२०२८ साल माघ २० गते सुर्खेतमा जन्मिएका जितबहादुर राना २०४६ देखि राजनीतिमा छन् । सालमा एमालेको सदस्यता लिएर राजनीतिमा जोडिएका जितबहादुरले २०५३ सालदेखि २०५६ सालसम्म शिक्षण पनि गरे ।
२०५६ मा स्थायी शिक्षकको जागिर छोडेर राजनीतिमै केन्द्रित भए । त्यसबेला देशमा तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्ध चलिरहेको थियो । तत्कालीन माओवादीले उठाएका एजेण्डाहरूले उनलाई तानिरहेको थियो । २०५८ मा एमाले छोडेर माओवादीमा लागे र भूमिगत भए ।
२०५८ मै माओवादीको स्थानीय जनसरकार प्रमुख भए । सुर्खेत जिल्लाको पूर्वी कमाण्डको प्रमुख भएर काम गरे । पार्टीका इलाका सदस्य, सचिव हुँदै पार्टीको जिल्ला संयोजक भए । हाल नेपाली कम्युनिस्ट पार्टीको केन्दीय सदस्य छन् ।
अब संसदीय यात्रा तय गर्न खोज्दैछन् जितबहादुर । पहिलो पटक सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका छन् । यसअघि २०७४ र २०७९ मा सुर्खेत १ मा प्रत्यक्षतर्फ उनको पार्टीका उम्मेदवार नै थिएनन् ।
२०७४ मा एमालेसँग गठबन्धन भयो र एमालेका उम्मेदवार ध्रुव शाहीलाई समर्थन गरे । यसपटक फेरि शाही उम्मेदवार छन् । २०७९ मा कांग्रेससँग गठबन्धन भयो र कांग्रेसका उम्मेदवार पूर्णबहादुर खड्कालाई समर्थन गरे । यसपटक पूर्णबहादुर खड्काकै भाइ विष्णुबहादुर उम्मेदवार छन् ।
जितबहादुरले विगतमा जसलाई भोट मागेका थिए तिनलाई छाडेर यसपटक आफूलाई भोट देऊ भन्दैछन् । उनले अनलाइनखबरसँग भने, ‘कांग्रेस र एमालेका उम्मेदवारलाई पालैपालो पछिल्ला दुई चुनावमा भोट मागेर हिँडियो । यो पटक आफैँ उम्मेदवार छु । जनताको परीक्षामा त म छँदैछु, पार्टी पनि परीक्षामा छ तर हामी यो क्षेत्रमा जित निकाल्न सक्छौं ।’
बहुदलयताका सात वटा चुनाव नियाल्दा यो क्षेत्रबाट पाँच पटक कांग्रेस र दुई पटक एमालेले चुनाव जितेका छन् । जितबहादुरले जितेको खण्डमा उनको पार्टीले जित निकालेको पहिलो चुनाव हुनेछ । कांग्रेसका पूर्णबहादुर खड्का २०४८ सालमै यो क्षेत्रबाट चुनाव जितेका नेता हुन् । २०५१ र २०५६ को संसदीय निर्वाचनमा पनि खड्का विजयी भएका थिए ।
२०६४ को संविधानसभा निर्वाचनमा २०६४ मा एमालेकी कमला शर्मा निर्वाचित भएकी थिइन् । त्यसपछिका २०७० को चुनावमा कांग्रेसका पूर्णबहादुरले नै चुनाव जिते । २०७४ मा जितबहादुरको पार्टीको समेत समर्थनमा एमालेका ध्रुव शाहीले बाजी मारे । २०७९ मा जितबहादुरको पार्टीले कांग्रेसका पूर्णबहादुरलाई नै समर्थन गर्यो र चुनाव पनि जिते ।
यसपटक दलहरू एक्लाएक्लै चुनावी मैदानमा छन् । यसकारण पनि जितबहादुरको जित वा हार उनी संलग्न पार्टीको पनि परीक्षा हो ।
जितबहादुरको सकारात्मक पक्ष भनेको उनी स्थानीय स्तरमा बौद्धिक नेताको रुपमा चिनिन्छन् । २०६४ सालदेखि २०६८ सालसम्म पार्टीको बुद्धिजिवी संगठनको जिल्ला अध्यक्ष भएका उनी पार्टीको बुद्धिजिवी संगठनको केन्द्रीय उपाध्यक्षसम्म भए ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दल मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि पूर्ववत जिम्मेवारी स्वतः खारेज भएको छ ।
