तत्कालीन माओवादी हुँदै माओवादी केन्द्र बनेको र हाल नेपाली कम्युनिस्ट पार्टीले १८ वर्षपछि लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने महसुस गर्यो । सशस्त्र युद्धपछि भएका चुनावहरूमा त्यही पृष्ठभूमिका नेताहरूले जित्दै आएको गोरखा–२ मा यसपटक भूमिगत कालका प्रभावशाली विद्यार्थी नेतालाई उम्मेदवार बनाइएको छ ।
००० ०००
कुनै पदको लोभ न सत्तामोह । करिब ३६ वर्षको राजनीतिक यात्रामा विद्यार्थी र पार्टीको सांगठनिक जिम्मेवारी मात्र सम्हाले । अध्ययनमा समय खर्चिए । पुस्तक लेखे । पद र नियुक्तिका लागि कुनै नेताको ढोका ढकढक्याएनन् ।
पार्टी विधिविपरीत हिँड्दा प्रतिवाद गरिरहे । तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) का नेता लेखनाथ न्यौपाने विद्रोही स्वर हुन् । पदको आसक्ति नभएका उनी अवसरबाट वञ्चित रहे । तर, सबै नेताहरूसँग समदूरीमा रहे ।
सिरानचोक गाउँपालिका–३ हर्मीका लेखनाथ न्यौपाने यो पटक भने आसन्न निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार छन् । नेकपाबाट गोरखा–२ मा पहिलोपटक न्यौपानेले चुनावी प्रतिस्पर्धा गर्दैछन् । इमानदार र प्रष्ट वक्ताको रूपमा पार्टीभित्र परिचित उनी २०२९ सालमा हर्मीमा जन्मिए । विपन्न परिवारमा हुर्केका उनको बाल्यकाल सुखद रहेन । ११ सन्तानमध्ये उनी आठौँ हुन् ।
महेन्द्र लीला मावि (तत्कालीन समयमा निमावि) मा आठ कक्षासम्मको अध्ययनपश्चात् उनी माध्यमिक तहको अध्ययनका लागि जनता मावि पुगे । त्यहीँबाट एसएलसी दिए । एसएलसीपछि उच्च शिक्षाका लागि उनी गोरखाबाट काठमाडौँ लागे । ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस (हाल नेपाल शिक्षा क्याम्पस) बाट आफ्नो अध्ययनलाई अघि बढाए । शिक्षाशास्त्र संकाय रोजे । त्यहाँबाट बीएड सके ।
न्यौपानेले राजनीतिप्रतिको चासो १६ वर्षको उमेरदेखि नै राख्न थालेका थिए । विद्यार्थी राजनीतिमा सक्रिय हुन थाले । २०४५ सालमा विद्यार्थी संगठनमा आबद्ध भए । २०४९ सालदेखि तत्कालीन संयुक्त जनमोर्चा पार्टीको पूर्णकालीन कार्यकर्ता बने । २०५० सालमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको काठमाडौँको जिल्ला अध्यक्ष, २०५१ मा केन्द्रीय सदस्य हुँदै २०६० सालमा विद्यार्थी संगठनको मूल नेतृत्वमा पुगे । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष दुई कार्यकाल नेतृत्व गरे ।
विद्यार्थी संगठनमा आबद्ध रहेर लेखनाथ सक्रिय रहेकै बेला माओवादी पार्टीले २०५२ साल फागुन १ बाट सशस्त्र युद्ध सुरु गर्यो । जनयुद्ध सुरु गरेकै वर्ष उनी पहिलोपटक कीर्तिपुरबाट पक्राउ परे । केही महिनापछि धरौटीमा रिहा भए । धरौटी २८ हजार रुपैयाँका लागि उनले आफ्नो घरको लालपुर्जा राख्नुपरेको थियो । माओवादी सशस्त्र युद्ध विस्तार हुँदै गर्दा दुई वर्षपछि उनलाई प्रहरीले फेरि पक्राउ गर्यो । २०५४ सालमा पुनः पक्राउ परेका उनी चार वर्षपछि छुटे । द्वन्द्वकालमा श्रीमती गुमाए । त्यसबेला जेलमा पाएको यातनाका कारणले उनी देब्रे कान नसुन्ने भए ।
