Home Candidate घनश्याम खतिवडा

मदन भण्डारीको आदेशमा जागिर छोडेर राजनीतिमा होमिएका घनश्याम

http://नेकपा%20एमाले
घनश्याम खतिवडा
मोरङ - १ उम्मेदवार

घनश्याम खतिवडा

पुरुष , ६४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

खतिवडा पेसाले पूर्वशिक्षक हुन् । बामपन्थी आन्दोलनमा रहेका बेला जननेता मदन भण्डारीले उनलाई जागिरबाट छुटाएर फुलटाइम राजनीतिमा ल्याएका थिए । २०३८ देखि २०४२ सालसम्म मोरङको देवीझोडास्थित बुद्ध माविमा शिक्षक थिए । महिनाको ५ सय रुपैयाँ तलब आउँथ्यो । तर, मदन भण्डारी र गुरु बरालले उनलाई चुनाव लड्न जागिर छाड्न आदेश दिए । 

०००

सामान्यतया राजनीतिमा लागेपछि मानिसले अथाह सम्पत्ति जोड्छन् भन्ने भाष्य समाजमा स्थापित छ । तर, एमाले नेता घनश्याम खतिवडाको कथा भने बेग्लै छ । कसैले 'राजनीतिबाट के कमाइस् ?' भनेर सोध्यो भने ६४ वर्षीय खतिवडा मुस्कुराउँदै भन्छ्न्, कमाइ त छैन, तर बुबाले दिएको १७ कट्ठा पुर्ख्यौली जग्गा र घर चाहिँ चुनाव लड्दा लड्दै सिध्याएँ ।'

चुनावमा घरजग्गा बेचेका खतिवडा फेरि चुनावी मैदानमा छन् । तर,चौथो पटक चुनावी मैदानमा उत्रिएका उनका लागि यो पटक सजिलो छैन । नयाँ दुई पार्टीसँगै ठूला दुई दलका उम्मेदवारले टक्कर दिइरहेका छन् ।

मोरङ–१ बाट दल तथा स्वतन्त्र गरी १७ जना उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेसबाट उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख खड्ग फागो कम्युनिष्ट पार्टीबाट पूर्वप्रदेश सांसद कुलप्रसाद साम्बा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट यज्ञमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्णबहादुर तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्जबाट दिलकुमारी लावती,श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रीन लामालगायत उम्मेदवार छन् ।

घनश्याम खतिवडा अहिले नेकपा एमाले कोशी प्रदेश अध्यक्षको जिम्मेवारीमा छन् । २०७० र २०७४ को चुनाव उनी जग्गा बेचेर लडे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ७ कट्ठा बेचेका उनले २०७४ सालको निर्वाचनमा १० कट्ठा जग्गा बेचेका थिए ।

'त्यो बेला म ग्राउन्ड लेभलको लिडर मात्रै थिए । चन्दा उठाइन्, चुनाव लडियो,' उनले भने,' २०७९ मा लड्दा फरक भयो । सांसद भइसकेका कारण साथीभाइले सहयोग गरे, सांसदको रूपमा प्राप्त गरेको सुविधा पनि थियो, बेच्ने जग्गा पनि थिएन ।

२०७४ को निर्वाचन ताका विराटनगरको होटल ह्यारिसनमा खतिवडा पत्नी दिलकुमारीलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पुगेका थिए । खतिवडाले ओलीलाई आफूले जग्गा बेचेर चुनाव लडेको बताए । पत्यार नलागेर दिलकुमारीलाई ओलीले सोधे,‘यसले कति जग्गा बेच्यो ?, पत्नीले ‘१७ कट्ठा’ भन्नासाथ ओलीले भनेका थिए, ‘तिमीलाई सडकमा पुर्‍याउने रछ, बाँकी जग्गा तिम्रो नाममा सारिहाल्नु ।’ ओली भनेपछि खतिवडाले बाँकी जग्गा श्रीमतीको नाममा पास गरिदिए र चुनाव जितेर संसद् छिरे ।