२०६५ सालमा सुर्खेतकै भैरव मावि व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेको अनुभव उनीसँग छ ।
२०६८ सालमा मध्यपश्चिामाञ्चल क्षेत्रीय अस्पताल विकास समितिको अध्यक्ष भएर तीन वर्ष काम गरे । उनले सुर्खेत उपत्यका विकास प्राधिकरणको अध्यक्ष भएर पनि काम गरेका थिए । उनले चिङ्गाड उज्यालो अभियान चलाएर बिजुली पनि पुर्याएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका जितबहादुरले मध्यपश्चिम विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
जितबहादुरको मुख्य आय स्रोत भने खेती किसान नै हो । सुर्खेतमै उनको कृषि फार्म पनि छ । पुर्ख्यौली खेतीपातीलाई निरन्तरता दिइरहेका छन् ।
जितबहादुर प्रतिनिधिसभा सदस्य नै किन हुन चाहन्छन् ? जवाफमा उनी नेपालमा अझै पनि विभेदको संस्कार कायमै रहेको, जति विकासमा मुलुकअगाडि बढ्नुपर्ने हो त्यति बढ्न नसकेको र जति विकास भएको छ त्यसमा समानता हुन नसकेकाले चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउँछन् । ‘सुर्खेत प्रदेशको राजधानी हो । अहिले पनि सुर्खेतको कतिपय ठाउँमा पुग्न अर्को जिल्ला भएर जानुपर्छ’ उनी भन्छन्, ‘मेरो नारा छ- हाम्रो क्षेत्र हामी बनाउँछौं । हाम्रो देश हामी बनाउँछौं ।’
विभेद्को अन्त्य गर्ने उनको ध्येय हो । ‘नेपालको विकासको जुन मोडेल छ त्यसमा व्यापक सुधार आवश्यक छ’ उनी भन्छन्, ‘उद्यमशीलतामा ध्यान दिनुपर्छ । ९० प्रतिशत शिक्षा जागिर नपाउने खालको छ । किसानको पक्षमा कानुन छैन । खेतीपातीमा पूर्वाधारमा काम गर्नुछ । उत्पादनमै राज्यको नीति सहयोगी हुनुपर्ने छ । बजारको सुनिश्चितताका लागि ठोस नीति नै आवश्यक छ ।’
‘जसले जे गर्दा पनि हुने प्रवृत्ति अन्त्य गर्ने र समग्रतामा आर्थिक विकासको मोडेल भूगोलअनुसार तय गर्ने’ उनको उद्देश्य छ । यी सबै कार्यका लागि चुनाव जित्नुपर्ने छ । विगतको चुनावको तथ्यांकका दृष्टिमा उनी कमजोर छन् । यसलाई स्वीकार गर्दै उनी भन्छन्, ‘परम्परागत आखाँबाट हर्दा चुनौती देखिन्छ । तर, जनताले परिवर्तन चाहेका छन् । जनतामा आक्रोश छ । त्यो आक्रोशलाई एकत्रित गरेर उज्वल भविष्यको सपना देखाउन सक्छु ।’
सुर्खेत–१ मा ध्रुव र विष्णुबाहेक पनि जितबहादुरका प्रतिस्पर्धी छन् । रास्वपाबाट टेकबहादुर सिंह र राप्रपाबाट रविकिरण हमाल उम्मेदवार छन् । एमालेका शाहीबाहेक अन्य सबै उम्मेदवार पहिलोपटक चुनाव लड्दैछन् ।
व्यक्तिगत विवरण
नामः जितबहादुर राना
जन्मः २०२८ साल माघ २०, सुर्खेत
स्थायी ठेगानाः सुर्खेत
राजनीतिक टाइमलाइन
२०६५ : भैरव मावी सुर्खेतको विद्यालय व्यस्थापन समितिको अध्यक्ष
२०६८ : मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समितिको अध्यक्ष
२०४६ : एमालेमा आवद्ध भएर राजनीतिक जीवन सुरु
२०५८ : माओवादीमा प्रवेश गरेर भूमिगत
२०५८ : माओवादीको स्थानीय जनसरकार प्रमुख
२०५९ : माओवादीको सुर्खेत जिल्लाको पूर्वी कमाण्ड प्रमुख
हाल : नेपाली कम्युनिस्ट पार्टीको केन्दीय सदस्य