शान्ति प्रक्रियामा आइसकेपछि तत्कालीन माओवादीले दुईपटक संविधानसभा र दुईपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरिसकेको छ । यो १८ वर्षको अवधिमा माओवादी केन्द्रले लेखनाथलाई उम्मेदवार बन्ने अवसर दिएन । उनका समकालीन व्यक्तिहरू सांसद, मन्त्री बनिसक्दा उनलाई भने पार्टीले केन्द्रीय सदस्यमा खुम्चाएर राख्यो । ‘जेन–जी’ विद्रोहपछि माओवादी केन्द्र विघटित भएर नेपाली कम्युनिस्ट पार्टी बनेसँगै लेखनाथले चुनावमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् ।
यसअघि ‘सिनियर’ नेताहरूकै कब्जामा क्षेत्र रहेकाले उनलाई अवसरबाट वञ्चित बनाए । यो कुरा उनी स्वयं पनि स्वीकार गर्छन् । ‘सबैले सबै पद पाउँदैनन्, फेरि गोरखामा सिनियर नेताहरू भएर मैले अवसर नपाएको होला,’ लेखनाथले अनलाइनखबरसँग भने, ‘पार्टीभित्र फरक विचार र आलोचनात्मक दृष्टिकोण राखेकाले अवसर दिएनन् भन्ने बाहिरी विश्लेषण हुन्छ मेरो ।’
गोरखा–२ बाट २०७९ को निर्वाचनमा प्रचण्ड आफैँ उठेका थिए । २०७४ सालमा नारायणकाजी श्रेष्ठले टिकट पाए । २०७० मा हितराज पाण्डे उम्मेदवार बने । आसन्न निर्वाचनमा प्रचण्ड रुकुम पूर्व पुगेका छन् भने श्रेष्ठले सर्लाहीबाट उम्मेदवारी दिएका छन् । शीर्ष नेताहरूले गोरखा छाडेपछि यो पटक न्यौपानेले अवसर पाएका हुन् । लेखनाथका अनुसार यसपटक पनि उनले उम्मेदवार बन्न पाऊँ भनेर हारगुहार गरेनन् । पार्टीले टिकट दिएपछि मात्र उनी अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका थिए । ‘मलाई यो पद चाहियो, त्यो ठाउँमा नियुक्ति चाहियो भनेर मैले आजसम्म कसैलाई भनिनँ,’ लेखनाथ भन्छन्, ‘मेरो नाम सिफारिस गर, मलाई टिकट चाहियो भनेर कोही नेतालाई भेट्न पनि गइनँ । टिकट पाएपछि मात्र प्रचण्डकहाँ पुगेको थिएँ ।’
अहिले उनी घरदैलो अभियानमा व्यस्त छन् । जुनसुकै हतकण्डा अपनाएर चुनाव जित्नैपर्ने मान्यतामा आफू नरहेको उनी बताउँछन् । पार्टीको निर्णयअनुसार जनअनुमोदनका लागि होमिएको बताउने लेखनाथले भुइँमान्छेको मुद्दाका लागि सधैं लडिरहने बताउँछन् । स्वच्छ छविको पहिचान बनाएका लेखनाथले आफ्नो जित्ने आधारमा विगतको पृष्ठभूमिलाई समेत देखाउँछन् । इमानदारिता कायम राखेर चुनावी मैदानमा उत्रेको बताउँदै लेखनाथ भन्छन्, ‘पैसा नभएर चुनाव हारिन्छ भने हार्न तयार छु । तर तडकभडक गर्दिनँ । बरु हारेर मानक स्थापित गर्छु ।’
को–को छन् मुख्य प्रतिस्पर्धी ?
