएको हो ।
अनेरास्ववियु पाँचौंको सदस्यबाट सुरु भएको राजनीतिक यात्राले राईलाई हाल एमाले खोटाङको अध्यक्षको जिम्मेवारीमा पुर्याइसकेको छ ।
धरान रहेकै बेला देवबिक्रम २०४४ सालमा अनेरास्वबियु खोटाङ-सुनसरी सम्पर्क कमिटीको सचिव र २०४७ सालमा अध्यक्ष बने । २०४९ सालमा कजेल टपर हुँदै बीए उत्तीर्ण गरेर उनी धरानबाट गाउँ फर्किए ।
चम्पावती माविमा दुई वर्ष शिक्षण गरे । तर शिक्षणमा मन अडिएन । काठमाडौंतिर लागे । २०५२ सालमा एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चको कोषाध्यक्षको जिम्मेवारी लिएर काम गर्न थाले ।
२०५४ फागुन २१ गते एमाले विभाजन भयो । एमालेबाट फुटेको समूहले नेकपा माले बनायो । देवबिक्रम अशोक राईहरूसँगै मालेतर्फ लागे । मालेको खोटाङ–काठमाडौं सम्पर्क मञ्चको सचिव भए ।
२०५८ सालमा एमाले र मालेको एकतापछि उनले एमालेबाट दायाँबायाँ गरेनन् । एमाले छाड्ने–भित्रिने श्रृंखला चलिरहँदा उनी एमाले रमाइरहे । एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको सात जनाको जिल्ला कार्यालय सदस्यमध्येमा उनी समेटिएका थिए ।
झन्डै १२ वर्षपछि देवबिक्रम २०६४ सालको संविधानसभा सदस्यको निर्वाचनका दौरान गाउँ फर्किए । चुनावी अभियानका क्रममा गाउँ फर्किएका राई त्यसयता गाउँमै छन् ।
२०७६ सालको एमाले जिल्ला कमिटीको पाँचौं अधिवेशनबा सदस्य, २०७२ सालमा सम्पन्न छैटौं अधिवेशनबाट सचिव र २०७८ सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट उपाध्यक्ष चुनिए । २०८० मा सम्पन्न आठौं जिल्ला अधिवेशनमा उनी एमाले खोटाङको इतिहासमै पहिलोपल्ट चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष भए ।
देवबिक्रम राजनीतिसँगै व्यावसायिक लिची खेतीमा पनि संलग्न छन् । गाउँमा आफ्नो करिब १०० रोपनी जग्गामा लिची खेती गरेका छन् । २०७२ सालदेखि लिची खेती सुरु गरेका राई आफूलाई अगुवा कृषक भन्न रुचाउँछन् ।
राई कविता पनि लेख्छन् । उनका कविता र लघुकथाको संयुक्त संग्रह ‘आस्थाका झण्डाहरू’ २०४८ सालमा प्रकाशित भएको थियो । राईसँग ‘संकल्प’ लगायतका साहित्यिक पत्रपत्रिका सम्पादन गरेको अनुभव पनि छ ।
सामाजिक क्षेत्रमा पनि क्रियाशील राई किरात राई चाम्लिङ खाम्बातिमको संस्थापक सहसचिव हुन् । उनी २०५८ सालमा खोटाङ सेवा समाज काठमाडौंको महासचिवसमेत बनेका थिए ।
Battleground Analysis
अनुकूलता
- लामो राजनीतिक अनुभव र संगठनात्मक पृष्ठभूमि
- स्थानीय मतदातासँग प्रत्यक्ष सम्बन्ध
- कृषि र सामाजिक क्षेत्रमा सक्रियता
प्रतिकूलता
- संसदीय निर्वाचनको पहिलो अनुभव
- पार्टी विभाजन हुँदा मालेतिर गएको पृष्ठभूमि
- स्थानीय राजनीतिमा सीमित पहिचानको चुनौती
देव विक्रम राईको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

