स्वास्थ्यको कर्मचारी हुँदा उनी नेपाली कांग्रेसमा आवद्ध थिइन् । गलकोट नगरपालिकाको टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडिन् । अहिले एमालेबाट संसद् छिर्ने प्रयासमा छिन् ।
०००
नेकपा एमालेले बागलुङ क्षेत्र नम्बर २ मा मन्जु शर्मा चालिसेलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।
२०३० सालमा स्याङ्जाको अधिखोला गाउँपालिकामा जन्मिएकी मन्जु स्वास्थ्यकर्मी हुन् । उनीसँग स्वास्थ्य सेवा, सामाजिक अभियान र संगठित राजनीतिमा लामो अनुभव छ ।
हाल उनी गकोट नगरपालिका–८, काँडेबासलाई स्थायी ठेगाना बनाई बसोबास गर्दै आएकी छिन् ।
मन्जुले २०४६ सालमा काठमाडौंस्थित पद्मकन्या क्याम्पसबाट एसएलसी परीक्षा उत्तीर्ण गरेकी हुन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आईओएम नर्सिङ क्याम्पस महाराजगञ्जबाट २०५१ सालमा पीसीएल नर्सिङ र ब्याचलर इन नर्सिङ तथा पब्लिक हेल्थसम्बन्धी अध्ययन २०६० मा पूरा गरी स्वास्थ्य क्षेत्रमा लागेकी हुन् ।
स्वास्थ्य क्षेत्रबाट पार्टी राजनीतिमा होमिएकी मन्जु अहिले एमालेको केन्द्रीय सदस्य छिन् । २०४९ साल फागुनमा नर्सिङ क्याम्पस महाराजगञ्जमा सम्पन्न स्ववियु निर्वाचनमा सदस्य पदको उम्मेदवार बनेकी उनी त्यसपछि स्वास्थ्यकर्मी संघ तथा निजामती कर्मचारी संघ संगठनमा सक्रिय थिइन् ।
उनी अखिल नेपाल महिला संघको पूर्वकेन्द्रीय सदस्य रहनुका साथै नेकपा एमालेको प्रदेश कमिटी सचिवालय सदस्य हुँदै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
पार्टी संगठन सुदृढीकरण, महिला सशक्तीकरण, जनस्वास्थ्य प्रबर्द्धन र सामाजिक न्यायका मुद्दामा उनी निरन्तर क्रियाशील रहँदै आएकी छिन् ।
उनको राजनीतिक पृष्ठभूमि भने नेपाली कांग्रेससँग जोडिएको छ । उनी स्वास्थ्य कर्मचारीको रूपमा कार्यरत हुँदा कांग्रेसको राजनीतिमा लागेकी थिइन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले गलकोट नगरपालिका प्रमुखको टिकट नदिएपछि उनी स्वतन्त्र रूपमा चुनावमा होमिइन् ।
त्यसपछि एमाले प्रवेश गरेर प्रतिनिधिसभा निर्वाचन २०७९ टिकट ल्याउन सफल उनी एमालेको पश्चिम क्षेत्रको कमजोर संगठनलाई निरन्तर बढाउन सफल भइन् । उनले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई एक्लै चुनौती दिएर २० हजार १९३ मत प्राप्त गरिन् ।
मञ्जु नेतृत्व विकास र स्वास्थ्य व्यवस्थापनसम्बन्धी विविध वैदेशिक तालिमहरूमा सहभागी भएकी छिन् । उनले अमेरिका, फ्रान्स, जर्मनी, बेल्जियम, नेदरल्यान्ड, लक्जेम्बर्ग, स्पेन, स्विजरल्यान्ड, जापान र थाइल्यान्ड भ्रमण गरेकी छिन् ।
हक्की स्वभावकी महिलो नेतृ मन्जु प्रत्यक्षतर्फ महिलाका मुद्दा संसद्मा जाने बताउँछिन् । शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, रोजगारी सिर्जना र स्थानीय विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै उनी प्रतिनिधिसभा पुगेर जनताका आवाज बुलन्द गर्ने दृढ संकल्पसहित निर्वाचन मैदानमा होमिएको बताउँछिन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ-२ मा माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल २४ हजार ७९४ मत ल्याएर निर्वाचित भएका थिए । एमालेकी मन्जु २० हजार १९३ मत प्राप्त गर्दै दोस्रो भएकी थिइन् ।