आफ्नै घरभित्रको राजनीतिक विरासतविरुद्ध उभिएर एक युवाले सुरु गरेको 'विद्रोह' को कथा हो— रुपक सिम्खडाको उम्मेदवारी । राप्रपा काठमाडौँका जिल्ला अध्यक्ष रहेका बुवाको राजनीतिक विरासतको छत्रछायालाई पन्छाउँदै, परिवारभित्रै वैचारिक विद्रोह गरेर उनी अहिले काठमाडौँ क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।
पारिवारिक सम्बन्धलाई दाउमा राखेर उनले रोजेको यो बाटो पदका लागि मात्र नभई, परम्परागत राजनीतिको विकल्प खोज्ने एक साहसी कदम हो । आफूले रोजेको यो बाटो पद प्राप्तिको लालसा मात्र नभई, परम्परागत राजनीतिको विकल्प खोज्ने एक साहसी कदम र व्यक्तिगत स्वतन्त्रताको प्रयोग भएको उनी बताउँछन् । थली निवासी रुपकले क्याप चुनाव चिह्न पाएका छन् ।
उनी कोरियाको आकर्षक कमाइ छाडेर स्वदेश फर्किएका थिए । विदेशमा भन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने हुटहुटी बोकेर नेपाल फर्किएको उनी बताउँछन् । अनि न्युरोडमा कार्यालय स्थापना गरी चीनबाट लत्ताकपडा आयात गरी बिक्री वितरण गर्ने व्यवसायमा लागे ।
व्यवसायमा सफल भए पनि रुपकको मन समाजसेवामा रमाइरह्यो। लायन्स क्लब अफ काठमाडौँ थलीको अध्यक्षका रूपमा उनले विगत तीन वर्षदेखि सामाजिक कार्यमा आफूलाई समर्पित गरेका छन्। विशेषगरी कोभिड-१९ महामारीका बेला बेला जब मानिसहरू भोकभोकै थिए, उनले साथीभाइसँग पैसा उठाएर रत्नपार्क, गौरीघाट र बालाजु क्षेत्रका असहायहरूलाई खाना पकाएर खुवाउने अभियान चलाए ।
हुम्लाको सर्केगाडका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नेदेखि देशका ६५ भन्दा बढी जिल्ला पुगेर मानवीय सेवा गर्न पनि सक्रिय भए ।
उनको राजनीतिक चेत र नेतृत्व क्षमताको वास्तविक परीक्षा भने जेन्जी आन्दोलनका क्रममा भयो। थलीमा आन्दोलनले उग्र रूप लिँदा र प्रहरी चौकीमा आगजनी हुँदा उनले देखाएको सुझबुझ लोभलाग्दो थियो । प्रहरीहरू ज्यान जोगाउन भागिसकेको अवस्थामा उनले जोखिम मोलेर चौकीभित्रका हतियारहरू सुरक्षित स्थानमा स्थानान्तरण गराए र उसै दिन राति प्रहरीलाई नै बुझाए ।
यति मात्र होइन, ध्वस्त भएको चौकी पुनर्निर्माणका लागि स्थानीयको नेतृत्व गर्दै १४ लाख रुपैयाँ संकलन गरी उनले राज्यविहीनताको महसुस गरिरहेका जनतालाई भरोसा दिलाए । यही घटनाले उनलाई महसुस गरायो कि संकटका बेला काम नलाग्ने दलीय संयन्त्रको विकल्प अब अनिवार्य छ ।
विगतमा राप्रपाको युवा संगठनको केन्द्रीय सचिवसम्मको जिम्मेवारी सम्हालिसकेका रुपकको पार्टीसँगको मोहभंग तब भयो, जब उनले चैत १५ को तिनकुने आन्दोलनपछि नेतृत्वमा इमानदारिता र सिद्धान्तप्रतिको निष्ठा हराएको देखे । दलीय सिन्डिकेट र खोक्रा आश्वासनको विरुद्धमा रहे पनि राजावादी विचारमा स्पष्ट रहेको उनी बताउँछन् । त्यसैले झापाबाट ज्ञानेन्द्र शाह काठमाडौँ एयरपोर्टमा ओर्लिँदा उनी दर्जनौँ मोटरसाइकलमा युवाहरुको हुल बटुलेर स्वागत गर्न पुगे ।
अहिले 'क्याप' (टोपी) चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा रहेका सिम्खडा राजनीतिक दलको विकल्पमा आफूलाई उभ्याउने कोसिसमा छन् । चुनाव प्रचारमा पनि युवाहरुको साथ पाउँदा उत्साहित भएको उनी बताउँछन् । उनी चुनावमा भोट माग्ने बेला जनतालाई रेल र ग्यास जस्ता मेगा प्रोजेक्टका सपना बाँडेर झुक्याउनु हुँदैन भन्ने मान्यता राख्छन् । 'राज्यको हैसियत अनुसारको विकास र जनतासँगको प्रत्यक्ष संवादबाट योजना निर्माण नै मेरो मुख्य एजेन्डा हो,' उनी भन्छन् ।
पारिवारिक विरासत त्यागेर, सुखसयलको व्यापार छाडेर जनताको घरदैलोमा पुगेका रुपकको यो विद्रोह अहिले काठमाडौँ क्षेत्र नम्बर २ मा चर्चाको विषय बनेको छ।