नुवाकोट-२ मा यसपटक "परीक्षित तर असफल" भनिएका पुराना नेताहरू र "परीक्षित र सफल" भनिएका खतिवडाबीचको लडाइँ देखिन्छ। खतिवडाले आफ्नो 'कृषक' छवि र प्रदेश सांसद हुँदाको 'विकासको रेकर्ड' लाई चुनावी अभियानको मेरुदण्ड बनाएका छन्।
०००
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले नुवाकोट क्षेत्र नम्बर २ बाट हिरानाथ खतिवडालाई उम्मेदवार बनाएको छ । प्रत्यक्षतर्फका यी उम्मेदवारले आफ्ना मुद्दा र एजेन्डा लिएर मतदाताको घर पुगेका छन् । उनी मात्र होइन, अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरू पनि चुनावी चटारोमा छन् ।
खतिवडा आफूले अघि सारेका जनपक्षीय विकास, कृषि क्षेत्रको व्यवसायीकीकरणमार्फत् आर्थिक सम्मृद्धि र नीतिगत एजेण्डाले सदरमुकामका बजार क्षेत्रदेखि गाउँगाउँमा मतदाताको आफूप्रति आकर्षण र आशा दुवै थपिएको भन्दै उत्साहित छन् ।
विदुर र बेलकोटगढी दुई नगरपालिकासहित तारकेश्वर, किस्पाङ र म्यागङ गाउँपालिका गरी ५ स्थानीय तह रहेको नुवाकोट क्षेत्र नं. २ मा कांग्रेस, नेकपा, एमाले र रास्वपाबीच प्रतिष्पर्धा हुने देखिएको छ । अहिले यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका खतिवडा, नेपाली कांग्रेसबाट जगदीश्वरनरसिंह केसी, एमालेबाट केशवराज पाण्डे, रास्वपाबाट अच्युतम लामिछाने र राप्रपाका झनक प्याकुरेलसहित १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
२०७९ सालमा जितेको कांग्रेसले यो क्षेत्रमा आफ्नो निरन्तरता चाहेको छ । एमाले पुरानो विरासत फर्काउने कसरतमा छ भने नेपाली कम्युनिष्ट पार्टी आफ्नो यसअघिको मत जोगाएर प्रभाव विस्तार गर्दै जित्न हासिल गर्ने रणनीतिका साथ चुनावी मैदानमा कस्सिएर लागि परेको छ ।
यदि उनले रास्वपाको पुरानो मत र कांग्रेस-एमालेका असन्तुष्ट युवा मतलाई समेट्न सके भने, १३ वर्षपछि नुवाकोट-२ मा वामपन्थी विरासत फर्कने सम्भावना बलियो छ।
राष्ट्रिय स्वतन्त्र पार्टी यी तीन दललाई चुनौती दिइरहेको देखिए पनि चुनाव नजिकिँदै जाँदा दिन प्रतिदिन नेता कार्यकर्ताहरूले पार्टी छोड्नेजस्ता उसभित्र बढेको निराशा र विचलनले प्रतिष्पर्धा कमजोर बन्दै गएको देखिन्छ ।
गत निर्वाचनमा रास्वपाले तत्कालीन माओवादी केन्द्रसहितको चुनावी गठबन्धनबाट उम्मेद्वार बनेका कांग्रेसका अर्जुननरसिंह केसीलाई टक्कर दिँदै दोस्रो स्थान जमाउन सफल भएको थियो । केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी हुँदा रास्वपाका सुमन विक्रम पाण्डेले १६ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए ।
