मर्चवारको मुहार फेर्ने संकल्पसहित चुनावी मैदानमा
उनी मधेशमा पछाडि परेका वर्ग र समुदायको हक अधिकारका पक्षमा आवाज बुलन्द गर्ने, उनीहरूका समस्यामा सधै साथमा उभिएर सरकारी निकायमा माग पूरा गर्न दवावमूलक आन्दोलनको अगुवाइ गर्ने नेताको छवि बनाएका नेता छन् ।
०००
२०४२ सालमा रुपन्देहीको रोहिणी गाउँपालिका–२ श्रीनगरमा जन्मेका भोपेन्द्र यादव हाल रुपन्देही क्षेत्र नं ४ को मर्चवारी गाउँपालिका ३ सेमरा स्थायी ठेगाना भए पनि भैरहवाका बासिन्दा हुन् ।
भैरहवा बहुमुखी क्याम्पसबाट बीबीएस पूरा गरेका यादवले भारत उत्तर प्रदेशको जगदिशप्रसाद पाण्डे स्मारक महाविद्यालयबाट मानविकी संकायमा एमए उत्तीर्ण गरे ।
भैरहवा क्याम्पसमा पढ्दा प्राज्ञिक विद्यार्थी परिषद्को रुपन्देही संयोजक भएर काम गरेका भोपेन्द्र २०६३ सालमा मधेश आन्दोलनमा सक्रिय भए । आफ्ना काका चन्द्रिकाप्रसाद यादव तत्कालीन मधेशी जनअधिकार फोरम रुपन्देहीका अगुवा नेता र पछि समानुपातिक सांसद भएकाले भोपेन्द्र त्यो बेलादेखि दलीय राजनीतिमा जोडिए ।
मधेश आन्दोलनकै क्रममा तत्कालीन माओवादीसँगको द्वन्द्व र टकरावका कारण भोपेन्द्र विस्थापित भएर तीन वर्ष भारतमा लुकेर बस्न वाध्य भए । २०६९ सालमा डा. सिके राउतको स्वतन्त्र मधेश गठबन्धनमा आवद्ध भएर रुपन्देही संयोजक बने । उक्त संगठन अर्ध भूमिगत भएर ‘स्वराज’ आन्दोलन गरेको थियो । २०७४ सालको चुनावपछि केपी ओली प्रधानमन्त्री भएका बेला उनी आवद्ध गठबन्धन शान्तिपूर्ण राजनीतिमा आयो र जनमत पार्टी गठन भयो ।
२०७९ सालको चुनावमा जनमत पार्टीबाट रुपन्देही ४ को उम्मेदवार बनेका उनले १५ हजार ५२६ मत पाएर तेस्रो स्थानमा रहे । पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्य र केन्द्रीय सचिवमा निर्वाचित भए । पार्टीमा विवाद र विभाजन आउंदा पनि उनले अध्यक्ष डा. राउतलाई नै साथ दिए । आसन्न प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएका यादव निरन्तर आन्दोलनको मोर्चामा खटिएर उदाएका नेता हुन् । उनी मधेशमा पछाडि परेका वर्ग र समुदायको हक अधिकारका पक्षमा आवाज बुलन्द गर्ने, उनीहरूका समस्यामा सधै साथमा उभिएर सरकारी निकायमा माग पूरा गर्न दबाबमूलक आन्दोलनको अगुवाइ गर्ने नेताको छवि बनाएका नेता छन् ।
संसदीय चुनावमा दोस्रोपटक प्रतिस्पर्धा गरिरहेका उनले मर्चवार क्षेत्रमा एम्बुलेन्स र दमकलको निःशुल्क सेवा, सुविधासम्पन्न अस्पताल र स्नातकोत्तरसम्म पढाइ हुने प्राविधिक सरकारी क्याम्पस स्थापना, सबै किसानलाई विद्युत् महसुल निःशुल्क, बुद्ध जन्मस्थल लुम्बिनीसँग मर्चवारलाई जोडेर कृषि पर्यटन केन्द्र बनाउने, मर्चवारलाई भ्रष्टाचारमुक्त बनाउने भोपेन्द्रका प्राथमिकता छन् ।
यो क्षेत्रमा भोपेन्द्रले जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ला, नेपाली कांग्रेसका आशुतोष मिश्र, नेकपा एमालेका प्रमोद यादव र रास्वपाका कन्हैया बानिया लगायत उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् ।
२०७९ सालको समानुपातिक मतमा शुक्लाको पार्टी लोसपाले सबैभन्दा बढी २२ हजार ३७ मत पाएको थियो भने नेपाली कांग्रेसले १८ हजार ८३२, जनमत पार्टीले १६ हजार ५४८, नेकपा एमालेले २ हजार ८२३ र जसपा नेपालले २ हजार २६२ मत पाएका थिए ।
Battleground Analysis
अनुकूलता
- निरन्तरता र सांगठनिक पकड
- आन्दोलनकारी छवि र ग्राउन्ड कनेक्ट
- लोकप्रिय चुनावी एजेन्डा
प्रतिकूलता
- हेभिवेट प्रतिस्पर्धीहरूको चुनौती
- समानुपातिक मतको दबाब
- विभाजित मतको जोखिम
भोपेन्द्र प्रसाद यादवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?


