Home Candidate खड्कराज पौडेल

किताब लेखेका ‘अटेरी’ लाई देशको नीति लेख्ने धोको

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
खड्कराज पौडेल
कास्की - १ उम्मेदवार

खड्कराज पौडेल

पुरुष , ४६ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

स्वतन्त्र नागरिकको वकालत गर्ने गनेसको जीवनमा जेनजी आन्दोलनले एकाएक परिवर्तन ल्याइदियो । उनी स्वतन्त्र नागरिकबाट राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य बने र कास्की क्षेत्र नम्बर १ को उम्मेदवार पनि ।

०००

पोखरामा पठन संस्कृतिको विकास गर्न एउटा संस्था खुल्यो, र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपाल । यो संस्थाको परिकल्पना गरेका गनेस पौडेल (खडग राज) किताबहरूको विमर्श गरिरहेका भेटिन्थे । खित्का छोडेर हाँस्दै उनले गर्ने गहिरो प्रश्नले प्रभाव छोड्थ्यो । पोखरालाई विभिन्न आयामबाट विश्लेषण र विचार पत्रपत्रिकामा प्रकाशित गर्थे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका नागरिकको सरोकारका लागि आवाज उठाउँदै भन्थे- जग्गा अधिग्रहण गर्दा हाम्रो संस्कृति, परम्परा र मौलिकतालाई नमास । पटकपटक विस्थापित नगर, बरु एकै पटक कति चाहिने हो लिनू ।

किताबको विमर्श, साहित्यिक महोत्सवहरूको प्रबर्द्धन गर्दागर्दै गनेस आफैंले उपन्यास लेखे- पैताला । किताब, चलचित्र र समाजलाई विभिन्न कोणबाट हेर्ने पात्रको परिचय बनाएका गनेसको एकाएक नयाँ परिचय देखा पर्‍यो- २०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा ।

‘राजनीतिक अकर्मण्यताका विरुद्ध अटेरी गरौँ’ भन्दै उनी पोखरा महानगरको स्थानीय तहमा लौरो चुनाव चिह्न लिएर उम्मेदवार बने । ज्ञानको विमर्श गरिरहेका गनेसले पोखरामा अटेरी अभियानै थाले तर चुनावमा ५ हजार १२८ मत प्राप्त गरे, मेयर धनराज आचार्यले जिते ।

चुनाव हारेपछि फेरि उनी किताब लेखनमै फर्किए र विश्वप्रसिद्ध लेखक जोन स्टाइनबेकको किताब नेपालीमा अनुवाद गरे, ‘मुसा मानुष’ ।

स्वतन्त्र नागरिकको वकालत गर्ने गनेसको जीवनमा जेनजी आन्दोलनले एकाएक परिवर्तन ल्याइदियो । उनी स्वतन्त्र नागरिकबाट राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य बने र कास्की क्षेत्र नम्बर १ को उम्मेदवार पनि । त्यसो त त्योभन्दा अगाडि नेपालमा संविधान जारी भएपछि नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्दै नयाँ शक्ति नेपाल खोलेका डा. बाबुराम भट्टराई नेतृत्वमा पनि उनी छोटो समयका लागि सहभागी भए ।

"विचारले जितौं, चरित्रले टिकौं" भन्ने नाराका साथ मैदानमा उत्रिएका पौडेलले पोखराको सहरी मतलाई 'स्वीप' गर्न सके र मादी–रुपाका ग्रामीण क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न सके भने कास्की–१ मा कांग्रेस–एमालेको विरासत अन्त्य हुन सक्छ।

जेनजी आन्दोलनपछि नागरिक सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरेपछि काठमाडौंका मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने एक ठाउँमा उभिएर चुनावमा होमिए । बालेको कोटाबाट केन्द्रीय सदस्य बनेका गनेस कास्की-१ मा उम्मेदवार बनेर संसद् छिर्ने दाउ हेरिरहेका छन् ।

कास्की-१ बाट २०४८ सालयता नेपाली कांग्रेस र एमालेले अधिकांश चुनाव जितेका छन् । २०६४ सालमा मात्र माओवादीका नेता देव गुरुङले चुनाव जितेका थिए । पुराना दलहरूको संगठन र दबदबा तोड्दै प्रतिनिधिसभामा गएर नीतिगत सुधारमा लाग्ने प्रतिवद्धता जनाउँदै गनेसले भोट मागिरहेका छन् ।

तर, गनेसलाई चुनाव जित्न त्यति सहज भने छैन । मादी र रुपा गाउँपालिकामा एमालेका प्रतिनिधिले जितेका छन् भने महानगरका अधिकांश शहरी वडामा कांग्रेसले । ती सबैलाई चिर्दै नयाँ पार्टीमा देखिएको आकर्षण आफ्नो पक्षमा पार्ने होडमा गनेस छन् ।

२०३६ सालमा पोखरा महानगरपालिका-१४, मझेरीपाटनमा जन्मिएका पौडेलले पोखरा विश्वविद्यालयबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातक गरेका छन् । साहित्यबाट सुरु भएको उनको यात्राले सामाजिक आन्दोलन, सहकारी अभियान, युवा परिचालन हुँदै वैकल्पिक राजनीतिक अभ्यासको रूप लिएको छ तर सफल हुन उनका निम्ति चुनौती बाँकी नै छ ।

जेनजी आन्दोलनपछिको बदलिँदो मनोविज्ञानले उनलाई संसद् छिर्ने ढोका खोल्न मद्दत पुर्‍याउन सक्छ।

कास्की-१ मा नेपाली कांग्रेसले तिलक रानाभाटलाई उम्मेदवार बनाएको छ भने एमालेबाट बैनबहादुर क्षेत्री प्रतिस्पर्धामा छन् । नेपाली कम्युनिस्ट पार्टीबाट भने राजकाजी गुरुङ मैदानमा छन् ।

गनेसले नयाँ पार्टीमा आएको लहर र आफ्नो एजेण्डा र वैचारिकीले मत जित्ने योजना बुनिरहेका छन् । करिब १५ वर्ष शिक्षण गरेका, स्कुलसमेत चलाएका गनेसलाई कतिपय ठाउँमा प्राज्ञिक व्यक्तिका रूपमा चित्रण गरिए पनि कतिपय ठाउँमा नभिजेका र नागरिकका समस्यासँग भूगोलमा नजोडिएका उम्मेदवारका रूपमा पनि हेर्ने गरेका छन् ।

गनेस भने मतदाताको प्रतिक्रियाले आफू उत्साहित भएको र कास्की-१ को इतिहास फेरिने दाबी गर्छन् । अहिले पनि गनेसले मतदाताका बीच नयाँ नारा बनाइरहेका छन्, ‘सामाजिक विसंगति र राजनीतिक अकर्मण्यतालाई अटेर गरौँ’ र ‘विचारले जितौं, चरित्रले टिकौं ।’

Battleground Analysis

अनुकूलता

  • बौद्धिक र वैचारिक छवि
  • नयाँ राजनीतिक लहरको साथ
  • शिक्षण र सामाजिक अनुभव

प्रतिकूलता

  • पुराना दलहरूको बलियो संगठन
  • चुनावी अनुभवको कमी
  • भूगोलसँग प्रत्यक्ष रूपमा नजोडिएको आरोप
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

खड्कराज पौडेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित