गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि छाडिदिएको क्षेत्र गोरखा–२ मा यसपटक नेपाली कांग्रेसले आफ्नै उम्मेदवार उठाएको छ । कांग्रेसबाट गोरखा–२ मा उम्मेदवार बनेका छन्– प्रकाशचन्द्र दवाडी ।
कांग्रेस महासमिति सदस्य दवाडीलाई सभापति गगन थापाले उम्मेदवारको टिकट दिएका हुन् । विशेष महाधिवेशनको पक्षमा खुलेका दवाडीका लागि सभापतिमा थापा चयन भएसँगै उम्मेदवार हुने बाटो खुलेको हो ।
२०३२ सालमा हालको अजिरकोट वडा नम्बर–४ मा जन्मिएका दवाडी विद्यार्थी राजनीति हुँदै कांग्रेससँग जोडिएका थिए । अजिरकोट वडा नम्बर ४ मा रहेको हिमालय माध्यमिक विद्यालयमा २०४६ सालमा उनी नेविसंघमा आबद्ध भएका थिए । तत्कालीन समयमा नेविसंघको विद्यालय समितिमा उनले उपसभापति पदमा रहेर काम गरे ।
कांग्रेसमा क्रियाशील रहे पनि केन्द्रीय महाधिवेशनको प्रतिनिधि हुन भने उनले २०७२ सालसम्म कुर्नुपर्यो । १३औँ महाधिवेशनका लागि उनी जिल्लाबाट महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिका लागि चयन भए । संविधान निर्माणपछि भएको प्रदेशसभाको पहिलो निर्वाचनमा उनी उम्मेदवार बन्न पाए ।
२०७४ सालमा गोरखा–२ (ख) बाट उनी निर्वाचित भए । उक्त निर्वाचनमा गोरखा–२ (ख) मा दवाडी १५ हजार ८५३ मत ल्याएर निर्वाचित भएका थिए । दवाडीले तत्कालीन माओवादी केन्द्रका उम्मेदवार अमरबहादुर गुरुङ तमुलाई पराजित गरेका थिए । त्यस समय गण्डकी प्रदेश संसदीय दलको प्रवक्ताको भूमिकामा दवाडी थिए ।
२०७८ सालमा भएको कांग्रेसको १४औँ महाधिवेशनमा पनि उनी प्रतिनिधि छनोट भए । १४औँ महाधिवेशनबाट दवाडी पार्टीको गण्डकी प्रदेश सदस्यमा निर्वाचित भए ।
सामाजिक कार्यमा दवाडीले अनाथ, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि विद्यालयहरूमा अक्षय कोष स्थापना गरेका छन् । १५६ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाएको र विभिन्न विद्यालयमा पुस्तकालय निर्माण गरेको दवाडीले जानकारी गराएका छन् ।
२०७४ सालमा प्रदेशसभा सदस्य हुँदा त्यसबापत आएको सबै सेवा सुविधा सामाजिक क्षेत्रका कार्यमा खर्च गरेको दवाडीले दाबी गरे । औपचारिक शिक्षामा स्नातक तहको अध्ययन सकेका दवाडीले आफूलाई राजनीतिकर्मीका साथै व्यवसायी र समाजसेवीका रूपमा चिनाउँछन् ।
गत निर्वाचनमा गोरखामा दलहरूले प्राप्त गरेको मतको आधारमा विश्लेषण गर्दा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) पहिलो दल हो । कांग्रेससँग चुनावी तालमेल गरेर त्यसबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जितेका थिए ।
गोरखा–१ कांग्रेसलाई र यो क्षेत्र माओवादी केन्द्रको भागमा छुट्याइएको थियो । प्रचण्डले २६ हजार १०९ मत पाउँदा दोस्रो स्थानमा रास्वपाका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६३९ मत पाएका थिए । समानुपातिकतर्फ पनि माओवादी केन्द्र पहिलो बनेको थियो । समानुपातिकतर्फ माओवादी केन्द्रले १९ हजार मत ल्याउँदा दोस्रो स्थानको कांग्रेसले ११ हजार ८८२ मत प्राप्त गरेको थियो ।
गत स्थानीय तहको निर्वाचनमा मत विश्लेषण गर्दा पनि कांग्रेस माओवादी केन्द्रभन्दा पछाडि छ । यस क्षेत्रमा रहेका पालिकाहरू पालुङटार, अजिरकोट र बारपाकमा तत्कालीन माओवादी केन्द्रले जितेको थियो । सिरानचोकमा भने कांग्रेसले जितेको छ ।
गोरखा–२ मा पालुङटार नगरपालिका, अजिरकोट, सिरानचोक, बारपाक सुलिकोट र गोरखा नपाका ८ देखि १४ सम्मका वडाहरू पर्दछन् ।