एकीकृत समाजवादीसमेत मिलेर बनेको नेकपाबाट आफू उम्मेदवार बनेका उनी संघीय व्यवस्था, समावेशी, समानुपातिक प्रणाली मन पराउनेहरूले मत हाल्ने विश्वास उनको छ ।
०००
सशस्त्र संघर्षबाट शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा नेकपा माओवादीको पक्षमा देखिएको उभार जसरी खिइँदै गयो, नेता राजकाजी गुरुङ ‘करण’को सफलता पनि उसैगरी ओरालो लाग्यो ।
पार्टी भित्र केन्द्रीय नेताहरूसँग बलियो सम्बन्ध स्थापित गरे पनि जमिनमा माओवादी खिइँदै जाँदा पहिलो संविधानसभामा कास्की क्षेत्र नम्बर २ मा जित हासिल गरेका करणको प्रभाव कम हुँदै गयो ।
२०७० को संविधानसभा चुनावमा कास्की छोडेर जन्मथलो पर्वत पुगेका करणले जित हात पार्न सकेनन् । पर्वतमा हार बेहोरेका करण फेरि कास्कीमै फर्किए । र, २०७४ को निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा नेकपाबाट एमालेका रविन्द्र अधिकारीलाई साथ दिँदै आफू प्रदेश सभा ‘ख’ मा उम्मेदवार बने ।
एमाले र माओवादी मिलेर बनेको नेकपाबाट पनि व्यवसायबाट राजनीतिमा छिरेका नेपाली कांग्रेसका उम्मेदवार विन्दुकुमार थापासँग पराजित भए । २०७९ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ मा उठ्न चाहेका करणले यसपालि त्यहीँबाट टिकट पाएका छन् र युद्धको रापतापबाट आएर पाएको सफलतापछि लागेको हारको शृंखलालाई रोक्न चाहन्छन् ।
२०७९ को चुनावमा टिकट नपाए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा राजनीतिक सल्लाहकार भएका करण यो निर्वाचनलाई आफ्नै राजनीतिको परीक्षाका रूपमा उनले लिएका छन् ।
कास्की–२ बाट पहिलो संविधानसभा सदस्य बनेका तत्कालीन जिल्ला इन्चार्ज करणले युद्धका थुप्रै मोर्चा सम्हाले । उनको राजनीतिक पहिचान चुनावी नतिजाभन्दा अघि सडक, विद्यालय, जेल र संगठन निर्माणका कठिन मोडहरूबाट आइपुगेको छ । तर कास्कीमा माओवादी संगठन कमजोर हुनुमा उनीमाथि पनि लाग्ने गरेको अपजस करणले फेर्न चाहन्छन् ।
राजनीतिक सुझबुझ र खरो स्वभावका करणले सामाजिक तथा राजनीतिक आन्दोलनको अगुवाइ गरेका छन् । २०३४ साल फागुनमा पर्वतको पैंयु गाउँपालिकामा जन्मिएका उनी अहिले पोखरा–१३ भद्रकालीवासी बनेका छन् ।
२०४७ सालमा अनेरास्ववियुको दशौँ महाधिवेशनमार्फत औपचारिक रूपमा संगठित राजनीतिमा प्रवेश गरेका उनी २०४८ मा विद्यालय इकाइको सचिव हुँदै २०५० मा अध्यक्ष बने । २०५२ साल जेठ १ गते अनेरास्ववियु (क्रान्तिकारी) पर्वत जिल्ला अध्यक्ष बनेसँगै करण भूमिगत राजनीतिक यात्रामा प्रवेश गरेका हुन् ।
२०५४ सालमा संगठन निर्माणकै क्रममा गिरफ्तारी, हिरासत र जेल जीवन भोगेका करण तमु राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य हुँदै २०५७ सालको पहिलो सम्मेलनबाट महासचिवसमेत बने । २०५८–६२ को बीचमा गोरखा, लमजुङ, मनाङ र कास्कीमा सेक्रेटरी र इन्चार्जको जिम्मेवारी सम्हाल्दै उनी खुला राजनीतिमा आएका थिए । पछिल्ला २ चुनावमा हार बेहोरे पनि पार्टीको मोर्चामा भने उनी रहिरहे । कास्कीका केन्द्रीय नेतामा उनी सधैं दरिए ।
संगठन निर्माणबाटै नेता बनेका करणलाई यसपाली कास्की–१ को चुनाव जिताउने बलियो पार्टी संगठन नभए पनि मतदाताले आशा र भरोसाको नजरले हेरेको बताउँछन् । पोखराका राजनीतिक वृत्तमा चर्चाभन्दा बाहिर कहिल्यै नरहेका कारणले यस पटक कास्की–१ मा बाहुल्य रहेको गुरुङ तथा जनजाति समुदायको मतसमेत आफूतिर आकर्षित गर्दै जित निकाल्ने दाउमा छन् ।
माओवादीले नै युद्ध लडेर, संघर्ष गरेर स्थापित गरेको व्यवस्था नै अहिलेको मुख्य शासन व्यवस्था भएकाले पनि उनले आफू नागरिकको रोजाइमा पर्ने बताउँछन् । हिजो व्यवस्थाका लागि लडेको र अब नागरिकको अवस्था सुधारका लागि, देशमा विधिको शासन स्थापित गर्नका लागि चुनावी मैदानमा होमिएको उनले बताउने गरेका छन् ।
अहिले एकीकृत समाजवादीसमेत मिलेर बनेको नेकपाबाट आफू उम्मेदवार बनेका उनी संघीय व्यवस्था, समावेशी, समानुपातिक प्रणाली मन पराउनेहरूले मत हाल्ने विश्वास उनको छ ।