२०७९ सालको निर्वाचनमा पराजित भएका उनी चौथो पटक संसदीय चुनावी मैदानमा उत्रिएका छन् । तर, एमालेप्रतिको आक्रोश, श्रम संस्कृति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको लहर र नेकपाको प्रभावले गर्दा प्रतिस्पर्धा रोचक छ ।
जनयुद्ध लडेका र मोरङ १ को 'क'बाट २०७४ मा कोशी प्रदेश सांसद जितेका कुलप्रसाद साम्बा नेकपाबाट उम्मेदवार छन् । सो क्षेत्रमा उनी लोकप्रिय छन् । उर्लाबारी नगरपालिकाको प्रमुखको रुपमा काम गरेका कांग्रेस उम्मेदवार खड्ग फागो पनि उम्मेदवार छन् ।
हर्क साम्पाङले श्रम संस्कृति पार्टी गठन गर्दा पहिलो आमसभा मोरङको लेटाङमा भएको थियो । सभामा हजारौं सहभागी भएका थिए । जसले श्रम संस्कृतिको पकड पनि बलियो बनाएको छ । झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने भन्दै आएका रास्वपा नेता यज्ञमणि न्यौपाने पनि मोरङ क्षेत्र नम्बर १ मा आएका छन् । बालेन साह झापा ५ मा आएपछि न्यौपानेले मोरङ-१ मा आएका थिए । उनको लोकप्रियता पनि बढ्दो छ ।

मदनले छुटाएका थिए जागिर

खतिवडा पेसाले पूर्वशिक्षक हुन् । बामपन्थी आन्दोलनमा रहेका बेला जननेता मदन भण्डारीले उनलाई जागिरबाट छुटाएर फुलटाइम राजनीतिमा ल्याएका थिए । २०३८ देखि २०४२ सालसम्म मोरङको देवीझोडास्थित बुद्ध माविमा शिक्षक थिए । महिनाको ५ सय रुपैयाँ तलब आउँथ्यो । तर, मदन भण्डारी र गुरु बरालले उनलाई चुनाव लड्न जागिर छाड्न आदेश दिए ।

खतिवडाले स्थायी हुन लागेको छु, जागिर नछोडौँ भने । तर मदन भण्डारीले सोधे,'तपाईंको जागिर ठूलो कि पार्टीको आदेश ? त्यसपछि खतिवडाको राजीनामा पूर्वएमाले नेता अशोक राईले लेखिदिए ।

२०४२ सालमा उनी लेटाङ गाउँ पञ्चायतको प्रधानपञ्चको उम्मेदवार हुँदा निरविक्रम किराँतीसँग पराजित भए । तर, २०४९ सालको निर्वाचनमा भने उनी लेटाङको अध्यक्षमा निर्वाचित भए ।

जिविस सभापति हुने भन्दै उनी २०५४ सालमा गाविस सदस्यको चुनाव जिते । तर उनी गाविस महासंघको केन्द्रीय उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ९ (हाल १) बाट तत्कालीन माओवादी उम्मेदवार नगेन्द्र धिमाल निर्वाचित भए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा वर्षमान पुनलाई पराजित गर्दै कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बू विजयी हुँदा घनश्याम दोस्रो भएका थिए । त्यसबेला डिगबहादुर लिम्बू १५२०२ मतसहित विजयी हुँदा दोस्रो स्थानमा रहेका खतिवडाले १२९८९ मत प्राप्त गरेका थिए ।

२०७२ मा संविधान जारी भएपछि मोरङका ९ वटा क्षेत्रलाई ६ वटा बनाइयो । खतिवडाको क्षेत्र नम्बर १ बन्यो । २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका खतिवडा ३७ हजार ५ सय २४ मतसहित बिजयी भए ।

कांग्रेस उम्मेदवार लिम्बूले ३१ हजार ४ सय ३६ मत पाएका थिए । २०७९ को निर्वाचनमा २७२९७ मतसहित लिम्बु विजयी हुँदा खतिवडाले २६८६७ मत प्राप्त गरेका थिए । क्षेत्र नम्बर १ मा १ लाख २८ हजार ५४५ मतदाता छन् ।

खतिवडा यो आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको बताउँछन् । 'मैले सुरु गरेका योजनाहरु पुरा गर्नका लागि यो मेरो अन्तिम प्रतिस्पर्धा हो', उनले भने,' अर्को पटक म उठ्दिनँ ।'

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • दीर्घ राजनीतिक अनुभव र संगठनात्मक पकड
  • इमानदार र त्यागी छवि
  • स्थानीय स्तरमा चिनजान र पुरानो आधार

प्रतिकूलता

  • बहु-उम्मेदवार र कडा प्रतिस्पर्धा
  • एमालेप्रतिको आक्रोश र नयाँ दलको लहर
  • अघिल्लो निर्वाचनको पराजय
हालको दल
नेकपा एमाले

घनश्याम खतिवडाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित