२०७४ साल र २०७९ मा जितेको कास्की-१ मा जेनजी आन्दोलनपछि पार्टीमाथि उठेका प्रश्न अधिकारीलाई जिताएर चिर्ने योजनासहित एमाले मतदाताको घैरदैलोमा भोट माग्दै पुगिरहेको छ ।
०००
नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ मा पार्टीका कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई २१ फागुनमा हुने प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।
तत्कालीन कालिका गाउँ विकास समितिको उपाध्यक्ष बनेका अधिकारी संसदीय निर्वाचनमा नयाँ अनुहारका रूपमा उम्मेदवार बनाएको छ । गाविसको उपाध्यक्ष हुँदै २०७४ सालमा जिल्ला समन्वय समिति कास्कीको प्रमुख बनेका बैनबहादुर अहिले एमाले जिल्ला अध्यक्ष हुन् ।
विद्यार्थी राजनीतिदेखि नै नागरिकसँग जोडिएर काम गरेका बैनबहादुरलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको एमालेले कास्की–१ मा तेस्रो जित निकालेका ह्याट्रिक मार्न चाहन्छ । पार्टीको विभिन्न तहमा काम गर्दै जिल्ला अध्यक्ष बनेका अधिकारी जनतासँग जोडिएका शालिन नेताको रूपमा एमालेले प्रस्तुत गरेको छ ।
२०७४ साल र २०७९ मा एमालेले जितेको यो क्षेत्रमा जेनजी आन्दोलनपछि पार्टीमाथि उठेका प्रश्न अधिकारीलाई जिताएर चिर्ने योजनासहित एमाले मतदाताको घैरदैलोमा भोट माग्दै पुगिरहेको छ । २०२९ सालमा जन्मिएका अधिकारी शालिन नेताका रूपमा चिनिन्छन् ।
एमाले भित्रको गुटगत राजनीतिमा खगराज अधिकारी पक्षमा उभिएका उनी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीमाथि उठिरहेको प्रश्नको जवाफसमेत दिने योजनामा छन् ।
अधिकारीले गाविस र जिल्ला समन्वय समितिको नेतृत्व गरेर नागरिकका समस्यासँग जोडिएको र नीतिगत रूपमा भएका अप्ठेराहरूको पनि पहिचान गरेको भन्दै मत मागिरहेका छन् ।
बैनबहादुर अधिकारीका लागि यो निर्वाचन "स्थानीय अनुभवलाई संघीय नीति निर्माणमा बदल्ने" अवसर हो। जिसस प्रमुख हुँदा कास्कीको पूर्वाधार विकासमा गरेको योगदान र जिल्ला अध्यक्षका रूपमा पार्टीमा पारेको प्रभावले उनलाई बलियो उम्मेदवार बनाएको छ।
२०४३ सालमा युवा लिग (वाईएल)को सदस्य र २०४६ सालमा अनेरास्ववियु कास्कीको जिल्ला कमिटी सदस्य हुँदै राजनीतिमा सक्रिय भएका अधिकारीले व्यवस्थापन संकायमा स्नातक तथा समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
जिल्ला विकास समितिको प्रमुख रहँदा जिल्ला समन्वय समितिको सञ्चालन र व्यवस्थापनका लागि आवश्यक कानुन निर्माणमा लबिइङ गर्दै कास्कीको विकास निर्माणमा अगुवाइ गरेको अनुभव अब संघीय संसद्मा पुगेर लगाउने उनले बताइरहेका छन् ।
उनले एमालेको कोर भोट सुरक्षित गर्दै मादी र रुपा गाउँपालिकाका ग्रामीण क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न सके भने, एमालेको 'ह्याट्रिक' सपना साकार हुनसक्छ।
विद्यार्थी राजनीतिदेखि पार्टी संगठन, स्थानीय तह र जिल्ला नेतृत्वसम्मको अनुभव बोकेका अधिकारीको पक्षमा संगठनात्मक पकड र स्थानीय अनुभवले मतदातालाई आकर्षण गरिरहेको दाबी एमालेको छ । कास्की–१ मा एमालेलाई यसपटक त्यति सहज भने छैन । ४ जनाको प्रमुख प्रतिस्पर्धामा जित निकाल्ने योजनासहित चुनावको रणनीति एमालेले बुनेको छ ।