सो क्षेत्रमा एमालेका नारायण खतिवडाले १५ हजार ५ सय ६१ मत ल्याएका थिए । केसी यो पटक समानुपातिकतर्फ खसआर्य क्लस्टरको पहिलो नम्बर सूचीमा छन् भने उनले भाइ जगदीश्वरनरसिंह चुनावी मैदानमा उतारेका छन् । पहिलो र दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद् भइसकेका कांग्रेसका केसी २०७४ मा प्रदेश सभामा एमालेका पाण्डेसँग पराजित भए ।
पाण्डे भने ०७० को निर्वाचनमा केसीका दाजु अर्जुननरसिंहसँग पराजित भए । नेकपाका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य खतिवडा २०७४ मा प्रदेश सभामै सांसद निर्वाचित भएका थिए । नुवाकोट क्षेत्र नम्बर २ मा २०६४ को पहिलो संविधानसभाको निर्वाचन जितेको माओवादीले नयाँ तर, प्रदेश सांसद हुँदा आफ्नो क्षेत्रमा विकास कार्यक्रम मार्फत् सफल परीक्षण भइसकेका नेता खतिवडामार्फत् आफ्नो त्यतिबेलाको विरासतलाई फर्काउने ध्येयमा छ ।
२०७४ मा प्रदेश सभा सदस्य रहँदा उत्तरी दुर्गम क्षेत्रमा सडक पूर्वाधार पुर्याएको र विकासमा 'सफल परीक्षण' भएको नेताका रूपमा उनलाई मतदाताले चिनेका छन्। उनले कुनै पनि आर्थिक विवाद वा भ्रष्टाचारमा नमुछिएको स्वच्छ छवि बनाएका छन्।
प्रतिनिधिसभाका लागि ठूला मानिएका दलहरूबाट अरु सबै पुरानै अनुहार छन् । नेकपाले भने नयाँ उम्मेदवारको रूपमा खतिवडालाई मैदानमा खडा गरेको हो । खतिवडाले सुशाशन, पारदर्शिताजस्ता विकास र नीतिगत एजेन्डाहरू जोडतोडले उठाइरहेका छन् ।
अघिल्ला निर्वाचनहरूमा पटकपटकको गठबन्धनबाट कहिले कांग्रेस त कहिले एमालेलाई सहयोग गरेर जिताएको माओवादीले यसपटक १३ वर्षपछि आफ्नै उम्मेद्वारलाई मतदान गर्न पाउने अवसरले पनि कार्यकर्ता तहमा बेग्लै ऊर्जा छ । संगठनात्मक दृष्टिले बलियो नै रहेको नेकपाका नेता कार्यकर्ताहरू विगतमा आफ्नै उम्मेद्वार नहुँदा निष्कृय बसिरहेकाहरू पनि खतिवडालाई जिताइछाड्ने अठोट बोकेर गाउँगाउँमा मतदाता रिझाउन कम्मर कसेर खटिएका छन् ।
तुलनात्मक रूपमा यसअघि कांग्रेस र एमालेभन्दा कमजोर मानिएको नेकपाले अहिले आफ्नो मत विस्तार गरिरहेको छ भने अन्यको चुनावी अभियानको क्रममा मतदाताप्रतिको कम उत्साह र जनसहभागिताले नै देखाइरहेको छ । अब हुने अर्ली इलेक्सन भदौमा भएको हिंसात्मक जेनजी आन्दोलनले त्यतिबेला नेतृत्व गर्ने कांग्रेस एमालेको शासनशैली तथा राजनीतिका विरुद्ध नागरिकले विकल्प खाजेकाले उनीहरूसँग रुष्ट मतदाताको उपयुक्त विकल्प अनि उम्मेद्वार नै खतिवडा हुने अर्को बलियो आधार बनेको बुद्धिजीवी बसुराम रिजाल दाबी गर्छन् ।
आफैँ सफल कृषक (पोल्ट्री व्यवसाय) भएकाले ९० प्रतिशत कृषिमा आबद्ध नुवाकोटका मतदातासँग उनको सिधा 'कनेक्सन' छ। "किसानको प्रतिनिधि किसान नै" भन्ने उनको नाराले ग्रामीण क्षेत्रमा ठूलो प्रभाव पारेको छ।
