Home Candidate शैलेशकुमार सिंह

बैंकिङ काउन्टरबाट चुनावी मैदानसम्म

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
शैलेशकुमार सिंह
बझाङ - १ उम्मेदवार

शैलेशकुमार सिंह

पुरुष , ३८ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
९२६३ मत
Profile
Profile

१० वर्ष बैंकिङ क्षेत्रमा बिताएका र हाल सफल व्यवसायीका रूपमा स्थापित सिंहले राजनीतिलाई 'सेवा' को माध्यम बनाउने संकल्प गरेका छन्।

000

बझाङको राजनीतिमा यसपटक एउटा नयाँ अनुहार चर्चामा छ—शैलेशकुमार सिंह । करिब एक दशक बैंकिङ क्षेत्रमा बिताएका र त्यसपछि शिक्षा तथा उत्पादनमूलक व्यवसायमा स्थापित भएका सिंह अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन्  ।

२०७९ सालको निर्वाचनमा रास्वपाले बझाङमा उल्लेखनीय उपस्थिति देखाउन सकेको थिएन । पार्टीका उम्मेदवारले जम्मा ५ सय २८ मत पाएका थिए । तर, यसपटक पार्टीले जिल्लाका ९ वटै पालिकामा संगठन विस्तार गरेको र ३ हजार ६ सय ६० सक्रिय सदस्य रहेको दाबी गर्दै नयाँ अनुहार ३८ वर्षीय शैलेश सिंहलाई उम्मेदवारको रूपमा अघि सारेको छ ।

बझाङको तल्कोटमा जन्मिएका सिंहको बाल्यकाल अभावमै बित्यो । सरकारी शिक्षक दम्पतीका सन्तान उनी पाटी–कमेरीमा लेखेर पढेको पुस्ताका प्रतिनिधि हुन् । ‘हाम्रो पालामा कापी–कलमभन्दा पनि पाटीमा लेखेर कखरा सिकिन्थ्यो,’ उनी सम्झन्छन् । बझाङको भौगोलिक विकटता, स्वास्थ्य–शिक्षाको अभाव र सडक सञ्जालको कमजोरी उनले नजिकबाट देखेका छन् । उनी भन्छन्, ‘त्यही अनुभवले राजनीतिप्रति सोच बदलियो ।’

स्थापित भएपछि राजनीति

काठमाडौंबाट स्नातकोत्तर अध्ययन पूरा गरेका सिंहले बैंकिङ क्षेत्रमा करिब १० वर्ष बिताए । त्यसपछि धनगढीमा कलेज सञ्चालन र अन्य व्यवसायमा सक्रिय भए । व्यवसायमा स्थापित भएपछि मात्रै राजनीतिमा आएको उनको दाबी छ ।

अघिल्लो निर्वाचनमा रास्वपाको कमजोर उपस्थिति रहे पनि यसपटक बलियो संगठन र 'टुरिस्ट उम्मेदवार' नभएको दाबीका साथ उनी चुनावी मैदानमा छन्।

‘राजनीतिलाई कमाउने भाँडो होइन, सेवाको माध्यम बनाउनुपर्छ,’ उनी भन्छन् । आफू सत्ता र शक्तिको लोभमा नभई जिम्मेवारीको भावनाले राजनीतिमा आएको उनको भनाइ छ ।

बझाङमा दशकौँदेखि उही अनुहार, उही प्रतिबद्धता र उस्तै समस्या दोहोरिँदै आएको उनी बताउँछन् । ‘भोट बैंकको राजनीतिले जनताको जीवनस्तर उकास्न सकेन,’ उनी भन्छन् । उनका अनुसार पछिल्लो समय देशमा देखिएको राजनीतिक परिवर्तनको लहरले पनि आफूलाई चुनावी मैदानमा ल्याएको हो ।

विकासको प्राथमिकता : सडकदेखि रोजगारीसम्म

सिंहले आफ्नो प्राथमिकता स्पष्ट रूपमा अघि सारेका छन् ।

पहिलो—बाह्रै महिना चल्ने सडक सञ्जाल । ‘बझाङमा १०० किलोमिटर पार गर्न ६–७ घण्टा लाग्छ, यो अवस्था बदल्नैपर्छ,’ उनी भन्छन् । स्वास्थ्य क्षेत्र सुधार अर्को प्राथमिकता हो । प्रत्येक पालिकामा २४ सै घण्टा आकस्मिक सेवा, एम्बुलेन्स र दुर्गम क्षेत्रमा मोबाइल हेल्थ क्याम्प सञ्चालन गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।

रोजगारी सिर्जनालाई लिएर पनि उनी आक्रामक देखिन्छन् । तल्कोटमा जडीबुटी प्रशोधनकेन्द्र स्थापना गरी ३ सयभन्दा बढीलाई रोजगारी दिने तथा सेती नदी र आसपासका खोलामा ‘ट्राउट’ र ‘असला’ माछा पालन प्रवर्द्धन गर्ने योजना उनको एजेन्डामा छ ।

शैलेश सिंहले बझाङको परम्परागत राजनीतिमा 'काम गर्ने मान्छे' को छवि बनाउन खोजेका छन्। उनले केवल नारामा मात्र सीमित नभई जडीबुटी, सडक र स्वास्थ्यका क्षेत्रमा स्पष्ट कार्ययोजना अघि सारेका छन्।

शिक्षालाई सीपसँग जोड्ने, विद्यालयमा ई–लाइब्रेरी स्थापना गर्ने र भूकम्प जोखिमलाई ध्यानमा राखी पूर्वतयारी नीति बनाउने प्रतिबद्धता उनले जनाएका छन् । आफू अन्य व्यवसायबाट आत्मनिर्भर भएकाले राजनीतिबाट कमाउनुपर्ने बाध्यता नभएको उनको भनाइ छ ।

उनको प्रतिस्पर्धा कुनै व्यक्ति वा दलसँग नभई भ्रष्टाचार, कुशासन र विकासहीनतासँग रहेको बताए । ‘गाउँ–गाउँमा जनताको मनस्थिति बदलिएको छ,’ उनी भन्छन्, ‘म गफ गर्न होइन, काम गर्न आएको हुँ ।’

धनगढी बसोबास भए पनि आफू ‘टुरिस्ट उम्मेदवार’ नभएको उनले दाबी गरेका छन् । बझाङको आवाज संसद्मा बुलन्द रूपमा उठाउने प्रतिबद्धता दोहोर्‍याउँदै उनी अहिले घरदैलो अभियानमा व्यस्त छन् । पुराना दलको पकड बलियो रहेको बझाङमा नयाँ विकल्पका रूपमा प्रस्तुत भएका शैलेश सिंहलाई मतदाताले कति साथ दिन्छन् त्यो भने फागुन २१ ले तय गर्नेछ ।

Battleground Analysis

अनुकूलता

  • व्यावसायिक र आत्मनिर्भर छवि
  • ठोस र व्यावहारिक एजेन्डा
  • नयाँ विकल्प र परिवर्तनको लहर

प्रतिकूलता

  • 'टुरिस्ट उम्मेदवार' को ट्याग
  • हेभिवेट प्रतिस्पर्धीहरूसँगको टक्कर'
  • भौगोलिक विकटता र स्रोत साधन
शिक्षा
स्नातकोत्तर
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

शैलेशकुमार सिंहको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित