जेनजी आन्दोलनबाट उदीयमान राजनीतिक अनुहार
स्वच्छ राजनीति, पारदर्शी शासन र समावेशी विकासमार्फत जनसेवा गर्ने लक्ष्य बोकेका सोम शर्मा युवा पुस्तामा नेतृत्व र सामाजिक परिवर्तनका सम्भावनायुक्त प्रतिनिधि मानिन्छन्।
०००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागलुङ क्षेत्र नम्बर २ बाट सोम शर्मालाई उम्मेदवार बनाएको छ ।
सामाजिक अभियन्ता, उद्यमी तथा स्वच्छ राजनीति र सुशासनका पक्षधरका रूपमा चिनिने शर्मा २९ पुस २०४८ सालमा बागलुङ नगरपालिका–१२ मा जन्मिएका हुन् ।
शर्माले ज्ञान कुञ्ज आवासीय माध्यमिक विद्यालय, रविभवनबाट शिक्षा संकायमा उच्च माध्यमिक तहसम्मका अध्ययन पूरा गरेका छन्।
सूचना प्रविधि, कृषि उद्यमशीलता र नेतृत्व विकासका क्षेत्रमा उनले विभिन्न तालिम प्राप्त गरेका छन् । कम्प्युटर हार्डवेयर तथा नेटवर्किङमा डिप्लोमा, नेतृत्व तालिम तथा च्याउ उत्पादनसम्बन्धी प्रशिक्षणले उनको व्यावसायिक तथा सामाजिक सक्रियता अझ सुदृढ बनाएको छ।
व्यावसायिक रूपमा इसप (Eshop) मा हेड कम्प्युटर टेक्निसियन, कोरोना एकेडेमीमा कम्प्युटर शिक्षकका रूपमा काम गरेको अनुभव उनीसँग छ । हाल उनी मेगा कम्प्युटर होमका प्रबन्ध निर्देशक/सञ्चालक तथा शुभ विजय कृषि कम्पनीमा व्यावसायिक सम्बन्ध प्रबन्धकका रूपमा कार्यरत छन् ।
सामाजिक क्षेत्रमा पनि शर्मा निरन्तर सक्रिय छन् । ‘हाम्रो बागलुङ हाम्रो जिम्मेवारी’ अभियान, लियो क्लब अफ बागलुङ कालीका, देश भक्त युवा नेपाल, आम युवा आन्दोलन तथा ‘अब बोल्छ नेपाल’ जस्ता संस्थामार्फत उनले जनचेतना, सामाजिक सेवा, सुशासनका पक्षमा वकालत र सामाजिक आन्दोलनमा सहभागिता जनाउँदै आएका छन्। उनी मिडिया तथा पत्रकारितामा पनि संलग्न रही इबागलुङ डटकममार्फत समाचार लेखन र रिपोर्टिङ गरेका छन्।
स्वच्छ राजनीति, पारदर्शी शासन र समावेशी विकासमार्फत जनसेवा गर्ने लक्ष्य बोकेका सोम शर्मा युवा पुस्तामा नेतृत्व र सामाजिक परिवर्तनका सम्भावनायुक्त प्रतिनिधि मानिन्छन्।
Battleground Analysis
अनुकूलता
- सामाजिक सक्रियता र जनचेतनामूलक अभियानमा संलग्नता
- उद्यमशील पृष्ठभूमि र व्यवस्थापकीय अनुभव
- युवा मतदातालाई आकर्षित गर्ने सम्भावना
प्रतिकूलता
- स्थापित नेतासँग प्रतिस्पर्धा कठिन हुन सक्छ्
- राष्ट्रिय स्तरमा परिचय अझै सीमित
- थप संगठनात्मक सुदृढीकरण आवश्यक
सोम शर्माको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
