रेन्द्रबहादुर खड्काका लागि यो निर्वाचन "व्यक्तिगत लोकप्रियतालाई दलीय सफलतामा बदल्ने" अवसर हो। पुराना दलहरूले पटक-पटक आश्वासन दिएर काम नगरेको भन्दै उनले दिएको 'विकल्प' को नाराले डोटीका मतदातालाई कत्तिको आकर्षित गर्छ, त्यो परिणामले देखाउनेछ।
०००
व्यापारका साथसाथै सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाएका नरेन्द्रबहादुर खड्का अचेल राजनीतिक दौडमा छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उनी डोटी जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार छन् ।
खड्काको उम्मेदवारीले पुराना दलहरूलाई झस्काइरहेको छ । २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका खड्काले ६ हजार ६८९ मत पाएका थिए । त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशवबहादुर बलायरले ७ सय ७४ मत मात्रै पाएका थिए ।
२०२९ साल जेठमा पूर्वीचौकी गाउँपालिका–३ मा जन्मेका खड्काले आधारभूत शिक्षा गाउँकै विद्यालयबाट पूरा गरे । त्यसपछिको पढाइ उनको भारतमा भयो । रोजगारीको सिलसिलामा भारत रहेका बुवा प्रेमसिंह खड्कासँगै उनी उतै गए । मुम्बइको राममनोहर लोहिया कलेजबाट वाणिज्य शास्त्रमा प्रमाण–पत्र तह पूरा गरी नेपाल फर्केपछि उनले गाउँको सामुदायिक विद्यालयमा ७ वर्ष अध्यापन गरे ।
०५४ सालमा गाउँको नेत्रेश्वरी युवाक्लवको सचिवबाट सामाजिक अभियानमा लागेका खड्काले पछिल्लो समय व्यापार व्यवसायलाई मुल पेशा बनाएका छन् । व्यापारीहरूको पेशागत संगठन डोटी उद्योग वाणिज्य संघको जिल्ला अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निभाएका खड्का जिल्लाको पर्यटकीय विकासका लागि वकालत गरिरहन्छन् ।
उनले कांग्रेस र एमालेका असन्तुष्ट मतदाताको मत तान्न सकेमा डोटीमा ठूलो 'उलटफेर' हुन सक्छ।
चुनावी मैदानमा खड्काका अन्य ८ उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दैछन् । उनले आफु जित्ने दावी गर्दै आएका छन् । २०७९ सालको चुनावअघि कांग्रेसको क्रियाशील सदस्य रहेका खड्का आफूलाई कांग्रेस समर्थकका अधिकांश मत र अन्य दल समर्थकहरूबाट पनि राम्रो मत आउने आशमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्ति भएको र देश प्रष्ट बनाउने एजेण्डा भएकाले जनताले आफूलाई विश्वास गर्ने उनको दावी छ ।
अन्य दलका उम्मेदवारहरू जस्तै खड्कासँग पनि चुनावी एजेण्डा भने बासी नै छन् । सुदूरपश्चिम प्रदेश राजधानी दिपायल हुनुपर्ने भन्दै डोटीमा लामो समयसम्म भएको आन्दोलनको नेतृत्व गरेका खड्का अहिले पनि प्रदेश राजधानीको विषय उठाउँदै आएका छन् । यस्तै, खड्काले खुटिया–दिपायल फाष्ट ट्र्याकलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।
खप्तड, शैलेश्वरी, तेले, बडीकेदर धार्मिक पर्यटन क्षेत्रको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्र्ने, जिल्लाको स्वस्थ्य क्षेत्रमा सुधार गर्ने, गुणस्तरीय शिक्षमा विशेष जोड दिने र पश्चिम सेती परियोजना छिटो निर्माणका लागि पहल गर्ने विषयलाई आफ्ना एजेन्डा बनाएका छन्, उनले । फुटबलका खेलाडीसमेत रहेका खड्का खेल क्षेत्रको विकासका लागि आफूले ठोस योजना बनाउने बताउँछन् ।
जित्ने आधार
खड्का आफू चुनाव जित्नेमा विश्वस्त छन् । ‘पुराना दलका उम्मेदवारहरूले जनतालाई पटक–पटक धोका दिएका छन्,’ खड्का भन्छन्, ‘त्यसकारण डोटेली जनताले विकल्प खोजेका छन् । यही नै मेरो जितको प्रमुख आधार हो ।’
२०७९ को निर्वाचनमा स्वतन्त्र रूपमा लडेर सम्मानजनक मत (६,६८९) प्राप्त गरेका खड्का यसपटक 'घण्टी' चिह्न र रास्वपाको लहरसहित मैदानमा उत्रिएकाले डोटीको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।
उनले आफू सामाजिक मान्छे भएको र सधैं सामाजिक क्रियाकलापमा खटिँदै आएका कारण पनि जनताले आफूलाई माया गर्ने बताए । उनी थप्छन्, ‘डोटीको इतिहास मेटाउने गरी धोका दिनेहरू भन्दा जनताले मलाई विश्वास गर्ने छन् ।’ गत निर्वाचनमा एक्लै लड्दा पनि आफूले सम्मानजनक मत पाएको र अहिले सबैतिर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर छाएको हुँदा आफूलाई जित सहज हुने उनको भनाइ छ ।
आफ्नो राजनीतिक पृष्ठभूमि त्यति लामो नभए पनि आफू डोटीको विकासका लागि सधैं समर्पित रहेको उनको दावी छ । ‘विगतका चुनावमा झुटा आश्वासन दिएर चुनाव जितेकाहरू अर्को चुनावमा आएर फेरि झुटा कसम खाँदैछन्,’ खड्का भन्छन्, ‘अब जनताले उनीहरूलाई भोट हाल्दैनन् ।’
उनी थप्छन्, ‘जसले पटक–पटक अवसर पाएर पनि जनतालाई धोका दिए, तिनीहरूलाई अब जनताले विश्वास गर्दैनन् ।’