विद्यार्थी राजनीतिबाट उठेका पौडेल विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् । पहिलो प्रयासमा संसद् पुग्ने प्रयासमा उनी छन् ।
०००
नेपाली कांग्रेसले बागलुङ क्षेत्र नम्बर २ मा विद्यार्थी राजनीतिबाट उदाएका नेता टेकराज पौडेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।
बागलुङको निसीखोला गाउँपालिका-४ मा जन्मिएका पौडेल विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पौडेल २०४६ सालबाट विद्यार्थी राजनीतिमा होमिएका हुन् ।
दरबार हाइस्कुल संस्कृत मावि रानीपोखरी काठमाडौंमा अध्ययन गर्ने सिलसिलामा २०४६ सालको जनान्दोलनमा सक्रिय सहभागी पौडेल २०५० सालमा नेविसंघ बाल्मिकी क्याम्पसको इकाइ सचिव भएका थिए ।
२०५२ सालमा धौलागिरि अञ्चल इन्चार्ज रहेका पौडेल सचिव नेविसंघ बागलुङ जिल्ला अधिवेशन २०५३ मा अध्यक्ष पदका उम्मेदवार थिए । उनी २०५३ सालमा काठमाडौं शिक्षा क्याम्पसको स्ववियु सभापति र २०५७-२०६० सम्म नेवीसंघको केन्द्रीय सदस्य भएका थिए ।
उनी २०६० देखि २०६३ सालसम्म दुई कार्यकाल नेविसंघको सहमहामन्त्री भएका थिए । २०६८ सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्य भएका पौडेल २०५९ असोज १८ र माघ १९ गतेको राजाको निरङ्कुश शासन विरुद्धको लोकतान्त्रिक जनआन्दोलन, विभिन्न विद्यार्थी आन्दोलनको क्रममा प्रहरीबाट पटकपटक गिरफ्तार गरी दर्जनौं पटक प्रहरी हिरासतमा परेका थिए ।
उनले कांग्रेसको सांगठनिक मतलाई पूर्ण रूपमा 'रुख' चिह्नमा खसाल्न सके र मध्यपहाडी लोकमार्ग आसपासका सहरहरूको मत तान्न सके भने बागलुङ–२ मा रोचक नतिजा आउन सक्छ।
१२औं महाधिवेशनदेखि निरन्तर कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका पौडेल विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिए ।
पश्चिम बागलुङमा समाज सेवामा निरन्तर सक्रिय भई शिक्षा, स्वास्थ्य, सडक लगायतका भौतिक पूर्वाधारहरूको विकासका लागि सक्रिय पौडेल बढीजसो काठमाडौंमा बस्ने हुँदा मतदातामाझ त्यति धेरै परिचित नेता भने होइनन् ।
तीन दशक लामो कांग्रेसको राजनीति गरेका पौडेलले भूगोलका हिसाबले दुर्गम भए पनि मध्यपहाडी लोकमार्गका कारण सुगम हुन थालेकाले लोकमार्गसँग गाउँलाई जोड्ने बताउँछन् ।
टेकराज पौडेलका लागि यो निर्वाचन "भूगोलसँग पुन: जोडिने" र कांग्रेसको गुमेको विरासत फर्काउने अवसर हो।
स्थानीय उत्पादनको बजारीकरण, प्राकृतिक सम्पदाहरूको परिचालन, सिकार आरक्षको प्रचारप्रसारसँगै रोजगारी सिर्जनामा ध्यान दिने पौडेलले जनाए ।
पौडेलले रोजगार दिएर जनशक्ति पलायन घटाउने, शिक्षा, स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा कार्यान्वयन गर्ने, कानुनमार्फत जनताको घरदैलोमा सदनदेखि जनतासँग जोडिएर पश्चिम बागलुङको क्षेत्रमा काम गर्ने बताए ।
कांग्रेसको बलियो संगठन नै आफूले चुनाव जित्ने बलियो आधार भएको उनको दाबी छ ।