Home Candidate हरि रोका

‘पसिना बगाउन’ गाउँ फर्किएका डा. रोका चुनावी मैदानमा

http://नेपाली%20कम्युनिस्ट%20पार्टी
हरि रोका
खोटाङ - १ उम्मेदवार

हरि रोका

पुरुष , ६७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
९४४३ मत
Profile
Profile

पसिना बगाउन भन्दै गाउँ फर्किएका डा. हरि रोका एकाएक चुनावी मैदानमा होमिएका छन् । उनलाई नेकपाले खाटाङबाट टिकट दिएको छ ।

०००

‘गाउँलाई हराभरा बनाउने हो भने गाउँमै बस्नुपर्छ, गाउँमै पसिना बगाउनुपर्छ,’ झन्डै चार दशक काठमाडौंमा बिताएका अर्थ-राजनीतिज्ञ हरि रोका यही निष्कर्षमा पुगे ।

२०७९ सालमा श्रीमती कृष्णा रोकालाई साथमा लिएर उनी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ डाँडागाउँको खुतुम्बु फर्किए । रुग्न बनिसकेका घर मर्मत गरे । वर्षौँदेखि बाँझिएका खेत र बारीमा खेती सुरु गरे । खुतुम्बुबाटै नेपालको राजनीति, राज्य चरित्र, अर्थ-राजनीति, नीति निर्माण, अन्तर्राष्ट्रिय मामिला लगायतका विषयमा कलम चलाउन थाले ।

रोकाले २०८१ भदौ २८ गते ‘जेनजी पुस्ताको विद्रोह’ शीर्षक लेखमार्फत सत्तालाई सम्भावित आन्दोलनका बारेमा सचेत गराएका थिए । संयोगवस ठिक वर्ष दिनपछि जेनजी आन्दोलन भयो । देशमा चुनावको मिति घोषणा भयो । खोटाङको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र योग्य पात्रको खोजी सुरु भयो ।

बौद्धिक क्षमता भएका तथा संसदमा गएर देशकै लागि अर्थ-राजनीति विषयमा आवाज उठाउन सक्ने पात्रका रूपमा रोका छानिए । गाउँमा पुनर्जागरण ल्याउने अभियानका लागि गाउँ फर्किएका रोका हाल चुनावी मैदानमा होमिएका छन् । उनलाई नेकपाले खोटाङबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

वैकल्पिक अर्थतन्त्रको वकालत गर्दै आएका रोका २०१५ असोज १५ गते जन्मिएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमए/एमकम र जेएनयू, नयाँदिल्लीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । रोका आफूलाई कृषक-अर्थराजनीतिज्ञ भन्न रुचाउँछन् ।

अर्थशास्त्री तथा राजनीतिक विश्लेषकको परिचय बनाएका रोकासँग राजनीतिमा लामो समय काम गरेको अनुभव छ । रोका २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए । विद्यार्थी तथा वामपन्थी आन्दोलनमा सहभागी भएवापत पटक-पटक गरी साढे सात वर्ष जेल र आठ महिना हिरासतमा बसे । उनलाई तत्कालीन सरकारले राजकाज अपराध ऐनअन्तर्गत ६ वर्ष र शान्ति सुरक्षाअन्तर्गत डेढ वर्ष कैद राखेको थियो ।

२०४७ मा माले र माक्र्सवादी मिलेर एमाले बन्यो । उनी एमालेको ५९ जनाको राष्ट्रिय पार्षद् भित्र समेटिए । त्यसपछि २०४८ सालदेखि २०५४ सम्म एमाले खोटाङको सचिवको जिम्मेवारी सम्हाले ।

महाकाली सन्धीको विषयले २०५४ मा एमाले फुटेपछि मालेतिर लागे । मालेको केन्द्रीय सदस्य बने । सगरमाथा अञ्चल इन्चार्ज भए । २०५६ सालमा निर्वाचन हुँदा रोका खोटाङ क्षेत्र नम्बर २ बाट मालेको उम्मेदवार बने । रोका र एमालेका विशाल भट्टराई कांग्रेसका शिवकुमार बस्नेतसँग पराजित भए । संयोग कस्तो भयो भने, २६ वर्षअघि तारा चुनाव चिह्बाट लडेका रोका यसपल्ट नेकपाको तारा चिह्नबाटै उम्मेदवार बनेका छन् ।

२०५८ मा माले एमालेमा मिल्यो तर रोका फर्किएनन् । पार्टी गतिविधिबाट अलग भए । २०४७ सालदेखि निरन्तर लेखन, खोज तथा अनुसन्धानमा लागे । हालसम्म रोकाले पाँच हजार लेख लेखिसकेका छन् । सामूहिक र व्यक्तिगत गरी २० वटा रिसर्च पेपर तयार पारेका छन् । नेपाली र अंग्रेजी भाषाका १२० जर्नलमा जर्नल आर्टिकल प्रकाशित गरिसकेका छन् । १० वटा पुस्तकमा सहलेखन गरेका छन् ।

२०६२/०६३ को जनआदोलनपछि बनेको अन्तरिम संसद्मा रोका ९ जनामध्येमा सांसद मनोनीत भएका थिए । यस्तै, २०६४ को निर्वाचनपछि बनेको संविधानसभामा पनि रोका स्वतन्त्र विज्ञहरूको तर्फबाट संविधानसभा सदस्य मनोनीत भएका थिए ।

रोकासँग २०७८ बाट त्रिभुवन विश्वविद्यालयमा एक वर्ष र काठमाडौं विश्वविद्यालयमा दुई वर्ष इकोनोमी ग्रोथ र पोलिटिकल इकोनोमिक्स प्राध्यापन गरेको अनुभव छ ।

 

Battleground Analysis

अनुकूलता

  • बौद्धिक विश्वसनीयता र नीतिगत स्पष्टता
  • गाउँमै बसेर अभ्यास गरेको ‘ग्रासरुट’ छवि
  • लामो राजनीतिक अनुभव र त्यागको पृष्ठभूमि

प्रतिकूलता

  • संगठनात्मक आधार कमजोर हुने सम्भावना
  • मतदाताको दैनिक मुद्दासँग प्रत्यक्ष जोडिन नसक्ने जोखिम
  • अघिल्लो निर्वाचनको हारको मनोवैज्ञानिक प्रभाव

हरि रोकाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित