२० वर्षे भिजन पेपर देखाएर मत माग्दै मानबहादुर
विपक्षीलाई गाली गर्नभन्दा विकासको दीर्घकालीन भिजन पेपर देखाएर मतदातासँग मत मागिरेहका छन्, मानबहादुर शाही ।
०००
२०४३ कात्तिक २० गते रुकुमपश्चिममा जन्मिएका मानबहादुर शाही पहिलो पटक संसदीय चुनाव लड्दै छन् । उनी पेशाले इन्जिनियर हुन् । लुम्बिनी विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर मानबहादुर विगत १५ वर्षदेखि कन्सल्टिङ क्षेत्रमा रहेर काम गर्दै आएका थिए । अहिले चुनावमा होमिएका छन् ।
विद्यार्थी जीवनमा उनी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा थिए । २०५९ सालमा अखिल क्रान्तिकारीमा जोडिएका उनी विभिन्न तहको जिम्मेवारी पूरा गर्दै २०७२ मा अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य भए । २०८० सालमा माओवादी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा जोडिए ।
उनै मानबहादुरलाई रास्वपाले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । पहिलोपटक संसदीय चुनाव लड्दै गरेका उनी २० वर्षे भिजन पेपर बनाएर मतदाता कहाँ पुगिरहेको बताउँछन् ।
‘सुशासन कायम गर्नका लागि कुशल नेतृत्व चाहिन्छ । भ्रष्टाचार नियन्त्रणको कुरा यसैसँग जोडिन्छ । केन्द्रीयस्तरमा मैले प्राथमिकतामा राखेर उठाउने विषय यही हो,’ उनी भन्छन्, ‘रुकुम पश्चिमको हकमा २० वर्षको भिजन पेपर बनाएर काम गर्दैछु ।’
मानबहादुरको भिजन पेपर कार्यान्वयन भए २० वर्षपछि रुकुमपश्चिम कस्तो हुन्छ ?
जवाफमा उनी स्थानीय जनताको जीवनस्तर अहिले भन्दा निकै राम्रो हुने बताउँछन् । रुकुम पश्चिम मुलुककै एक लोभलाग्दो पर्यटकीय क्षेत्र, कृषिको पकेट क्षेत्र र युवाको आकर्षणको केन्द्र बन्ने आश देखाउँछन् ।
उनी भन्छन्, ‘प्राकृतिक स्रोतका हिसाबले ठूला–ठूला हाइड्रोपवार निकाल्न सकिन्छ । हाइड्रोजनसम्बन्धी पनि अध्ययन भइरहेको छ । यसमार्फत राज्यलाई समेत योगदान गर्न सकिन्छ ।’
कृषिमा सुधार गर्ने उनको योजना छ । ‘एकीकृत कृषि प्रणालीमा जानैपर्छ । वडा–वडाको माटो परीक्षण गरेर के फल्छ त्यो लगाउने हो, सुन्तला फल्छ भने त्यही लगाउन्े, स्वाउ फल्छ भने स्याउ लगाउने,’ उनी भन्छन्, ‘ठूलो मात्रामा उत्पादन गर्ने हो । उत्पादित कृषि उपजको बजारको सुनिश्चिततता सरकारले गरिदिने । यसमा फोकस हुनेछु ।’
पर्यटनका दृष्टिले पनि रुकुमपश्चिम सम्भावना नै सम्भावना भएको क्षेत्र हो । ‘स्यार्फु ताल छ । त्यहाँ हाइड्रो पनि चलाउने हो । बन्जीजम्पदेखिका पूर्वाधार बनाएर पनि यसको प्रचार गर्न सकिन्छ ।’
नेपालमा गौतम जातिको उत्पत्ति भएको क्षेत्र पनि रुकुमपश्चिम नै हो । डाँडाकाँडाको प्रचार गरेर विदेशी पर्यटक लोभ्याउन सकिन्छ । धार्मिक पर्यटनको सम्भावना पनि उस्तै छ । मठमन्दिरको प्रचार–प्रसार गर्ने मानबहादुरको योजना छ ।
‘सानीभेरी र ठूलीभेरी नदी जोडिएको रिम्ना छ । त्यहाँ एउटा मोटरेबल पुल बनाउने । एउटा त्रिकोणात्मक झोलुङ्गे पुल बनाउने र त्यसलाई घाटको रूपमा विकास गर्ने,’ उनी भन्छन्, ‘यहाँ धेरै काम गर्न सकिने ठाउँ छ ।’
नागरिकको स्वास्थ्यका लागि सुविधा सम्पन्न अस्पताल बनाउने, शिक्षालाई रोजगार र स्वरोजगारसँग जोड्ने उनको योजना छ ।
‘शिक्षालाई रिसर्च सेन्टरको रूपमा विकास गर्नुपर्छ । शिक्षकलाई राजनीतिबाट मुक्त गरेर यो पेशालाई सम्माजनक बनाउनुपर्ने छ । शिक्षालाई प्रविधिसँग जोड्नुपर्छ । समाज सुधारको काम यहीँबाट सुरु हुन्छ ।’
नेपाली समाजमा निराशा रहेको भनेर कतिपयले प्रचार गरिरहेका बेला मानबहादुर भने सम्भावना नै सम्भावना छ केवल पहल गर्ने नेतृत्व चाहिएको हो र त्यो आफूबाट सम्भव हुने आस देखाएर मतदाता कहाँ पुगिरहेका छन् । यसैलाई उनले चुनाव जित्ने प्रमुख आधार मानेका छन् ।
रुकुमपश्चिम तत्कालीन माओवादीको राम्रो प्रभाव रहेको क्षेत्र हो । मानबहादुर आफैं माओवादी पृष्ठभूमिबाट राजनीतिमा आएका नेता हुन् । माओवादी छाडेका जनार्दन शर्मा यसपटक पनि यही क्षेत्रबाट उम्मेदवार छन् । माओवादी केन्द्रसहितका दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल शर्मा उम्मेदवार छन् ।
व्यक्तिगत विवरण
नाम: मानबहादुर शाही
जन्म: २०४३ कातिक २० गते, रुकुम पश्चिम
स्थायी ठेगाना: चौरजहारी नगरपालिका, रुकुम (पश्चिम भाग)
राजनीतिक टाइमलाइन
२०५९ : अखिल क्रान्तिकारीमा संलग्न
२०७२ : अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य
२०८० : माओवादी छोडेर रास्वपा प्रवेश
२०८२ : प्रतिनिधिसभा सदस्यको उम्मेदवार
Battleground Analysis
अनुकूलता
- युवा उम्मेदवार हुन्
- प्राविधिक र व्यावसायिक विज्ञता
- स्पष्ट विकास योजना
प्रतिकूलता
- पहिलो पटक संसदीय चुनाव लड्दैछन्
- राजनीतिक पकड र दलीय विरासत
- विगतका सहकर्मीहरूसँग चुनावी मैदानमा
मानबहादुर शाहीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