२०७९ को निर्वाचनमा कांग्रेसले समानुपातिकमा २० हजार ८५ मत प्राप्त गर्दै पहिलो बनेको थियो । समानुपातिक मत हेर्दा एमाले दोस्रो स्थानमा रहेको देखिन्छ । त्यतिबेला एमालेले १५ हजार २४८ मत र रास्वपाले १६ हजार ४७७ मत पाएको थियो । माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्दै आफ्नो उम्मेदवार उठाएको थिएन । उसले समानुपातिकमा ११ हजार १५५ (समाजवादी ७२१ सहित) मत प्राप्त गरेको थियो । तर, यो अंकगणितमा अहिले ठूलो फेरबदल आउनसक्ने सम्भावना छ ।
यसअघि पटकपटक जितेर संसदमा पुगेका पार्टीका कांग्रेस र एमालेका नेताहरूले विगतमा गरेका बाचा र प्रतिबद्धताहरू पूरा नगरेको भन्दै कतिपय मतदाता विकल्पको खोजीमा देखिन्छन् । विवाद र भ्रष्टाचारमा कहिल्यै नमुछिएका खतिवडा प्रतिनिधिसभामा नयाँ अनुहार हुन् । उनी २०७४ सालमा यहाँबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पाँच वर्षे कार्यकालको क्रममा पनि उनी कुनै विवादमा परेनन् ।
नुवाकोटको उत्तरी दुर्गम क्षेत्रका नागरिकहरू सडक असुविधाकै कारण कष्टकर जनजीवन भोगिरहेको समयमा नेता खतिवडाको पहलमा व्यवस्थित र पक्की सडकहरू बन्न सफल भए ।
विगतमा सधैँ अर्को दललाई भोट हाल्नुपर्ने बाध्यतामा रहेका माओवादी/नेकपाका कार्यकर्तामा यसपटक आफ्नै उम्मेदवार (त्यो पनि जिल्ला इन्चार्ज) पाएपछि ठूलो ऊर्जा र सक्रियता देखिएको छ।
उसो त खतिवडा राजनीतिसँगै विगत १५ वर्षदेखि कृषिमा भिजिरहेका सफल कृषक पनि हुन् । उनले गरिरहेको अन्य कृषि कर्मसँगै पोल्ट्री व्यवसाय अहिले नुवाकोट र रसुवाका सयौं कृषकहरूले अनुशरण गरी व्यवसायिक कृषि उद्यमबाट सफलता पाएका छन् । ‘यहाँका ९० प्रतिशत कृषिमा आवद्ध मतदाताहरूमध्ये आफ्नो प्रतिनिधिको रूपमा मलाई जनसमर्थन दिन तयार बहुसंख्यकहरूले नाफाका लागि राजनीति रोज्नेहरूलाई भन्दा कृषि बुझेको र भिजेको उम्मेद्वार पायौं भन्नेमा खुसी छन्,’ खतिवडा भन्छन् ।
शिक्षकको जागिर र अवसर हुँदाहुँदै पनि समाजको परिवर्तन र जनताका अधिकार ल्याउन भन्दै आफ्नो सुखसयलको जीवन जिउन छोडेर २०५२ सालमा नेकपा माओवादीले सञ्चालन भएको जनयुद्धमा नेता खतिवडा होमिएका थिए । पार्टी र आन्दोलनको विभिन्न कालखण्डमा सफल नेतृत्व गरेका उनी हाल नेकपाका केन्द्रीय सदस्य र जिल्ला इञ्चार्ज छन् ।
‘जनताको मुक्तिका लागि मैले जीवनभर संघर्ष गरेर आएको हुँ र अझैँ पनि बाँकी जीवन जनताकै सेवामा बिताउने राजनीतिककर्मीको रूपमा मलाई यहाँका मतदाताले योग्य परीक्षण गरिसकेका छन्,’ खतिवडाले आफ्नो जितको आधार प्रस्तुत गर्दै भन्छन्, ‘मैले यसअघि प्रदेश सभामा निर्वाचित भएर गएपछि ५ वर्षको पूरै कार्यकाल आफ्नो क्षेत्रको विकास निर्माण र सेवामा जनताले महसुस गर्नेगरी काम गरेकोले पनि मेरो झन् आवश्यकता मतदाताले बुझेको पाएको छु ।’