प्रतिनिधिसभा सदस्यले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र उद्योग लगायतका क्षेत्रका लागि उचित नीति बनाउनुपर्नेमा उनी प्रष्ट छन् ।
०००
झापा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार हुन् ३७ वर्षीय प्रकाश पाठक । उनी मतदातासामु कानुन बनाउने बाचा गर्दै भोट मागिरहेका छन् ।
प्रकाश भन्छन्, ‘जनताले पद्धति खोजेका छन् । संसद्को भूमिका के हो ? भनेर प्रश्न गरिरहेका छन् ।’
स्थानीय स्तरको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार रहेको उल्लेख गर्दै उनी संघीय सरकारले ठूला आयोजनाको मात्रै जिम्मेवारी लिनुपर्नेमा जोड दिइरहेका छन् । प्रतिनिधिसभा सदस्यले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र उद्योग लगायतका क्षेत्रका लागि उचित नीति बनाउनुपर्नेमा उनी प्रष्ट छन् ।
‘मैले संसद् भनेको नागरिकको आवाज केन्द्रमा पुर्याउने पद हो, पार्टी सरकारमा गए बजेट विनियोजन लगायतमा पनि भूमिका खेल्छु । प्राथमिकतामा भने देश बनाउने नीति बनाउँछु, पद्धिति बसाल्न भूमिका खेल्नु भनेर मत मागिरहेको छु,’ उनी भन्छन् ।
झापा बाह्रदशी गाउँपालिका घाग्रा निवासी प्रकाशले स्नातकसम्म अध्ययन गरेका छन् । १३ वर्ष विभिन्न सञ्चारमाध्यममा काम गरेका उनी भन्छन्, ‘परिवर्तन हुनुपर्छ, रुपान्तरण हुनुपर्छ भन्ने लाग्ग्थ्यो । पत्रकारितामा रहँदा देश कसरी चलेको छ भन्ने बुझियो । अब बोलेर र लेखेर मात्रै हुँदैन । सही कानुन बनाउन आफैँ अगाडि सर्नुपर्छ भन्ने लाग्यो र चुनावी मैदानमा छु ।’
उनले तीन वटा प्राथमिकता अघि सारेका छन्- शिक्षा स्वास्थ्य र कृषि ।
कृषिको समुचित सम्बोधन नगरी मुलुक अगाडि दबढ्न नसक्ने उनको बुझाइ छ । ‘किसानले गर्व गर्ने अवस्था बन्नुपर्छ । यसका लागि आन्तरिक उत्पादन बढाउनुपर्छ । सरकारले उत्पादनमै अनुदान दिनुपर्छ ।’
नेपालको शिक्षा समयअनुकुल र प्रविधिमैत्री हुन नसकेको प्रकाशको बुझाइ छ । उनी भन्छन्, ‘२०२८ साल देखि एउटै शिक्षा नीति छ । यसलाई समयअनुकुल बनाउँदै लैजनुपर्छ । पाठ्यकक्रममा परिमार्जन गर्नुपर्छ । निजी र सरकारी दुवै विद्यालयमा समान पाठ्यक्रम र समान ड्रेस हुनुपर्छ ।’
शिक्षा र स्वास्थ्यमै नागरिकको लगानीको धेरै प्रतिशत खर्च भइरहेकाले नागरिकमा आक्रोश रहेको प्रकाश बताउँछन् । उनी भन्छन्, ‘हरेक परिवारको ६० प्रतिशत आम्दानी शिक्षा र स्वास्थ्यमा खर्च भइराखेको छ ।’
उनका नजरमा शिक्षामा र स्वास्थ्य उपचारमा नागरिको समान पहुँच छैन । प्रकाश थप्छन्, ‘स्वास्थ्यमा सर्वसुलभता आवश्यक छ । स्वास्थ्यका लागि भवनमा लगानी होइन । स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्छ । स्वास्थ्य बीमाको प्रभावकारिता बढाउनुपर्नेछ ।’
यी सबै काम गर्नका लागि प्रकाशलाई चुनाव जित्नुपर्ने छ । यसपटक देशभर उनी संलग्न पार्टी रास्वपाको पक्षमा माहोल छ । तर बलियो लसंगठन भएका र अनुभवी नेताहरूलाई प्रकाशले चुनावी मैदानमा पछि पार्नुपर्ने छ ।
झापा ३ बाट दलीय र स्वतन्त्र समेत गरेर १७ जना उम्मेदवार छन् । नेकपा एमालेबाट हरिबहादुर राजवंशी, नेपाली कांग्रेसबाट राजेन्द्र कुमार घिमिरे, नेपाली कम्युनिस्ट पार्टीबाट डिल्लीराम घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र प्रसाद लिङ्देन, जनता समाजवादी पार्टी नेपालबाट कर्णलाल राजवंशी, श्रम संस्कृति पार्टीबाट दिपक तिम्सिना, उज्यालो नेपाल पार्टीबाट श्याम कृष्ण पाठक उम्मेददवार छन् ।