शिक्षा, अनुसन्धान र नीति निर्माणको अनुभव बोकेर संसद्तर्फ जान खोज्दै
उनले सुर्खेत गाउँपालिका र अदानचुली गाउँपालिकाका लागि स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी अध्ययनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । २०७० सालमा कर्णाली प्रदेशसभाको नियमावलीसम्बन्धी वकालत तथा नीतिगत अध्ययनमा उनी संलग्न रहे।
०००
२०३५ सालमा हुम्ला जिल्लाको एक सामान्य परिवारमा जन्मिएका डा. दीपेन्द्र रोकाया शिक्षा, अनुसन्धान तथा नीति निर्माणको क्षेत्रमा परिचित नाम हो ।
प्रारम्भिक शिक्षा उनले २०४१ सालदेखि २०४५ सालसम्म हुम्लाको राहदेउस्थित अंशुवर्मा आधारभूत विद्यालयबाट हासिल गरेका हुन्। त्यसपछि २०४६ सालमा कोट निम्न माध्यमिक विद्यालयबाट निम्न माध्यमिक शिक्षा पूरा गरे।
रोकायाले २०५१ सालमा सुर्खेतस्थित हिमज्योति माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गत आईए तहमा अर्थशास्त्र विषय अध्ययन गरे। २०५६ सालमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट राजनीतिशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गर्दै सोही विषयमा प्रथम श्रेणी हासिल गरे।
शैक्षिक यात्रालाई थप अघि बढाउँदै उनले २०५८ सालमा ललितपुरस्थित पाटन क्याम्पसबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर (एमए) तह पूरा गरे। निरन्तर अध्ययन र अनुसन्धानमा सक्रिय रोकायाले अन्ततः २०६९ सालमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट राजनीतिशास्त्र विषयमा पीएचडी उपाधि प्राप्त गरे।
पीएचडी प्राप्त गरेपछि रोकाया नीति, योजना तथा अनुसन्धानको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन् । उनले सुर्खेत गाउँपालिका र अदानचुली गाउँपालिकाका लागि स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी अध्ययनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । २०७० सालमा कर्णाली प्रदेशसभाको नियमावलीसम्बन्धी वकालत तथा नीतिगत अध्ययनमा उनी संलग्न रहे।
त्यसैगरी २०७२ सालसम्म ‘कर्णाली उपेक्षा र विकास’ विषयक अध्ययनमा अर्थशास्त्रीहरूसँग संयुक्त रूपमा अनुसन्धान गरेका डा. रोकायाले नाम्खा गाउँपालिकाको आवधिक योजना तथा मध्यमकालीन खर्च रूपरेखा निर्माणमा नेतृत्वदायी भूमिका खेले।
२०७५ सालदेखि २०७९ सालसम्म डा. रोकाया कर्णाली प्रदेश सरकारको पहिलो पाँच वर्षे आवधिक योजना निर्माण प्रक्रियामा संलग्न रहे ।
२०७५ सालमै उनले कर्णाली प्रदेशको जाति, भाषा तथा सांस्कृतिक अवस्थासम्बन्धी अध्ययन गरेका थिए। सोही वर्ष हिमाली जिल्लामा आवासीय विद्यालय सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन पनि सम्पन्न गरेका छन्।
यसअघि २०७४ सालमा बाजुरा, कालिकोट र जाजरकोटलगायत जिल्लामा नेपाल बजार विश्लेषण अध्ययनमा सहभागी भएका डा. रोकायाले कर्णाली प्रदेशमा सुरक्षित एकीकृत बस्ती विकाससम्बन्धी अध्ययन पनि गरेका छन् । साथै, सोही वर्ष स्याङ्जा, गुल्मी र अर्घाखाँची जिल्लामा सञ्चालन भएका तालिमहरूको प्रभाव मूल्याङ्कन अध्ययनमा पनि उनी संलग्न रहेका थिए।
उनको पीएचडी अनुसन्धान २०६९ सालमा 'वैदेशिक सहायताले नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापनमा पारेको प्रभाव' विषयमा केन्द्रित थियो।
यसका अतिरिक्त २०६८ सालमा रुकुम र रोल्पा जिल्लामा युद्ध पर्यटनको सम्भाव्यता अध्ययन तथा २०५८ सालमा गोदावरी क्षेत्रमा पारिस्थितिक पर्यटनको प्रभावसम्बन्धी अध्ययन गरेका छन्। यी सबै कार्यका कारण डा. रोकाया अनुसन्धान र विकास क्षेत्रका अनुभवी विज्ञका रूपमा चिनिन्छन्।
अनुकूलता
- उच्च शैक्षिक योग्यता र अनुसन्धान अनुभव
- कर्णाली केन्द्रित नीति निर्माणको अनुभव
- विषयगत विविधता र विशेषज्ञता
प्रतिकूलता
- प्रत्यक्ष राजनीतिक वा जनप्रतिनिधिको अनुभव नहुनु
- सार्वजनिक चिनारी सीमित हुनु
- प्राविधिक भाषा र एजेन्डा जनतासम्म सरल रूपमा पुर्याउनुपर्ने आवश्यकता
दीपेन्द्र रोकाया को उम्मेदवारि कस्तो लागयो ?


