अमेरिका बसेर कांग्रेसको राजनीति गरेका विष्ट चुनावी प्रतिस्पर्धामा
सन् १९९८ देखि अमेरिकालाई कर्मथलो बनाएका विष्टले आफ्नो ज्ञान, अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धलाई देश, सुदूरपश्चिम र पार्टीको हितमा प्रयोग गर्दै आएका छन् ।
०००
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ४ बाट गोरखबहादुर विष्टलाई उम्मेदवार बनाएको छ ।
१६ साउन २०२९ मा डोटीको जोरायल गाउँपालिका-५ गडसेरामा जन्मिएका विष्टले स्नातकोत्तर (एमबीए) सम्मको अध्ययन गरेका छन् ।
डोटीको गडसेरास्थित महेन्द्र प्राविमा प्राथमिक तह पढेका उनले कैलालीको धनगढीस्थित पञ्चोदय माविबाट एसएलसी पास गरेका हुन् । भारतको देहरादुनबाट प्रवीणता प्रमाणपत्र तहको पढाइ पूरा गरेपछि विष्ट शंकरदेव क्याम्पस काठमाडौंमा भर्ना भए ।
विष्ट भारतको देहरादुनमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गर्दै गर्दा नेपालमा जनआन्दोलन सुरु भएपछि नेपाली दूतावास घेराउ गर्न नयाँदिल्ली पुगेका थिए ।
शंकरदेवबाट नै उनले स्नातक र एमबीएको पढाइ पूरा गरे । शंकरदेव क्याम्पसमा अध्ययनरत रहँदा उनी कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिमा सक्रिय रहे ।
सन् १९९८ देखि अमेरिकालाई कर्मथलो बनाएका विष्टले आफ्नो ज्ञान, अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धलाई देश, सुदूरपश्चिम र पार्टीको हितमा प्रयोग गर्दै आएका छन् ।
सन् २००२ मा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनले अमेरिकामा राजाको कदमविरुद्ध आन्दोलनको अगुवा गरे । जनताको संघर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्र गुम्ने चिन्तामा उनले तत्कालीन राजा ज्ञानेन्द्रको कदमविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरे ।
विष्टले न्युयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि भएको प्रदर्शनको अगुवाइ गरे । उनकै नेतृत्वमा अमेरिकामा नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल दर्ता भयो । जसको उनी संस्थापक अध्यक्ष भए ।
विष्टले काउन्सिलमार्फत १८ वटा र्याली निकाले । मुलुकमा प्रजातन्त्र पुनर्बहालीका लागि दबाब दिन १९० देशका राष्ट्राध्यक्षहरूलाई ज्ञापनपत्र बुझाए ।
उनको आह्वानमा अमेरिकाका विभिन्न राज्यबाट आएका झन्डै एक हजार नेपालीले ह्वाइट हाउस अगाडि लोकतन्त्र पुनर्बहालीका लागि दबाब दिन प्रदर्शन गरे । सन् २००५ मा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले विष्टलाई संयोजक तोकेर जनसम्पर्क समिति गठन गर्न निर्देशन दिए । उनको नेतृत्वमा १७ जनाको टिम बन्यो ।
उनलाई तत्कालीन पार्टी सभापति कोइरालाले डोटीमा टिकट दिन चाहेका थिए । तर सिद्धराज ओझाले संसदीय निर्वाचनका लागि टिकट पाए । उनी पार्टीको निर्णय स्वीकार गर्दै ओझाको प्रचार-प्रसारका लागि डोटी खटिए । त्यसपछि पनि २०७०, २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा पनि विष्ट टिकटबाट वञ्चित भए । तर उनी पार्टीलाई जिताउन सधैँ सक्रिय रहे ।
कांग्रेसको ११औं महाधिवेशनमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले विष्टलाई महाधिवेशन प्रतिनिधि चयन गरे । पछि उनी १२औं, १३औं र १४औं महाधिवेशनमा अमेरिकाबाट पार्टीको महासमिति सदस्य भए ।
सन् २०१४ मा टेक्सासमा सम्पन्न अधिवेशनबाट उनी अत्यधिक मतले नेपाली जनसम्पर्क समितिको सभापतिमा निर्वाचित भए । हाल पनि सभापति रहेका विष्टले गत डिसेम्बरमा अमेरिकास्थित जनसम्पर्क समितिका सबै शाखाहरूको निर्वाचन सम्पन्न गरे ।
नेतृत्व हस्तान्तरणको तयारीमा रहेका विष्टलाई पार्टीले कैलाली-४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि उनी घरदैलो र भेटघाटमा व्यस्त छन् । कांग्रेस डोटीले प्रतिनिधिसभाका लागि उनको नाम पहिलो नम्बरमा राखेर सुदूरपश्चिम प्रदेश कार्यसमितिमार्फत केन्द्रमा सिफारिस गरेको थियो ।
कैलाली-४ का लागि उनी नयाँ उम्मेदवार हुन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा यो क्षेत्रबाट कांग्रेस नेता वीरबहादुर बलायर निर्वाचित भएका थिए । यसपालि पनि उनी यही क्षेत्रबाट सिफारिसमा परेका थिए ।
बलायरले कैलाली-४ बाटै फेरि टिकट पाउने निश्चित नै थियो । तर उनी पार्टीमा पछिल्लो समय चुलिएको आन्तरिक विवादका कारण निर्वाचनमा प्रतिस्पर्धा गर्न इच्छुक भएनन् ।
कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति बलायरले चुनाव लड्ने इच्छा नदेखाएपछि अन्तिम समयमा नवनिर्वाचित सभापति गगनकुमार थापाले जनसम्पर्क समिति, अमेरिकाका सभापति विष्टलाई टिकट दिएर कैलाली-४ मा पठाएका हुन् ।
Battleground Analysis
अनुकूलता
- अन्तर्राष्ट्रिय अनुभव, कूटनीतिक पहुँच र नेटवर्क
- लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका
- पार्टीप्रति दीर्घकालीन निष्ठा र संगठनको अनुभव
प्रतिकूलता
- स्थानीय राजनीतिक आधार कमजोर हुने सम्भावना
- अन्तिम समयमा टिकट पाउँदा तयारी नपुग्नु
- स्थानीय शक्ति सन्तुलन व्यवस्थापन चुनौतीपूर्ण
गोरख बहादुर विष्टको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
