Home Candidate तिलकबहादुर रानाभाट

अर्को राजनीतिक छलाङ मार्ने रणनीतिमा तिलक

http://नेपाली%20कांग्रेस
तिलकबहादुर रानाभाट
कास्की - १ उम्मेदवार

तिलकबहादुर रानाभाट

पुरुष , ५८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

२०५६ सालमै आफूलाई जिताउन खटिएका तिलकलाई जिताउन यसपटक तारानाथ मत माग्दै हिँडिरहेका छन् र बदलिएर आएको कांग्रेसले कास्की–१ मा इतिहास रच्ने दाबी नेताहरूले गरिरहेका छन् ।

०००

नेपाली कांग्रेसको राजनीतिमा कास्की-१ सँग रोचक सम्बन्ध छ । यो क्षेत्रले कहिले नसोचेको मत परिणाम दिन्छ त कहिले नसोचेको पात्रले टिकट पाउँछ ।

२०४८ सालमा तारानाथ रानाभाटलाई विजयी गराउँदै कांग्रेसको राजनीतिमा प्रभावशाली नेताका रूपमा उदय गराइदिएको कास्की–१ ले लगत्तै २०५१ सालको मध्यावधि चुनावमा हार चखाइदियो ।

२०५१ मा जितेर नेकपा एमालेमा उदय भएका खगराज अधिकारीलाई फेरि २०५६ सालमा हराएर कांग्रेसकै तारानाथलाई जितायो । मन्त्री, सभामुखसमेत भएका तारानाथले नै २०६४ को चुनावमा टिकट चाहेका थिए तर यथबहादुर थापाले पाए । त्यतिबेला भने कांग्रेस–एमालेलाई पनि पाखा पार्दै कास्की–१ ले माओवादीलाई जिताइदियो र २०७० मा यज्ञबहादुर जितेर मन्त्री नै बने ।

२०७४ र २०७९ मा हार बेहोरेको कांग्रेसले कास्की–१ मा आउँदो फागुन २१ चुनावको उम्मेदवार पनि रोचक ढंगले नै पाएको छ । तर पछिल्ला हारलाई जितमा बदलेर कांग्रेस अर्को रोचक इतिहास रच्ने दाउमा छ । कास्की–१ मा आकांक्षीहरूमध्येबाट खासै चर्चा नपाएका तर अब्बल उम्मेदवारका रूपमा विशेष महाधिवेशनपछि आएको गगन थापा नेतृत्वले तिलक रानाभाटलाई उम्मेदवार बनाएको छ ।

अघिल्लो निर्वाचनमै पूर्वसभापति कृष्ण केसीले टिकट पाउने चर्चाका बीच कास्की सभापति किशोरदत्तले हात पारे र हार बेहोरे । यस पटक पनि उनै केसीले टिकट ल्याउने चर्चा थियो । विशेष महाधिवेशनको पक्षमा उभिएका यी दुवै नेताले केन्द्रीय सदस्य पाए भने कास्की–१ को टिकट भने तिलकलाई दिएर कांग्रेसले जित निकाल्ने रणनीति बुनेको छ ।

२०५६ सालमै तारानाथलाई जिताउन खटिएका तिलकलाई जिताउन यस पटक तारानाथ मत माग्दै हिँडिरहेका छन् र बदलिएर आएको कांग्रेसले कास्की–१ मा इतिहास रच्ने दाबी नेताहरूले गरिरहेका छन् ।

तिलक रानाभाटका लागि यो निर्वाचन "व्यावसायिक सफलतालाई राजनीतिक जितमा बदल्ने" अवसर हो। 

कास्कीको मादी गाउँपालिका–३ मा जन्मिएका तिलक राजनीति, कानुन र वैदेशिक रोजगारी क्षेत्रका अनुभवी र परिचित व्यक्तिका रूपमा कांग्रेसले उभ्याएको छ । कानुनमा स्नातक गरेका तिलकले सरकारी जागिर छाडेर व्यवसायमा हात हाल्दै राजनीतिलाई पनि सँगै लगेका थिए ।

२०२४ सालमा जन्मिएका तिलकको राजनीति २०४२ सालमा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो । कांग्रेसको १०औँ र ११औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि तथा १२औँ, १३औँ र १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका तिलकले काठमाडौंलाई नै कर्मथलो बनाउँदै राजनीति र व्यवसाय सँगसँगै लगिरहेका थिए । म्यानपावर, होटल, हस्तकला, वित्तीय संस्था लगायतमा लगानी गरेका तिलकले अब राजनीतिमार्फत जनताको सेवामै ध्यान लगाउने बताउँदै मत मागिरहेका छन् ।

चुनाव, पार्टीका अधिवेशन र चाडपर्वमा कास्की आउने र काठमाडौंमै व्यवसाय गर्ने गरेकाले यो भूगोलमा नागरिकका पछिल्ला समस्यासँग निकट नभएको उनीमाथि आरोप छ । तर उनले कास्की क्षेत्र नम्बर १ का सबै भूगोल र क्षेत्रमा पुगेको, नागरिकका दु:ख, समस्या बुझेको बताउँदै घरदैलो गरिरहेका छन् ।

तिलक १३औँ महाधिवेशनपछि गठित नेपाली कांग्रेसको केन्द्रीय अर्थ समितिमा पनि सदस्य थिए । २०६३ मा स्थापना भएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका उनी संस्थापक अध्यक्ष हुन् ।

उनी आफूलाई केवल राजनीतिज्ञ मात्र नभई 'आर्थिक उन्नतिका योजनाकार' का रूपमा प्रस्तुत गरिरहेका छन्।

रानाभाट २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार थिए । २०७१ मा नेपाली कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठान हुँदै २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले उनलाई म्याग्दी जिल्लामा केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको थियो ।

यो चुनाव तिलकका निम्ति सहज भने छैन । पछिल्लो समय नयाँको लहरमा लेखक तथा सामाजिक मुद्दा उठाउँदै आएका गनेस पौडेललाई रास्वपाले उम्मेदवार बनाएको छ । एमालेले लगातारको जितलाई गुमाउन चाहँदैन भने नेकपाबाट पनि केन्द्रीय नेता राजकाजी चुनावी मैदानमा छन् ।

पेसागत रूपमा रानाभाटले शिक्षण, कानुन र परामर्श क्षेत्रमा अनुभव सँगालेका छन् र अहिलेसम्मको ज्ञान, अनुभव र सम्बन्धलाई जनताको सेवा लगाउने बताइरहेका छन् । नूरहिल इन्भेस्टमेन्टका सञ्चालक, क्यापिटल मर्चेन्ट फाइनान्सका अध्यक्षका रूपमा समेत काम गरेका रानाभाट कास्की–१ को आर्थिक उन्नतिका निम्ति योजनासहित आएको दाबी गर्छन् ।

Battleground Analysis

अनुकूलता

  • कांग्रेसको संस्थागत साथ र नेतृत्वको भरोसा
  • अनुभव, नेटवर्क र बहुआयामिक पृष्ठभूमि
  • ऐतिहासिक–भावनात्मक सन्दर्भ र पुराना नेताको सक्रियता

प्रतिकूलता

  • पछिल्ला दुई निर्वाचनमा हारको असर
  • वैकल्पिक राजनीतिप्रति बढ्दो आकर्षण
  • गाउँका मतदातासँग नभिजेको आरोप
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कांग्रेस

तिलकबहादुर रानाभाटको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित