अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने चुनौती
पार्टी भित्रको एकता, संगठनात्मक शक्ति र जनतासँगको निरन्तर सम्पर्क नै जितको मुख्य आधार भएको बताउने महरले अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने लक्ष्य लिएका छन् ।
०००
नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर आगामी प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रतिस्पर्धा गर्दैछन् ।
विद्यार्थी राजनीतिबाट उदाएका महर अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदै पार्टीको केन्द्रीय नेतृत्वसम्म पुगेका नेता हुन् ।
२०५५ सालदेखि औपचारिक राजनीतिमा सक्रिय महरले बझाङकै सुनी पिपलचौर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् ।
विद्यार्थी जीवनदेखि नै विचार, संगठन र आन्दोलनलाई सँगसँगै अघि बढाएका उनको राजनीतिक पृष्ठभूमि संघर्षशील रहेको देखिन्छ ।
२०५० सालमा भएको मदन-आश्रित (दासढुंगा) दुर्घटनापछि सुरु भएको आन्दोलनले आफूलाई पूर्ण रूपमा राजनीतितर्फ आकर्षित गरेको महर बताउँछन् । स्वर्गीय मदन भण्डारीको विचार, भाषण र ‘जनताको बहुदलीय जनवाद’सँग जोडिएको आन्दोलनमा सक्रिय रहँदै उनी एमाले राजनीतिमा दृढतापूर्वक स्थापित भए ।
सोही कालखण्डबाट उनी विद्यार्थीको हक-अधिकार, सुशासन र भ्रष्टाचारविरुद्धका आन्दोलनमा अग्रपंक्तिमा देखिन थाले ।
३ जेठ २०७६ मा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित भएपछि महरलाई राष्ट्रिय राजनीतिमा चिनाएको थियो । राजधानी केन्द्रित राजनीतिमा सुदूरपश्चिम र कर्णालीबाट नेतृत्व तहमा पुग्नु कठिन मानिँदै आएको सन्दर्भमा उनको उदयलाई धेरैले अर्थपूर्ण उपलब्धिका रूपमा लिएका थिए ।
एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समय अनेरास्ववियु देशकै सबैभन्दा ठूलो विद्यार्थी संगठन बनेको थियो, जसको नेतृत्व महरले गरेका थिए ।
विद्यार्थी संगठनपछि उनी एक कार्यकाल नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज रहे । हाल उनी पार्टीको केन्द्रीय कमिटी सदस्य तथा बझाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् ।
संगठन भित्र निरन्तर सक्रियता, कार्यक्षमता र कार्यकर्ता माझको पहुँचका आधारमा नेतृत्वले जिम्मेवारी दिएको महरको भनाइ छ ।
महर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार थिए । तत्कालीन गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग उनी ९९८ मतको झिनो अन्तरले पराजित भए ।
पराजयपछि पनि उनी निष्क्रिय नभई जिल्लाभर घरदैलोमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै संगठन सुदृढीकरणमा लागिरहेका थिए ।
गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेर प्राप्त मतले उनको व्यक्तिगत राजनीतिक प्रभाव पुष्टि गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
आगामी निर्वाचनमा महरका लागि मुख्य चुनौती अघिल्लो निर्वाचनको परिणामलाई उल्ट्याउनु हो । एमाले संगठन बझाङमा सुदृढ रहेको दाबी गर्दै आएका महर पार्टी भित्रको एकता, संगठनात्मक शक्ति र जनतासँगको निरन्तर सम्पर्क नै आफ्नो मुख्य आधार भएको बताउँछन् ।
उनले विकास, पहुँच विहीनता, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयलाई संसद्मा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रस्तुतित: सुरेश धामी
Battleground Analysis
अनुकूलता
- स्थानीय स्तरमा सुदृढ संगठन
- संघर्षशील र स्थापित राजनीतिक पृष्ठभूमि
- अघिल्लो निर्वाचनमा झिनो मतान्तर
प्रतिकूलता
- नयाँ दलको आगमन र कडा प्रतिस्पर्धी
- स्थानीय विकासप्रति जनअपेक्षा
- अघिल्लो पराजयको मनोवैज्ञानिक प्रभाव
ऐनबहादुर महरको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?