२०५६ सालसम्म कांग्रेसले वर्चस्व कायम गर्दै आएको गोरखामा २०६४ सालपछि माओवादीको दवदबा बढ्यो । त्यसयताका निर्वाचनमा माओवादी नै हावी बन्दै आएको छ । २०७० सालको निर्वाचनमा माओवादीबाट गोरखा–२ मा विजयी भएका हितराज पाण्डे स्थानीय विकास मन्त्रीसमेत बने । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट उठेका नारायणकाजी श्रेष्ठ डा. बाबुराम भट्टराईसँग पराजित भए । माओवादीबाटै फुटेर गएका भट्टराई नयाँ शक्तिबाट चुनाव लडेका थिए । २०७९ सालको निर्वाचनमा भारी मतान्तरले प्रचण्ड सोही क्षेत्रमा निर्वाचित भए । त्यसो त, उक्त निर्वाचनमा माओवादीले कांग्रेससँग तालमेल गरेको थियो । बाबुरामले पनि प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेर सहयोग गरेकाले जित सहज भएको थियो ।
कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी रहे पनि पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि प्रतिस्पर्धीको रूपमा उदाएको देखिन्छ । नयाँको खोजीमा कांग्रेस र माओवादीबाटै पार्टी प्रवेश गर्नेहरू पनि बढिरहेका छन् । लेखनाथसँग कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ (चक्रे मिलन) र रास्वपाका कविन्द्र बुर्लाकोटी चुनावी मैदानमा उत्रिएका छन् । नेकपाका उम्मेदवार लेखनाथले आफ्नो मुख्य प्रतिस्पर्धी शक्ति कांग्रेसलाई ठान्छन् । रास्वपाप्रति उनको टिप्पणी छ, ‘उहाँहरू भर्खर जन्मनुभएको हो । सिद्धान्त के हो ? विचार के हो ? जरा के हो ? कहाँ पुग्ने हो ? नेता कार्यकर्ताको नैतिकता के हो ? त्यो टुंगो नभई टिप्पणी गर्न मिल्दैन ।’
सांगठनिक हिसाबले एमाले कमजोर रहेको बताउँदै न्यौपाने कांग्रेसलाई नै मुख्य प्रतिस्पर्धी ठान्छन् । विशेष महाधिवेशनपछिको कांग्रेस फुटले आफूलाई फाइदा पुगेको उनी जिकिर गर्छन् । बाबुराम भट्टराई ‘ब्याक’ हुनुले जितको सम्भावना झन् बलियो बनेको नेकपाभित्रको बुझाइ छ । लेखनाथ भन्छन्, ‘चुनावमा आउने बेलैमा उहाँलाई सोधेर तपाईं जाने भए म जान्नँ भनेर आएको थिएँ । अहिले उहाँ नभएपछि उहाँको उत्तराधिकारीको रूपमा मैले काम गर्नुपर्छ, उहाँ ब्याक हुँदा मलाई समर्थन गर्नुपर्छ ।’
सांगठनिकभन्दा व्यक्तिगत प्रभावका कारण भट्टराई गोरखा–२ मा बलियो उम्मेदवारका रूपमा परिचित थिए । तर, उनी प्रतिस्पर्धी भएनन् । भट्टराई उम्मेदवार नहुँदाको लाभ कुन उम्मेदवारले पाउन सक्छन् ? यकिनसाथ भन्न कठिन छ । भट्टराई सांकेतिक रूपमा रास्वपातिर ढल्किए पनि उनी आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले हालसम्म कसैलाई सहयोग गर्ने निर्णय नभएको विज्ञप्ति निकालेर जानकारी गराएको छ । नेकपाका उम्मेदवार लेखनाथ भने भट्टराईले आफूलाई सहयोग गर्नेमा ढुक्क देखिन्छन् । अघिल्लोपटकको मत परिणामअनुसार पहिलो माओवादी केन्द्र भएको उल्लेख गर्दै निर्वाचित हुने दाबी नेकपा उम्मेदवार लेखनाथ गर्छन् ।
गोरखा–२ मा गत निर्वाचनमा समानुपातिकतर्फ १९ हजार मत तत्कालीन माओवादी केन्द्रले कटाएको थियो । दोस्रो स्थानको कांग्रेसको पक्षमा ११ हजार ८८२ मत खसेको थियो । रास्वपाले ८ हजार ९९९ मत ल्याउँदा चौथो शक्ति एमालेले ६ हजार १८५ मत प्राप्त गरेको थियो ।
पटक–पटक पार्टीले प्रदान गर्ने अवसरबाट वञ्चित भएका लेखनाथ यसपटक जनअनुमोदित भएर संघीय संसद्मा आउने विश्वाससहित मत माग्न व्यस्त छन् ।
प्रस्तुतीः विकास मरहट्टा