राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य युवा उद्यमी कुन्ती पोखरेल २१ फागुनमा घोषित निर्वाचनमा काठमाडौं–२ बाट दोस्रोपटक उम्मेदवार बनेकी छन् ।
काठमाडौं बत्तीसपुतलीकी स्थानीय बासिन्दा रहेकी उनी झन्डै डेढ दशक अघिदेखि राप्रपाको राजनीतिमा सक्रिय छन् । राजनीतिसँगै उनी सामाजिक काम र महिला हिंसा विरुद्धका अभियानमा सक्रिय छिन् । उनी राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको अध्यक्ष पनि हुन् ।
डेढ दशकदेखि कागेश्वरी मनोहरा, शंखारापुर, सिनामंगल, कोटेश्वर, गौशाला क्षेत्रभित्रका शहरी बस्ती, अर्ध–शहरी क्षेत्र तथा ग्रामीण र पहाडी गाउँहरूमा पुगेर समाजसेवाको माध्यमबाट महिला, विपन्न समुदाय, श्रमिक, किसान र युवाका समस्या बुझ्ने र समाधानमा साथ दिने काम गर्दै आएकी छन्।
आफ्नो निर्वाचन क्षेत्रको घरदैलो अभियानमा रहेकी पोखरेलले पटक–पटक चुनाव जितेर काम नगर्ने, क्षेत्र परिवर्तन गर्दै हिंड्ने उम्मेदवारलाई बिदाइ गर्नुपर्ने बताइन् । चुनाव जितेर महत्वपूर्ण पदमा पुग्दा पनि जनताका पीरमर्का बुझ्न फर्केर नआउने नेताहरूलाई यसपटक मतदाताले विस्थापित गर्ने उनको अपेक्षा छ ।
पोखरेलको विचारमा राजनीति भनेको पेशा होइन, समाजसेवा हो । आफू समाजसेवाबाटै सक्रिय राजनीतिमा आएकाले जनताको सेवामै निरन्तर रहने उनले बताइन् ।
‘राष्ट्र, राष्ट्रियता र गतिशील समाजको निम्ति आवाज उठाइरहन्छु । युवा पुस्ताको प्रतिनिधित्वको लागि लड्छु’ पोखरेलले भनिन्, ‘देशमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति र राष्ट्रघात विरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउन मेरो उम्मेदवारी हो ।’
राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर उनी महिला सशक्तीकरण अभियन्ता पनि हुन् । उनले कैयौं महिलाहरूलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गर्नुका साथै युवा तथा महिलाहरूलाई उद्यमी बन्न सहयोग गर्दै बजार व्यवस्थापनमा पनि भूमिका निर्वाह गर्दै आएकी छन् ।
हिजोको हिन्दू राजतन्त्रात्मक शासन व्यवस्था फर्काउने राप्रपाको दीर्घकालीन एजेन्डालाई पनि उनले खुलस्त पारिरहेकी छन् ।
कुल ८८ हजार ७०८ मतदाता रहेको काठमाडौं-२ मा १८ देखि ४० वर्ष उमेर समूहका मतदाता ३७ प्रतिशत रहेका छन् । २०७९ सालको चुनावमा समानुपातिक तर्फ यो क्षेत्रमा रास्वपाले सर्वाधिक १३ हजार ८७९ मत ल्याउँदा दोस्रो स्थानमा रहेको राप्रपाले ११ हजार ८१६ मत पाएको थियो । उक्त चुनावमा एमाले ९ हजार ५१४ मत सहित तेस्रो स्थानमा थियो ।
२०७९ सालको निर्वाचनमा एमालेका मणिराम फुयाल ११ हजार ५६६ मतसहित दोस्रो स्थानमा खुम्चिँदा रास्वपाकी सोबिता गौतमले १५ हजार २३८ मतसहित विजय हासिल गरिन् । पोखरेल उक्त चुनावमा ११ हजार २४ मतसहित तेस्रो स्थानमा थिइन् ।
यस वर्ष गौतम चितवन-३ मा पुगेकी छन् भने रास्वपाबाट सुनिल केसी उम्मेदवार रहेका छन् । एमालेका मणिराम फुयाल र कांग्रेसका कबिर शर्मा पनि यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।
गत चुनावमा पराजित भए पनि उनी जनताकै बीचमा सक्रिय रहिन् । यही निरन्तरताले उनलाई 'चुनावका बेला मात्र देखिने नेता होइन, सधैं जनतासँग रहने व्यक्ति' का रूपमा चिनायो।
चुनावी गणित कमजोर भए पनि मतदातासँग घुलमिल हुनसक्ने क्षमता र धर्म जस्तो ज्वलनशील एजेण्डा उनीसँग छ । उनको प्रयासले यसपटक काठमाडौं–२ का सचेत मतदातालाई कति उद्वेलित पार्न सक्छ भनेर हेर्न चाहिं निर्वाचनसम्म पर्खिनै पर्नेछ ।